PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लेखा समितिमा गणेश थापाको गर्जन, थापा अनुसन्धानमा कस्सिँदै



लेखा समितिमा गणेश थापाको गर्जन, थापा अनुसन्धानमा कस्सिँदै

मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भ्रष्टाचारको विषयमा छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिसामु अध्यक्ष गणेश थापाले आर्थिक अपचलनका विषयमा सबै कामको जिम्मा आफैले लिने हुँकार गरेका छन्। आफू कमल थापाको भाइ भएकोले काम गर्न पाएको भन्न समेत उनी चुकेनन्।
 
समितिले बुधबार गरेको छलफलमा थापाले गरेको यस्तो हुँकार उनी आफैमाथि भारी पर्ने भएको छ।
 
सबै कामको म एक्लो जिम्मेवारी लिन्छु भन्नुले एन्फामा व्यक्तिवाद र परिवारवाद हावी भएको रुपमा समितिका सदस्यहरुले अर्थ्याएका थिए।
 
अब एन्फामा भएको भ्रष्टाचारको विषयलाई विशेष महत्व दिएर सार्वजनिक लेखा समितिको पूर्ण समितिले नै अध्ययन गर्ने भएको छ।
 
समितिमा केही सभासद्हरुले उपसमिति बनाएर एन्फाको भ्रष्टाचार उजुरीको छानबिन गर्न माग गरेपनि सभापति जनार्दन शर्माले पूर्ण समितिले नै थप अध्ययन र छलफल गर्ने निर्णय गरेका थिए।
 
समितिले एन्फाबारे थप अध्ययन गर्ने भन्दै तीन दिनभित्र उजुरीकर्ता, एन्फा, राष्ट्रिय खेलकुद परिषद्बाट थप कागजात मगाउने भएको छ। साथै समितिले कागजपत्र र उजुरीका आधारमा विशेषज्ञको सहयातले टिपोट तयार गर्न र डकुमेन्ट तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ।
 
यस्तो थियो गणेश थापाको गर्जन
संसदीय समितिमा ४० मिनेट धारणा राखेका थापाले सुरुवातमै ५२ सालमा मोदनाथ प्रश्रित शिक्षा तथा खेलकुद मन्त्री भएका बेला आफूले कमल थापाको भाइ भएको बताएपछि काम गर्न पाएको उल्लेख गरे। तर आफूले फुटबल संघमा बसेपछि विधि, विधान हेरर निर्णय गर्ने गरेको दाबी गरे।

अडियो सुन्नुस्-
 

मिडिया उपस्थितिको विरोध
समितिको बैठकमा थापाले सार्वजनिक लेखा समिति प्रति नै पटक पटक आक्रोश पोखे। उनले सार्वजनिक लेखा समितिमा मिडियाको उपस्थितिको विरोध जनाए। थापाले भने, 'लेखा समितिका विषय मिडियामा आउँदा फुटबलमा धक्का पर्छ, प्रायोजक भाग्छन्, छानबिन गोपनीय हुनुपर्छ।'
 
अध्यक्ष थापाले लेखा समितिका कारण कतिपय निर्णय गर्न नसकिएको भन्दै विधान अनुसार काम गर्न माग गरे।
 
समितिमा आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले लेखा समितिको निष्पक्षतामा प्रश्न उठाउँदै आफू कति ठाउँमा जानुपर्ने हो भन्दै प्रश्न गरेका थिए। 'म कति ठाउँमा बोल्ने, मानवअधिकारका हिसाबले पनि सोच्नुहोस्, अख्तियार, सर्वोच्च, लेखा समिति,' थापाले भने, 'कुनै दिन म जवाफ माग्छु।'
 
थापाको अभिव्यक्तिपछि समिति सभापति जनार्दन शर्माले सार्वजनिक लेखा समितिको छानबिन पारदर्शी हुने भन्दै मिडियालाई पनि पारदर्शिताकै लागि बोलाइएको बताएका थिए।
 
'यो सदन हो,' शर्माले भने, 'यहाँ छानबिन आग्रह र पूर्वाग्रहमा हुन्छ भन्ने मानसिकता त्याग्नोस्।'
 
‘दया, माया र फेभर चाहिन्न’
संसदीय समितिमा आफ्नो पक्षमा केही सभासद्ले धारणा राखेको जानकारी पाएको उल्लेख गर्दै थापाले आफूलाई कसैको दया, माया र फेभर नचाहिने बताए।
 
उनले उजुरीकर्ता कर्मा शेर्पासँगै १४ वर्ष काम गरेको उल्लेख गर्दै चार महिनाअघि आफ्नो प्रस्तावक र समर्थक रहेका साथीले अहिले उजुरी गरेकोमा प्रश्न उठाए।
 
एन्फामा आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै डकुमेन्ट नै बोल्ने थापाले बताए। सार्वजनिक लेखा समितिमा एन्फाले पाँच वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाएको छ।
 
‘भ्याट-स्याट छोड्नुस् यार’
उनले कतिपय अवस्थामा भ्याट नतिरेको कुरा स्वीकार गरे। 'संस्थाका कतिपय कुरामा भ्याट नतिरेको हुनसक्छ। ‘भ्याट स्याट छोड्नुस् यार' भनेर काम गरियो’, उनले भने।

एन्फा अध्यक्ष थापाले एन्फा भवन मैदान र होस्टल निर्माण ठेक्काबाट गर्दा पाँच करोड लाग्ने देखिएपछि साढे तीन करोडमा एन्फाको माइन्युट गरेर निर्माण गरिएको बताए। उनले भ्रष्टाचारभन्दा पनि कालो चिया पिएर जोगाएको पैसाले १५ वर्ष अघि बनाएका एन्फाका भवनहरु अहिले पनि नयाँ जस्तो देखिएको बताए।
 
गणेश थापामाथि थप आरोप
एन्फामा भ्रष्टाचार भएको उजुरी दिएका उपाध्यक्ष कर्मा शेर्पासहित विजयनारायण मानन्धर र पंकज नेम्वाङ्गले एन्फाको लेखापरीक्षण प्रतिवेदनमा धेरै विषय समावेश नभएको बताए।
 
एन्फाले ब्याजबाट मात्रै ६८ सालमा ७२ लाख आम्दानी देखाएको उल्लेख गर्दै शेर्पाले सोधे, ‘७२ लाख आम्दानी गर्न कति रकम खातामा राख्नुपर्छ?’ उनले साफ च्याम्पियनसिपका दौरान टिकट बिक्रीबाट २ करोड ५० लाख आम्दानी भएको तर लेखा परीक्षण प्रतिवेदनमा ९० लाख मात्र देखाइएको उल्लेख गर्दै बाँकी कहाँ गयो भन्दै प्रश्न गरे।
 
एन्फा निरंकुश ढंगले चलेको आरोप लगाउँदै उनले विधानमा एन्फाको मुद्दा सामान्य अदालतमा उजुरी नलाग्ने ब्यवस्था रहेको सम्बन्धमा समेत छानबिन माग गरे।
 
अमेरिकी प्लस वान कम्पनी र फिफा गोल प्रोजेक्टको रकमबारे लेखा परीक्षण प्रतिवेदनमा स्पष्ट नभएको उनीहरुको आरोप छ। उजुरीकर्ता पंकज नेम्वाङले फिफा गोल प्रोजेक्ट तीनमा चार लाख डलर आएको भए पनि पचास हजार डलर मात्र देखाइएको भन्दै छानबिनका लागि सभासद्हरुसँग माग गरे।
 
एएफसीबाट प्राप्त २५ हजार डलर साथी भन्ने संस्थालाई दिइएको तर लेखापरीक्षणमा उल्लेख नभएको नेम्वाङले बताए।
 
कान्छा छोराको खातामा पनि पैसा
एन्फामा भ्रष्टाचार भएको भन्दै उजुरी दिएका कर्मा शेर्पाले बुधबार नयाँ तथ्य सार्वजनिक गरे। उनले गणेश थापाको छोरा अभिषेक थापाको हिमालयन ब्याङ्कको खातामा ५३ हजार डलर आएको बताएका छन्।
 
तर जवाफमा गणेश थापाले भने 'कान्छो छोराको नाममा ब्याङ्कमा पैसा भए आफूलाई फाँसी दिइयोस्' भन्दै प्रतिवाद गरे।
 
'खेलकुद संघ मन्त्रालयप्रति उत्तरदायी छैन'
संसदीय समितिमा खेलकुद सचिव दीपेन्द्रनाथ शर्माले राष्ट्रिय खेलकुद परिषद् राखेप र संघहरु मन्त्रालयप्रति उत्तरदायी नभएको बताए। उनले राखेपले आफू स्वायत्त्त भनेर मन्त्रालयलाई नटेर्ने गरेको उल्लेख गरे।
 
साथै विदेशबाट रकम भित्र्याउने संघहरुले पनि राखेप प्रति उत्तरदायी नभएको शर्माले बताए। 'म सात दिन भयो मन्त्रालय आएको खेलकुदमा खेलभित्रको पनि खेल रहेछ,' शर्माले भने।
 
के भन्छन् सभासद्?
सभासद्हरुले एन्फा अध्यक्ष गणेश थापाले लेखा समितिमा हुँकार प्रर्दशन गरेको भन्दै विरोध जनाए। काँग्रेस सभासद् रामहरी खतिवडाले ८ लाख डलरको गोल प्रोजेक्टबारे गणेश थापाले जवाफ नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरे। उनले लेखा समितिप्रति थापाले शंका व्यक्त गरेको प्रति आपत्ति जनाए।
 
काँग्रेस सभासद् उषा गुरुङले लेखा समितिमा किन जाने भन्दै थापाले प्रतिक्रिया दिएको प्रति विरोध गरिन्। सभासद् हरिप्रसाद नेपालले सर्वोच्चमा विचाराधीन मुद्दासमेत हेर्ने निकाय लेखा समिति रहेको भन्दै थापाको अभिब्यक्तिको विरोध गरे।
 
एमालेका भानुभक्त ढकालले आर्थिक अनियमितताको मुद्दामा एन्फाको जिम्मेवारी लिन्छु भन्ने थापाको भनाईले एन्फा निजात्मक ढंगले चलेको स्पष्ट भएको बताए।
 
सभासद् भुपेन्द्र थेवेले एन्फामा संस्थाभन्दा ब्यक्ति हावी भएको स्पष्ट देखिएको बताए। उनले २० बर्ष एउटै ब्यक्ति रहनुले एन्फामा निरंकुशता हावी भएको बताए।
 
सभासद् पशुपति चौलागाँइले पनि गणेश थापाको संसदीय समितिमा प्रस्तुति दम्भपूर्ण भएको बताए। नेपाली काँग्रेसका भरत शाहले प्रधानमन्त्री आउने संसदीय समितिलाई थापाको प्रस्तुत संयमित नभएको आरोप लगाए।
 
राप्रपा नेपालका भाष्कर भद्राले भने अख्तियार, खेलकुद मन्त्रालय, सम्पति शुद्धिकरणले थापामाथी छानिवन गरिरहेकाले लेखा समिति पनि त्यसमै अल्झन नहुने बताए। परिवार दलका एकनाथ ढकालले संसदमा थापाले सबैकुरा जिम्मेवारी लिने बताएर नेतृत्व प्रदर्शन गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell