PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

फार्मेसीवाला नै डाक्टर ! औषधिले नै गर्छ घातक असर


सागर बुढाथोकी/पहिलोपोस्ट

फार्मेसीवाला नै डाक्टर ! औषधिले नै गर्छ घातक असर

घटना १ : बालकोटकी सरिता थापालाई रुघाखोकी लाग्यो। भाइरल ज्वरोको मौसम भएकाले तुरुन्तै मेडिकल पुगिन्। एन्टिकोल्ड ट्याब्लेट माग्न गएकी उनलाई फार्मेसीवालाले ५ दिनलाई पुग्ने ५ सय एमजीको एजिथ्रोमाइसिन, २ सय एमजीको सेफिक्जिम र पारासिटामोल भिराइदिए। तातो पानीले नै ठीक हुने रुघाले एकै छिनमा १ हजार ५ सय चट पार्‍यो।
 

घटना २ : खोकी लागेर फार्मेसी पुगेका बानेश्वरका सुरज कार्कीलाई फार्मेसीवालाले कफ सिरफ मात्र दिएन। सँगसँगै ५ सय एमजीको एमोक्साइलिन र एजिथ्रोमाइसिन भिराइदिए। कप सिरफले ठीक हुने उनको खोकीले पैसा मात्र उडाएन। स्वास्थ्य नै जोखिम पर्ने एन्टिबायोटिक समेत लिनु पर्‍यो।
 

घटना ३ : कोटेश्वरका संजीव आचार्यलाई शरीरभरि डाबर आयो। उनी छालाको डाक्टरलाई देखाउन मेडिकल गए। डाक्टर थिएनन्। फार्मेसीवालाले डक्सीसाइलिन कम्पोजिसन भएको एन्टिबायोटिक क्याप्सुल महिनाभर खान दिए। पैसाको त सत्यनाश नै भयो, डाबर हटेन। शरीरलाई घातक गर्ने एन्टिबायोटिक महिनाभर खानु पर्‍यो।
 

यी तीन पात्रका घटना प्रतिनिधिमात्र हुन् जसले हाम्रो समाजमा स्वास्थ्य र औषधिको प्रयोग कसरी भइरहेको छ प्रस्ट्याउँछ।
 

सामान्य समस्या लिएर फार्मेसी पुग्ने अधिकांशलाई फार्मेसीवालाले एन्टिवायोटिक दिन्छन्, जुन आवश्यक नै पर्दैन। कतिपय बिरामीहरु रुघा लाग्दैमा एन्टिबायोटिक नै माग्न फार्मेसी पुग्छन्।

+++

धेरै मानिसमा एकखाले भ्रम छ : ‍औषधिले फाइदामात्रै गर्छ; एन्टिबायोटिक खाँदा चाँडै निको हुन्छ।
 

यही भ्रमकै कारण फार्मेसीवालाले एन्टिबायोटिक मात्रै हैन, ‘तपाईँ कमजोर हुनुहुन्छ’ भनेर भिटामिन समेत भिराइदिन्छन्। यहीबाट औषधि कम्पनीको सेटिङ सुरु भइसकेको हुन्छ। सामान्य बिरामीले समेत औषधि कम्पनीको सेटिङकै कारण ‘घातक एन्टिबायोटक’ खान बाध्य हुन्छन्।
 

पढ्नुस् ः औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार

 

मेडिकल क्षेत्रका जानकारहरुका अनुसार धेरै कम्पनीहरुको टार्गेट औषधि बिक्रेता र डाक्टर दुबै पर्छन्। जसरी कम्पनीले औषधि पसलहरुलाई बोनस दिएर औषधि व्यापार बढाइरहेका छन्, त्यसैगरी डाक्टरलाई विभिन्न उपहार दिएर औषधि लेख्न लगाइरहेका छन्।
 

यसको मर्कामा हुन्छन् बिरामी र तिनका परिवार। फार्मेसीवालाहरु आफ्नो फाइदाकै लागि आफैं डाक्टर बनेर धेरै भन्दा धेरै एन्टिबायोटिक बेच्न चाहन्छन्। डाक्टरहरु पनि औषधि कम्पनीकै सेटिङको आधारमा औषधि लेख्छन्। तर, यी दुईमा अन्तर हुने गर्छ। फार्मेसीवालाले मनपरी दिएको एन्टिबायोटिक जति घातक हुन्छ त्यति डाक्टरले दिएको एन्टिबायोटिक पूरा मात्रामा खाने हो भने हुँदैन।
 

फार्मेसी सञ्चालकले आफैं बिनापूर्जी एन्टिबायोटिक दिन मिल्छ त?
 

‘अहँ मिल्दै मिल्दैन्,’ क्यान्सर रोग विशेषज्ञ विशाल ज्ञवाली विना पुर्जा औषधि बेच्नुलाई अपराध मान्छन्।
 

बिक्रेताले नमागिकन फार्मेसीवाला आफैं डाक्टर बनेर एन्टिबायोटिक दिनु नहुँने उनको तर्क छ। भन्छन्, ‘विकसित देशमा सिटामोल किन्नका लागि चिकित्सकले दिएको पूर्जी अनिवार्य चाहिन्छ। तर, नेपालमा औषधिको नाम भनेकै भरमा बिक्रेताले दिन्छन्। मुख्य खोट यहीँ छ।’
 

औषधि बिक्रेताहरुले चिकित्सकले दिएको पुर्जी हेरेरमात्रै औषधि दिने हो भने समस्या बल्झिनबाट रोक्न सकिने  उनको दाबी छ। तर, यहाँ बिरामीले नमागिकन नै फार्मेसीवालाहरुले एन्टिबायोटिक दिन्छन्।

+++

चिकित्सकहरु भन्ने गर्छन : एन्टिबायोटिक तत्कालै लिनु हुन्न। अझ रुघाखोकी जस्तो सामान्य बिरामीहरुको लागि एन्टिबायोटिक त हुँदै हुन्न। तर, यहाँ नहुनुपर्ने भइरहेको छ।

 

एन्टिबायोटिक कस्का लागि?

डाक्टर आशीष खनाल एन्टिबायोटिकले भाइरल इन्फेक्सनलाई केही असर नगर्ने बताउँछन्। रुघाखोकी, आँखाबाट आँसु आउने, घाटी दुख्ने, नाकबाट पानी बग्ने जस्ता लक्षणहरु भाइरल हो। यस्ता भाइरललाई एन्टिबायोटिकले छुँदै छुँदैन। यसरी गलत औषधि प्रयोग गर्दा पछि कुनै पनि औषधिले नछुने खनालको कथन छ।
 

‘एन्टिबायोटिक ब्याक्टेरियाको कारण बिरामी भएको अवस्थामा मात्र खानुपर्छ। ब्याक्टेरिया भएको प्रमाणित नभइकन जथाभावी एन्टिबायोटिक खानु खतरापूर्ण हुन्छ,’ खनालले भने, ‘यस्तै हुँदै गयो भने पछि गएर संसारभर बनेका हाइ डोजका एन्टिबाइटिकले काम गर्दैन। हाम्रो इन्फेक्सन ठीक हुन्न। अहिले ससांरभरको समस्या नै एन्टिबायोटिक रेसिस्टेन्स हो।’
 

डाक्टरले भाइरल हैन ब्याक्टेरिया नै हो भनेर प्रमाणित गरेपछि मात्र एन्टिबायोटिक खानुपर्ने डा केशर राज भट्टराई बताउँछन्। फार्मेसीवालाले हेरेको भरमा ब्याक्टेरिया हो या हैन पत्ता नलाग्ने उनको दाबी छ।
 

‘ब्लड टेस्ट गर्दा ब्लडमा सेता रक्तकोशको मात्रा बढी भएमा ब्याक्टेरिया भएको प्रमाणित हुन्छ। त्यसपछि मात्रै एन्टिबायोटिक खानुपर्छ। त्यो बाहेक अरु अवस्थामा लिएको एन्टिबायोटिक घातक सावित हुन्छ,’ भट्टराईले भने। 
 

कुनै पनि समयमा भाइरल रोग फैलन सक्छ। त्यसबाट मानिसहरु धेरै बिरामी हुन्छन्। डराएकै कारण अनावश्यक कडा एन्टिबायोटिक प्रयोग गर्छन्। त्यसले स्वास्थ्यमा नकरात्मक असर त पार्छ नै। 

त्यसो भए किन् खान्छन् रुघाखोकी मै एन्टिबायोटिक?
 

डाक्टर खनाल भन्छन्, ‘त्यो सबै भ्रम हो। त्यही भ्रमले झनै गम्भीर समस्या निम्त्याउँछ।’
 

डा खनालका अनुसार  ज्वरो ब्याक्टेरियाको कारणले मात्र आउदैन्।  त्यसैले रोऊको पहिचान बिना एण्टिबायोटिक खानु घातक हुन्छ।

 

के हुन्छ त खतरा?

एन्टिबायोटिक अनावश्यक प्रयोगको २ वटा खतरा देख्छन् डाक्टर खनाल।
 

पहिलो –  मुख्य खतरा एन्टिबायोटिक रेसिटेन्ट। अर्थात् सामान्य रोगका लागि विश्वभर बनेका हाइ डोजको एन्टिबायोटिकले काम गर्दैन। सामान्य इन्फेक्सन जति एन्टिबायोटिक खाँदा पनि निको पार्न नसकेर बिरामी मर्छन्।
 

दोस्रो–  कतिपय एण्टिबायोटिकहरुले ब्लडमा भएका सेल्सहरुको सङ्ख्या  घटाउँछ। जसका कारण थप इन्फेक्सन बढ्दै जान्छ। एलर्जी हुने, बमिट हुने, बेहोश हुने जस्ता समस्याहरु बढ्दै जान्छ।

+++

डा खनालका अनुसार एन्टिबायोटिक सिटामोल जस्तै हैन। तर पनि एजिथ्रोमाइसिन, मेट्रोनिडाजोल, सेफिक्जिम र एमोक्सासाइलिन जस्ता एन्टिबायोटिक सिटामोल जस्तै प्रयोग भइरहेको छ।
 

खनाल उदारण दिन्छन -
 

ब्याक्टेरियाकै कारण बिरामी हुँदा डाक्टरहरुले एन्टिबायोटिक दिन्छन्। एन्टिबायोटिकको मात्रा ५ या ७ दिनको हुन्छ। तर, बिरामीहरुले पूरा मात्रामा एन्टिबायोटिक सेवन गर्दैनन्। जसले दीर्घकालीन रुपमा घातक असर गर्छ।


कस्तो असर?

खनाल उदाहरण दिन्छन् - 
 

एन्टिबायोटिक ब्याक्टेरिया मार्नका लागि सेवन गर्ने हो। पूरा मात्रामा एन्टिबायोटिक सेवन नगर्दा ब्याक्टेरिया मर्दैन। सोही कारण भविष्यमा घातक रुपमा रोग जन्मने खतरा हुन्छ। भन्छन्, ‘पूरा मात्रामा एन्टिबायोटिक सेवन नगर्नु भनेको बाघलाई घाइते छोडिदिनु जस्तै हो।’

समबन्धित समाचार: 

‘ड्रगिस्ट’को ‘डोज’ बन्दै क्यान्सरको औषधि!



फार्मेसीवाला नै डाक्टर ! औषधिले नै गर्छ घातक असर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट