PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकी हेलिकप्टर दुर्घटनाबारे सेनाको ७ बुँदे वक्तव्य र नखुलेका ६ रहस्य



अमेरिकी हेलिकप्टर दुर्घटनाबारे सेनाको ७ बुँदे वक्तव्य र नखुलेका ६ रहस्य

काठमाडौँ : वैशाख १२ को भूकम्पपछि राहत तथा उद्दार कार्यका लागि नेपाल आएको अमेरिकी सैनिक हेलिकप्टर वैशाख २९ को शक्तिशाली परकम्पलगत्तै दोलखा र सिन्धुपाल्चोकमा परिचालित हुने क्रममा हरायो। जेठ १ गते यसको भग्नावशेष भेटियो भनियो। तर घटनास्थल देखाउने एरियल फोटोसमेत सार्वजनिक भएन। यसैबीच फेरि अमेरिकी हेलिकप्टरले सिंगटीबाट बोकेका भनिएका घाइते हराए भन्ने खबर पनि आयो। यस्तै खबरबीच सेनाले आज सात बुँदे वक्तव्य जारी गरेको छ।

वक्तव्यका हरेक बुँदाले नखुलेका रहस्य जनाउँछ। हेर्नुस् वक्तव्य र रहस्य  


१.     मिति २०७२ बैशाख २९ गते गएको विनाशकारी भूकम्प पश्चात उद्धार तथा राहत कार्यमा काठमाण्डौबाट दोलखा तथा सिन्धुपाल्चोक जिल्लामा परिचालित US Marine Corps को UH-1Y Huey हेलिकप्टर मिति २०७२ बैशाख २९ गतेदेखि सम्पर्कविहिन भई खोजतलास गर्दा मिति २०७२ जेठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उक्त दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।
(रहस्य : कस्तो स्थानमा दुर्घटना भएको थियो, दुर्घटना भएको ठाउँको भौगोलिक प्रकृति कस्तो थियो भन्ने जनाउने एउटा एरियल फोटो पनि सार्वजनिक भएको छैन। साथै जिपिएस, रेडियो तथा आपतकालीन लोकेटर बेकनसँग जोडिएको यति प्रविधियुक्त हुँदा पनि तीन दिनसम्म किन हरायो हेलिकप्टर? )

२.     यसै सन्दर्भमा मिति २०७२ बैशाख २९ गते US Marine Corps को UH-1Y Huey हेलिकप्टर दुर्घटना परेको ईलाकामा नेपाली सेनाले निरन्तर सुरक्षा प्रदान गर्दै अनुसन्धानको लागि थप मद्धत पुग्ने प्रमाणहरुको खोजी गर्ने क्रममा मिति २०७२ जेठ ११ गते विगतमा नभेटिएको मानव अस्थिपन्जरको भाग (Human Remains) दुर्घटनास्थलमा फेला परेको छ । थप भेटिएको Human Remains लाई काठमाडौ ल्यार्ई हाल परीक्षण कार्य शुरु गरिएको छ । उक्त Human Remains पहिला नै संकलन गरिएको ८ जना (नेपाली सेनाको २ र US Marine Corps को ६) सैनिकहरुको हो वा अन्य व्यक्तिहरुको हो भन्ने पहिचान गर्न मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीको सहायता लिई डि.एन.ए. परिक्षण तथा संयुक्त रुपमा अनुसन्धान गरी पत्ता लगाउने प्रक्रिया समेत प्रारम्भ भैसकेको छ।
(रहस्य : वक्तव्यको बुँदाले नै नखुलेको कुरा स्पष्ट पार्छ। जेठ ११ गते मानव अस्थिपञ्जर भेटिएको भए पनि सञ्चार माध्यममा समाचार आइसकेपछि जेठ १३ गते बल्ल वक्तव्य जारी गरी यो विषय सार्वजनिक गरिएको छ।)

३.     उक्त भूकम्पमा परी घाइते भएका दोलखा जिल्ला लादुक र लामिडाडां गा.वि.स. का गरी ५ ब्यक्तिहरुलाई मिति २०७२/०१/२९ गते दोलखा जिल्लाको सिंगटी बजारबाट उपचारको निमित्त हेलिकप्टरद्वारा उद्धार गरी लगेकोमा निजको आफन्तहरुले स्थानीय र काठमाडौंको विभिन्न अस्पतालहरुमा खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको एवम् सम्पर्क पनि हुन नसकेको भनी विभिन्न संचारमाध्यम तथा पत्रपत्रिकाहरुमा प्रकाशित समाचार सम्बन्धमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ।
(रहस्य: अमेरिकी हेलिकप्टर कति वटा नै त्यहाँ परिचालित भएका थिए र, कुन हेलिकप्टरमा घाइते लगियो भन्ने रेकर्डसमेत नहुनु रहस्यकै कुरा हो। हेलिकप्टर कहाँबाट कहाँ उडेपछि सम्पर्कविहीन भएको थियो त्यो पनि रहस्य कै विषय भएको छ। सिंगटी बजारबाट उपचारको निमित्त हेलिकप्टरले उद्धार गरी लग्नु र हराएको भनिएको केही समयपछि सिंगटी सब स्टेसनमै अवतरण भएको देखिनुबीचको रहस्य के होला?)
 
४.     उल्लेखित हराइरहेका भनिएका ५ जना व्यक्तिहरुको सम्बन्धमा नेपाली सेना, स्थानिय प्रशासन र अन्य सुरक्षा निकायहरुबाट पनि दोलखा, धुलिखेल, बनेपा र काठमाण्डौको विभिन्न अस्पतालहरुमा बुझ्ने कार्य भइरहेकोमा हालसम्म निजहरुको सम्बन्धमा कुनै विवरणहरु प्राप्त नभएको।
(रहस्य : वक्तव्यको यो बुँदाले नै रहस्य इङ्गित गरेको छ)

५.     उक्त दुर्घटना भएको हेलिकप्टरमा दुवै देशको सैनिकहरु बाहेक अन्य व्यक्तिहरु समेत उडानमा भए नभएको सम्बन्धमा नेपाली सेनाले स्थानीय प्रशासन, प्रहरी लगायत अन्य सम्बन्धित निकायहरुसंग समेत समन्वय गरी अनुसन्धान कार्य जारी राखेको छ। (रहस्य : वक्तव्यको यो बुँदाले नै रहस्य इङ्गित गरेको छ)
 
६.     नेपाली सेना र अमेरिकी सैनिकहरुबाट हाल भइरहेको संयुक्त अनुसन्धान कार्य र डि.एन.ए. परीक्षणपश्चात् मात्र उक्त दुर्घटना र यससँग सम्बन्धित बिषयहरुको सत्यतथ्य पत्ता लाग्ने र सो अनुसन्धानको प्रतिवेदन अविलम्ब सार्वजनिक गरिने व्यहोरा नेपाली सेना सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छ।
(रहस्य : वक्तव्यको यो बुँदाले नै नखुलेको रहस्य इङ्गित गरेको छ)

७. यस दुःखद दुर्घटनामा निधन हुनुभएका स्वदेशी तथा विदेशी सबैको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरु प्रति नेपाली सेना हार्दिक समवेदना व्यक्त गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell