PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एन्फा फन्दामा, गणेश थापाको पद अनिश्चित काललाई गुम्यो



एन्फा फन्दामा, गणेश थापाको पद अनिश्चित काललाई गुम्यो

काठमाडौँ :  क्रिकेटपछि अब नेपालमा फुटबलको नेतृत्वमा संकट देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लगायतका पदाधिकारीहरु भ्रष्टाचारको आरोपमा मुद्दा खेप्दै छन्  र निलम्बनमा छन्। फुटबलमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापा लगायतका केही अन्य पदाधिकारीको पद अनिश्चित कालसम्म स्थगन भएको छ।

संसदको सार्वजनिक लेखा समितिको आइतबारको बैठकले एन्फामा आर्थिक अनियमितता भएको देखिएकाले छानबिन अवधिभर अध्यक्ष थापा र अनियमिततामा संलग्न अन्य पदाधिकारीको पद स्थगन सिफारिस गर्ने निर्णय गरेको हो।  
  
समितिले खेलकुद मन्त्रालयलाई गरेको यो सिफारिशसँगै एन्फा अध्यक्षको हैसियतले थापा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रममा सहभागी हुन पाउने छैनन्। त्यस्तै फुटबल बारे कुनै निर्णय  पनि गर्न पाउने छैनन्। एन्फाको कामका लागि वैकल्पिक व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देशन दिइएको छ। 

एन्फाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ। छानबिन कहिले टुङ्गिने निश्चित भएकोले पद स्थगन पनि अनिश्चित कालसम्म लम्बिने छ।

एन्फामा अनियमितता ठहर
करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन निर्देशन दिएको छ। समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको छ। थप अनुसन्धान र छानबिन गर्न समितिले उठाएका विषय-

  • गणेश थापाका छोरा गौरव थापाले एएफसी अध्यक्षबाट लिएको एक लाख डलर
  • गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
  • नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
  • एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
  • खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
  • साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
  • गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतकाे रकम आयमा समावेश नभएको
  • भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
  • सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
  • एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
  • विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरीद गरेको
  • पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
  • विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
  • अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
  • एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको
पद स्थगन गर्ने विषयमा राप्रपा नेपालको असन्तुष्टिबीच समिति सभापति जनार्दन शर्माले प्रस्ताव राखेका थिए। सभापतिको प्रस्तावमा कांग्रेस, एमाले लगायतका साना दलका सभासद्ले समर्थन गरेका थिए।

अध्यक्ष थापा हालै राप्रपा नेपालको कोटाबाट समानुपातिक सभासद् समेत भएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा एन्फा अध्यक्ष गणेश थापाका दाजु हुन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell