PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'



सागर बुढाथोकी

रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'

काठमाडौं: जुन दिन बंगलादेश र म्यानमारका कुटनीतिक अधिकारीहरु रोहिंगा शरणार्थीलाई म्यानमार नै फिर्ता पठाउने सहमति गरिरहेका थिए, ठीक त्यतिखेर दुई परिवारका १० शरणार्थी काठमाडौं आइपुगे। अवैध रुपमा नेपाल भित्रिएका उनीहरु काठमाडौंमा 'सेफ ल्यान्डिङ' गरिरहँदा सरकार भने मुक दर्शकमात्र बनिरहेको छ। बंगलादेशमा शरण लिइरहेका म्यानमारका शरणार्थीहरु जनवरी १ देखि घर फर्किँदैछन् तर नेपाल भित्रिएकाहरु भने फर्किने 'मुड'मा छैनन्।

गत अगस्ट यता म्यानमारमा हिंसा बढेपछि बंगलादेश हुँदै भारतलाई ‘ट्रान्जिट’ बनाएर रोहिंगा शरणार्थी नेपाल आउने क्रम बढ्दो छ। २५ अगस्टदेखि अहिलेसम्म बंगलादेशको बाटो हुँदै नेपाल छिरेका सय जनाभन्दा बढी शरणार्थी त कपनभित्रै छन्। बुधबारमात्रै ‌बंगलादेश-भारतको बाटो हुँदै २ परिवारका १० जना शरणार्थी कपन आइपुगे। सन् २०१२ देखि अहिलेसम्म कपनमा मात्रै चार सयभन्दा बढी शरणार्थीहरु बसोबास गरिरहेका छन्।

 

भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार

तत्कालका लागि समस्या नदेखिए पनि दीर्घकालीन समस्या हुनसक्ने रोहिंगा शरणार्थीको विषयमा सरकारले कुनै ध्यान दिएको छैन।
 

गत भदौमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीलाई हामीले सोधेको थियौं – के हुँदैछ म्यानमारका शरणार्थीको विषयमा?
 

त्यतिखेर सुवेदीको जवाफ थियो –  ‘नेपालमा भुटानी र तिब्बती शरणार्थीको तुलनामा उनीहरु थोरै छन्। जति छिर्नु छिरे। अब कोही रोहिंगा अवैधानिक रुपमा नेपाल छिर्न पाउँदैनन्। सीमानामा कडाइ गरिएको छ। रोहिंगाहरुको लागि सरकारले के गर्ने कुनै निर्णय भइसकेको छैन्। उनीहरुको बारेमा प्रश्न उठ्न थालेको छ। अब छलफल गरेर के गर्ने निर्णय हुन्छ।’


 

यो समाचार तयार पारिरहँदा थप रोहिंगाहरु नेपाल भित्रिरहेका सूचनाले गृह मन्त्रालयको 'निर्णय' कस्तो रह्यो बताइरहेको थियो।
 

मुलत:  पाँच महिना बितिसक्दा पनि गृह मन्त्रालयले कुनै निर्णय गरेकै छैन्। गृह मन्त्रालयको सहायक प्रवक्ता उमेश ढकाल, सहसचिव कृष्ण बहादुर राउत, मुनका पौडैल लगायतका कर्मचारीले यस विषयमा केही जानकारी नआएको बताए। ‘यो विषयमा अहिलेसम्म केही निर्णय हुन सकेको छैन्,’ उनीहरु सबैको करिब यस्तै उत्तर थियो।
 

 सह प्रवक्ता ढकाल पहिला नै छिरेका रोहिंगाहरु कपनमा बस्दै आएकोबारे जानकार छन्। तर, आङ साङ सुकी म्यामारको प्रधानमन्त्री भएयता रोहिंगा नेपाल नछिरेको उनको दाबी छ। हामीले तथ्यसहित भित्रिरहेको जानकारी गराउँदा उनले नेपालमा रोहिंगाहरु कहाँ के गर्दैछन् र कति आए आधिकारिक तथ्यांक सरकारसँगै नभएको उनले स्वीकारे।


 

त्यस्तै पराराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल म्यानमारका शरणार्थीको मामिलामा केही जानकारी नआएको बताए। भने, ‘यो विषयमा काम गर्ने संगठनले  रोहिंगाको बारेमा हामीलाई केही जानकारी गराएको छैन। के हुँदैछ त्यो पनि थाहा छैन।’

 

शरणार्थी भन्छन् : मर्नुपरे नेपालमै मरौंला

सरकारी निकायलाई जानकारी नभए पनि कपनमा दिनहुँजसो रोहिंगाहरु भित्रिरहेका छन्। अधिकांश नेपाल आउनेहरु म्यानमारमा फर्किने आश मारेर आएको बताउँछन्।
 

कपन राममन्दिर क्याम्पमा बस्ने जाफर आलम भन्छन्, ‘बंगलादेशभन्दा सुरक्षित र शान्त यहीँ छ। म्यानमार मर्नु छ र फर्कनु? बाँच्न मन हुनेहरु आउने नेपाल नै हो।’


 

त्यस्तै साहिद हुल अमिन भन्छन्, ‘अहिले हामीलाई फिर्ता बोलाउने समाचार पढेको हो। तर, हामी नेपाल छोडेर जान्नौँ। बल्ल-बल्ल ज्यान जोगाएर आएका छौँ फैरि मर्नलाई जान्नौँ। मर्नुपरे नेपाल मै मर्छौँ।’
 

कपन क्याम्पमा बस्दै आएका अमिनका अनुसार अझै रोहिंगाहरु नेपाल आउँदैछन्। ज्यान बचाउनको लागि नेपाल आउनुको विकल्प नभएको उनको तर्क छ।


रोहिंगाहरुको ‘सेफ ल्याण्डिङ’ नेपाल

बंगलादेशबाट भारत छिर्न मुस्किल भए पनि भारतबाट नेपाल सजिलै छिर्न सहज छ। नेपालमा २०१२ मा बंगलादेशबाट भारत हुँदै थुप्रै रोहिंगा शरणार्थी भित्रिएका थिए। कपनमा २ वटा क्याम्प बनाएर चार सय भन्दा बढी शरणार्थी बसोबास गरिरहेका छन्।


 

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले गत भदौँमै सीमानामा कडाई गरेर रोहिंगा छिर्न नदिने बताएका थिए। तर त्यस यता नै सयभन्दा बढी रोहिंगा काठमाडौं भित्रिसकेका छन्।
 

म्यानमारबाट अगस्ट २५ देखि अहिलेसम्म ६ लाखभन्दा बढी रोहिंगाहरु ज्यान जोगाउन बंगलादेश छिरिसकेका छन्। बंगलादेश हुँदै भारतमा छिर्नेहरु ५० हजारभन्दा बढी नाघिसके। बंगलादेशले शरणार्थीहरुलाई म्यानमार नै फर्काउने पहल गर्न थालेपछि बंगलादेशमा रहेका शरणार्थी नेपाल आउने सम्भावना बढ्दो छ।
 

म्यानमारमा अझै पनि हिंसा साम्य नभएको कारण बंगलादेशमा रहेकाहरु म्यानमार फर्कने पक्षमा छैनन्। बंगलादेशले शरणार्थीहरुलाई आफ्नो देशमा नराख्ने नीति राखेको कारण पनि बंगलादेशमा रहेका शरणार्थीहरु 'सेफ ल्यान्डिङ' चाहन्छन्।


रोहिंगा शरणार्थीबारे थप जान्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell