PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सिके राउतलाई साधारण तारेखमा छोड्न कानुन व्यवसायीको माग



सिके राउतलाई साधारण तारेखमा छोड्न कानुन व्यवसायीको माग

काठमाडौं : सिके राउतविरुद्ध विशेष अदालतमा सोमवारदेखि थुनछेकको बहस सुरु भएको छ। सिके राउत पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि मंगलवार पनि थुनछेक बहस जारी हुने छ।

राउतका कानुनी सहयोगी रक्षारामका अनुसार कानुन व्यवसायीले उनलाई साधारण तारेखमा छोड्न माग गरेका छन्। राज्यद्रोह मुद्दामा सोमबार राउतको पक्षमा १२ जना कानुन व्यवसायीले बहस गरेका थिए।

राउतको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न अनुरोध गरेका थिए। राउतको पक्षमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, सुनिल रञ्जन सिंह, विरेन्द्र कुमार ठाकुर, सुरेन्द्रकुमार महतो, सिताराम अग्रवाल लगायत व्यवसायीले बहस गरेका थिए।

आज बहस गर्ने कानुन व्यवसायीले सिके राउतलाई जहाँबाट पक्राउ गरिएको थियो त्यो उनले आफैले आयोजना गरेको कार्यक्रम नभइ सन्थाल जातिको निमन्त्रणामा त्यहाँ पुगेको प्रमाणित भैसकेको दाबी गरे।

सन्थाल जातिको छाता मेलामा सिके राउतलाई अतिथिको रुपमा निम्त्याइएको र उनले त्यहाँ मधेस स्वराजको कुरा नगरेको उनीहरुको जिकीर थियो। 'उहाँले त्यो कार्यक्रममा सन्थाल जातिको इतिहास र संस्कृतिको कुरा गर्नुभएको थियो,' राउतका कानुनी सहयोगी रक्षारामले भने।

विशेष सरकारी वकिलको कार्यालयले गत बुधवार विशेष अदालतमा राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ उपदफा १ अनुसार सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको आरोपमा राउत विरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतले बिहीवारदेखि राउतसँग बयान लिएको थियो।

राउतका कानुनी सहयोगी रक्षारामका अनुसार सिके राउतले मधेश स्वराजकै पक्षमा बयान दिएका छन्। 'बयानमा देश नै टुक्र्याउँछु भन्ने कुरा सिधै नभनेपनि मधेश स्वराजको कुरा आएको छ,' सिके राउतको बयान उल्लेख गर्दै उनले भने, 'देश टुक्र्याउने भन्ने कुरा जनताको निर्णयको अधिकार हो, तर वकालत गर्नै नपाउने भन्ने कुरा होइन।' अदालतमा राउतले सबै किताब आफैले लेखेको स्वीकार गर्दै किताबमा लेखिएका मागहरु आधिकारिक भएको बयानका क्रममा उल्लेख गरेको पनि उनले बताए। 

यो पनि
सिके राउतलाई राज्यद्रोह मुद्दा
​को हुन् सिके राउत?
मलाई कतैबाट परिचालित हो भन्नेले प्रमाणित गरेर देखाउन्: सिके राउत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell