PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२० वर्षपछि गणेश थापाले एन्फा अध्यक्षको पद छाडे



२० वर्षपछि गणेश थापाले एन्फा अध्यक्षको पद छाडे

पहिलोपोस्ट-
काठमाडौं :
 २० वर्षपछि गणेश थापाले अखिल नेपाल फुटबल महासंघ (एन्फा) को अध्यक्ष पद छाडेका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी थापा निकटकै वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठलाई दिइएको छ।  एन्फा कार्यसमितिको आजको बैठकले श्रेष्ठलाई दुई महिनाका लागि कार्यवाहकको जिम्मेवारी दिएको हो।

एन्फा कार्यसमिति बैठकमा सन् १९९५ देखि अध्यक्ष रहेका थापा आफैँले आफ्ना विश्वासपात्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष दिन प्रस्ताव गरेका थिए। बैठकपछि पत्रकार सम्मेलनमा थापाले फुटबललाई दुर्घटनाबाट जोगाउनका लागि आफूले पद छाडेको बताए।

एन्फा कार्यसमिति बैठकले कोषाध्यक्ष विराटजंग शाहीको ठाउँमा समेत सह कोषाध्यक्ष रविन्द्र जोशीलाई जिम्मेवारी दिएको छ। 

संसदको सार्वजनिक लेखा समितिले एन्फामा करोडौँ रकम अनियमितता भएको ठहर गर्दै अख्तियार र सम्पति शुद्धिकरण आयोगलाई छानबिन गर्न र छानबिन नभएसम्म एन्फा अध्यक्ष थापालगायतका पदाधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको थियो। 

एन्फाले कार्यसमितिको निर्णयबारे सोमबार नै राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी समेत गराएको छ।

यसरी बाध्य भए थापा पद छाड्न

यसअघि उनले आफूलाई कारबाही गरिए फिफाले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका थिए। तर फिफासमक्ष पनि एन्फाको भ्रष्टाचारसम्बन्धी उजुरी परेको खुलासा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले एक्सक्लुसिभ भन्दै शनिबार गरेको थियो।

फिफाको एथिक्स प्रमुख माइकल गार्सियालाई असोज २९ गतेको मितिमा एन्फा उपाध्यक्षसमेत रहेका उजुरीकर्ता कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले इमेल लेख्दै एसियाली फुटबल महासंघका उपाध्यक्षसमेत रहेका गणेश थापामाथि छानबिन गर्न आग्रह गरेको थियो। 

रोयटर्ससँग थापाले भ्रष्टाचारको कुरा प्रोपागन्डामात्र रहेको दावी गर्दै छानबिनको अवधिमा आफू नै अध्यक्ष रहिरहने बताएका थिए। 

फिफाको एथिक्स प्रमुख गार्सिया अमेरिकी कानुन व्यवसायी हुन् जसलाई पश्चिमी मिडियाको धेरै चासो रहँदै आएको कतारलाई विश्वकप आयोजना गर्न दिने अधिकारका क्रममा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्ने जिम्मा दिइएको छ। यही भ्रष्टाचारकै केसमा तत्कालीन एएफसी अध्यक्ष मोहम्मद बिन हमामलाई फिफाले निलम्बन गरिसकेको छ। थापा हमाम निकटका हुन्। हमामबाटै उनका छोरा गौरव थापाको खाता एक लाख डलर सारिएको भेटिएको छ। 
 

महासचिव धिरेन्द्र प्रधान निलम्बनमा परेनन्

संसदको सार्वजनिक लेखा समितिले एन्फाका अध्यक्ष, कोषाध्यक्ष, महासचिव र भवन निर्माणको ब्यवस्थापनको जिम्मेवारी लिएका चार जनालाई निलम्बन गर्न निर्देशन दिएपनि महासचिव धिरेन्द्र प्रधानलाई भने निलम्बन गरिएको छैन।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले मन्त्रालयको पत्रमा आर्थिक विषयसँग सम्बन्धित व्यक्तिलाई मात्र निलम्बन गर्न भनिएको बताए। 'तर हामीले एन्फालाई पत्र पठाइसकेका थिएनौँ,' लामाले पहिलोपोस्टलाई बताए। 

यसअघि एन्फा अध्यक्ष गणेश थापासँग खेलकुद मन्त्रालयले सार्वजनिक लेखा समितिको निर्णयबारे पटक पटक छलफल गरेको थियो। मन्त्रालयले थापालाई निलम्बनको पत्र लिन एन्फा कार्यसमितिबाट निर्णय गर्न वा राजनीमा दिन तीन वटा विकल्प दिएको थियो।

पत्रकारको सामना नगरी बाहिरिए थापा

एन्फा कम्पलेक्स सातदोबाटोमा पत्रकार सम्मेलनपछि थापा पत्रकारहरुसँग सवालजवाफमा सहभागी नभई बाहिरिएका थिए। पत्रकार सम्मेलनमा रातो अनुहार बनाएका थापाले फुटबललाई दुर्घटनाबाट जोगाउन आफू बाहिरिएको प्रतिक्रिया दिएका थिए।

थापाले दुई महिना भित्रमा अनियमिताको छानबिन र अनुसन्धान नसकिए थप छलफल गरेर निर्णयमा पुग्ने बताए।

के भन्छन् उजुरीकर्ता ?

एन्फामा ठूलो धनराशीको अनियमितता भएको भन्दै उजुरी दिएका एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले भने एन्फा कार्यसमितिको निर्णयले छानबिनमा अझै सहयोग पुग्ने अपेक्षा आफूले नगरेको बताए।

लेखा समितिले निर्माण समिति संयोजक र महासचिवलाई समेत कारवाही गर्न निर्देशन दिएको भए पनि त्यो निर्णयलाई एन्फाले आंशिक चुनौती दिएको उनको जिकिर छ।

शेर्पाले निर्माण समिति संयोजक रहेका ललितकृष्ण श्रेष्ठलाई लेखाले कारबाही गर्न सिफारिस गरेकै अवस्थामा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा निष्पक्ष छानबिन हुन्छ भन्ने विश्वास नभएको बताए। 

यो पनि हेर्नुस्-
एन्फामा यसरी भएको छ आर्थिक अनियमितता र भ्रष्टाचार
यस्तो थियो लेखा समितिमा गणेश थापाको गर्जन
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell