- रविराज बराल/पहिलोपोस्ट-
‘एसल्टबाट भागेको पहिलो पटक होइन। युद्धकालको चरित्र दोहोरियो’, तीन चारजनाको समूहमा रहेका नेता/कार्यकर्ता खासखुस गरिरहेका थिए। चर्चाले ध्यान तान्यो।
ती मध्येको एकजनाको कुराले मलाई बढ्तै तान्यो- ‘युद्धकालमा भएको भए भगौडाको कारबाही भोग्नुपर्थ्यो।‘
म उसैलाई ‘फलो’ गर्ने सोचमा पुगिसकेको थिएँ। खोजी समाचार जो थियो।
पेरिसडाँडा यतिबेला दुईओटा अभियानमा लागेको छ। पहिलो, आन्दोलन र दोश्रो, एकता अभियान। गएका ५/७ वर्षमा फुटेर पाँच टुक्रामा विभाजित नेता कार्यकर्तालाई समेट्ने अभियान र ३० दलीय मोर्चाको आन्दोलनका कारण पेरिसडाँडामा दिनमा दुईचारओटा भेला भैरहेकै हुन्छन्।
त्यहाँ जम्मा हुने मान्छेबीच आन्दोलन र एकताका कुरामात्र हुँदैनन्, पार्टीभित्र के चलिरहेको छ, के पाकिरहेको छ, कुन नेताका समस्या के हुन् जस्ता कुरा पनि हुन्छन्।
***
पेरिसडाँडाबाट बाहिरिन लाग्दा मैले उनलाई रोकेँ।
सोधेँ, ‘तपाईँले अघि जे भन्नुभयो, त्यो मसँग भन्न सक्नुहुन्छ?’,
‘कुन कुरा?’, ऊ अचम्ममा पर्यो।
मैले अघिको कुरा स्मरण गराएपछि बल्ल उसले बुझेछ क्यारे, अलि कडा स्वरमा सोध्यो- को हो तपाईँ?
मैले आफ्नो नाम भनेँ। परिचय पत्र देखाएँ।
वरपर हेर्दै उसले संकेत गर्यो, ‘अलि पर जाउँ।‘ पेरिसडाँडाबाट तीनकुनेतर्फ जाने ओरालो कटेपछि उसले सोध्यो, ‘कति भो पत्रकारिता गरेको?’
ऊ त उल्टो मेरो पो अन्तर्वार्ता लिँदै थियो।
‘पाँच सात वर्ष’, उत्तर दिएँ।
‘कुन पार्टी निकट हो?’, फेरि सोध्यो।
‘म पत्रकार हो। कुनै पार्टी निकट हैन’, मेरो जबाफ चित्त बुझेन क्यारे सोध्यो- पार्टी नहुने पत्रकार हुन्छ?
मैले जति तर्क दिए पनि मेरो कुरामा ऊ सहमत भएन।
‘कुन पत्रिका रे?’, उसले फेरि कार्ड हेर्न खोज्यो।
मैले उसलाई आफ्नो भिजिटिङ कार्ड थमाएँ। एकछिन हेर्यो र सोध्यो- ‘अनलाइन?’
‘हजुर’, मुस्कुराउँदै भनेँ।
‘कति हुन् अनलाइन पनि?’, प्रश्न गर्यो। म मुस्कुराएँ मात्र।
‘किन कुरा गर्न पर्यो? कुनै नयाँ कुरा हैन’, ऊ तर्किन खोज्यो।
‘मलाई नयाँ लाग्यो’, मैले आफ्नो अडान राखेँ।
‘ठिक छ। कार्ड भैहाल्यो, भोलि म आफै फोन गर्छु तपाईँलाई’, कार्ड गोजीमा राख्नुअघि एकपटक फेरि हेर्यो।
तर म कुराकानीलाई अर्को दिन पुर्याउने पक्षमा थिइन।
‘आज कतै बस्न मिल्दैन?’, सोधेँ।
‘अलि अप्ठ्यारो भयो। भोलि बसौँला’, उसले कुरा टुङ्ग्याउन खोज्यो।
‘कतिबेला? कहाँ?’, सोधेँ।
‘बिहान भेटौँला’, उसले रिङरोड बाहिरको ठाउँ दियो। लोकेसन दियो र समय पनि। हामी छुटियौँ।
जनजाति अनुहार। गुरुङ मगर जस्तो। उमेर करिब ३५/४० वर्ष। ऊ एकैछिनमा भिडमा हरायो।
***
भोलिपल्ट बिहानै फोन गर्यो- ‘ढिला नगर्नुहोला।‘
म बस चढिसकेको थिएँ। उसले भनेको ठाउँमै ओर्लिएँ। दुईचार पटक फोन गरेपछि उसले दिएको लोकेसन भेटियो।
कुराकानी सुरु गर्नुपुर्व मोबाइल निकालेकोमात्र थिएँ, उसले सर्त तेर्स्यायो- परिचय नखुलाउने र कुराकानी रेकर्ड गर्न नपाउने।
‘श्रोतको संरक्षण गर्नु मेरो धर्म हो। तपाईँ भन्नुहुन्छ भने रेकर्ड पनि नगरुँला। तपाईँको कुरा जस्ताको तस्तै जाओस् भनेर मात्र हो’, मैले स्पष्ट पार्न खोजेँ।
रेकर्ड गर्न ऊ तयार भएन। ‘नबोलेको कुरा नहाल्दिनुहोला’, उसले भन्यो।
मैले बाचा गरेँ।
***
ऊ पुराना दिन तर्फ फर्कियो। ऊ घरी युद्ध मोर्चाका कुरा गर्थ्यो, घरी युद्ध दर्शनका।
उसका कुरा सुन्दा लाग्थ्यो म कुनै युद्धमा आधारित पुस्तक पढिरहेको छु, फिल्म हेरिरहेको छु।
‘राजनीतिक तथा फौजी कारबाहीको पहल र जिम्मेवारी राजनीतिक संगठनको हुन्थ्यो। टार्गेट तय गर्ने जिम्मा नेतृत्वको र कहिले, कहाँ र कसरी आक्रमण गर्ने भन्ने जिम्मा पोलिटिकल कमिसारको’ उसले लामो पृष्ठभूमि जोड्यो।
‘त्यसपछि पहिलो आक्रमण गर्ने आत्मघाती दस्ता हुन्थ्यो- एसल्ट ग्रुप। लडाइँको अग्रभागमा रहने यो असल्ट ग्रुपमा बस्न लडाकुहरुबीच हानथाप हुन्थ्यो’, उसले भन्यो, ‘आज नेताहरुको गतिविधि देख्दा लाग्छ- कति चाँडो थाक्न सक्दा रहेछन् मान्छेहरु।‘
उसको विचारमा शान्ति प्रक्रिया पनि एउटा युद्ध नै हो। ‘युद्धका आर्क फेरिए, एसल्ट ग्रुप फेरिए’, उसले भन्यो, ‘युद्ध मोर्चा टेबुल मोर्चामा फेरिएको मात्र हो। हिजो हामी फिल्डमा दुश्मनसँग लड्दा हाँसीहाँसी रगत बगायौँ, अहिलेको पालो नेताहरुको हो, तर युद्ध लड्न हिँडेका नेता बीच बाटोबाटै भागिरहेका छन्।‘
पेरिसडाँडाँको खासखुसबारे उसलाई सम्झाएपछि उसले ‘क्लियर’ कुरा गर्यो।
उसको विचारमा एमाओवादी प्रवक्ता दीनानाथ शर्मा ‘क्रान्तिका भगौडा’ हुन्।
‘कसरी?’
‘हिजो हामीले फिल्डमा लड्यौँ। अहिले पार्टीबाट राजनीतिक नियुक्ति पाएका र संसदीय अभ्यासमा लागेकाहरुले पनि आफ्नो जिम्मेवारीमा दृढ भएर लड्नुपर्ने होइन?’, उसले प्रश्न गर्यो, ‘यहाँ त आफू, आफन्त, छरछिमेक र नातागोतालाई मात्र केन्द्रमा राख्न थालियो।‘
‘उनी नेता होइन, भगौडा हुन्। युद्धको नियमअनुसार यस्तो प्रवृत्तिलाई नै गद्दार भनिन्छ‘, ऊ आक्रोशित देखियो।
ऊ भन्छ- क्रान्तिमा सँधै जित्नुपर्छ भन्ने छैन। हार्छु भनेर एउटा इमान्दार सिपाही युद्ध छोडेर भाग्दैन।
उसका अनुसार अहिले चारजना माओवादी भेटिए भने कुरा नै दीनानाथ शर्माका हुन्छन्, जो चैत २८ मा बाग्लुङ क्षेत्र नम्बर १ मा हुने संविधानसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउन जाँदै गर्दा पोखरामा बिरामी परे। र, अस्पतालको सैय्याबाटै आफू चुनाव नलड्ने घोषणा गरे।
‘उहाँले मुटुको रोग, रक्तचाप जस्ता कुरालाई कारण देखाउनुभएको छ। टिकट लिँदा उहाँलाई कुनै समस्या नहुने अनि मनोनयन दर्ता गराउन जाँदा बाटोमा बिरामी पर्ने कस्तो संयोग हो?’, उनले प्रश्न गरे, ‘चुनाव त २८ दिनपछिमात्र थियो, उहाँ ३२ दलको साझा उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई नचिन्ने बाग्लुङमा कमै मान्छे होलान्, बिरामी भएँ भनेर नामै दर्ता नगराइ फर्किनु कसरी राजनीतिक सुझबुझ भयो?’
घरीघरी उसलाई किन त्यसरी ज्यान फालेर लागिएछ भन्ने लाग्दो रहेछ। ‘यस्तै हुन्छ भन्ने भए किन लड्नुपर्थ्यो, ज्यान जाने गरि?’, उसले प्रश्न गर्यो, ‘हामी पनि जितिन्छ हारिन्छ बुझ्थ्यौँ र हार्ने अवस्थामा ज्यान बचाएर फर्किन्थ्यौँ, हामी त युद्ध हारिएला भनेर बिचबाटोबाट कहिल्यै भागेनौँ।‘
उसले भन्दै गयो-‘युद्धमा मान्छेहरु बिरामी पर्थे। घाइते हुन्थे। तर उनीहरु आफ्ना लागि आफै स्ट्रेचर बनाउँथे। समान्य चुक्दा पनि ज्यान जान्थ्यो। हामीले कति साथीहरुलाई सामान्य कमजोरीका कारण गुमायौँ।‘
उनका अनुसार युद्धकालमा हुन्थ्यो भने यसरी कोही सिपाही आक्रमणको बिचबाट हिँड्यो भने सबै योजना स्थगित हुन्थे। उसलाई दुश्मनले किनेको शंका हुन्थ्यो। र, कथमकदाचित ऊ फर्किहालेमा उमाथि कडा निगरानी हुन्थ्यो। दिइएको जिम्मेवारी पुरा नगर्ने मान्छे त्यहाँ टिकिरहनै सक्दैनथ्यो। ऊ आफैलाई अपहेलित महसुस गर्थ्यो र युद्धबाट पलायन हुन्थ्यो।
***
आफ्नो पार्टीका प्रवक्ता समेत रहेका दीनानाथ शर्मा बिरामी भएर चुनाव नलड्ने घोषणा गरेको खबर उसले फेसबुकबाट थाहा पाएछ। त्यो खबर सुन्ने बित्तिकै उसलाई युद्धकालकै एउटा घटना याद आयो रे। युद्धकालमा उसको कार्यक्षेत्र सेतीमहाकाली रहेछ। संयोग दीनानाथको कार्यक्षेत्र पनि त्यहीँ रहेछ। आक्रमणको तयारी हुँदै थियो रे। नेता शर्मा यसैगरी बिरामी भएको ‘बाहाना’ गरेर सुरक्षित ठाउँतिर लागेका थिए रे।
‘मलाई ठ्याक्कै त्यो घटनाको याद आयो। ५८ सालतिरको कुरा हो’, उसले भन्यो, ‘अहिले पनि चित्रबहादुर केसीले ‘हार्नुहुन्छ’ भन्ने सल्लाह लिएपछि उहाँ चुनाव नलड्ने निष्कर्षमा पुगेको खबर मैले पढेँ। त्यतिबेला पनि उहाँ त्यसरी नै हिँड्नुभएको थियो। पछि भारततिर जानुभयो भन्ने भयो। ६२/६३ को जनआन्दोलनपछि एकैचोटी उहाँलाई टिभीमा देखियो।‘
उसको विचारमा हिजो युद्ध लड्ने सेना अहिलेका नेताजति कमजोर थिएनन्।
‘हिजोको पिएलए (जनमुक्ति सेना) को जत्ति पनि हैसियत कायम गर्न सकेनन् नेताहरुले’, उसले भन्यो, ‘युद्ध मैदानबाट भाग्नेलाई पार्टीले आफ्नो प्रवक्ता राखेको छ। कसरी सुहाउँछ?’
आफूहरुलाई भाडाको सेनाजस्तो गरेर पैसा दिएर बिदा गरिएको उसले बतायो।
‘मैले पाएको पैसाले मेरो जीवन सहज भएको छ। श्रीमती र म सानो व्यवसाय गर्छौँ, छोराछोरी स्कुल पढेका छन् तर हामीले चाहेको यो थिएन। हाम्री अर्कै संसारका लागि लडेका थियौँ‘, उसले निराशा व्यक्त गर्यो, ‘हामी मुर्ख थियौँ होला तर नेतृत्वको आदेशलाई मुक्ति वा मृत्यु मानेर लडेका थियौँ, तर आज नेताहरु चुनाव लड्न डराएर बिचबाट भागिरहेका छन्।‘
चुनाव नलड्ने घोषणा गरेर फर्केको दुई दिन नबित्दै जब प्रवक्ता शर्मालाई उसले रेडियो कान्तिपुरमा माओवादी रुपान्तरण र एकताबारे अन्तर्वार्ता दिँदै गरेको भेट्टायो, उसलाई झन् दिक्क लाग्यो रे।
‘बिरामी भएर पोखराबाट गंगालाल रिफर गरिएको मान्छे दुई दिन नबित्दै रेडियोमा अन्तर्वार्ता दिइरहेको छ। कसरी हुन्छ यो?’, उसले भन्यो, ‘उहाँ भगौडामात्र होइन, अपराधी हो। थाहा छैन उहाँले यो अपराध किन गर्नुभयो। यसका पछाडि के स्वार्थ थिए। प्रचण्डको ठाउँमा म हुन्थेँ भने अपराधी घोषणा गरेर प्रवक्ताबाट हटाइसकेको हुन्थेँ। तर प्रचण्डसमेत मौन बनेको देख्दा पो लाज लाग्छ त।‘
‘किन सोच्न सकेनन् होला त उनले?’, प्रश्न गरेँ।
‘होलान उनका पनि सीमा र समस्या। यस्तै मान्छेहरुको घेरामा परेर त प्रचण्ड बाबुरामहरु आदर्श नायक बन्न सकेनन्’, उसले जबाफ दियो, ‘भ्रष्टहरुले आफ्नो भ्रष्टता र आदर्शहीनता लुकाउन नेतृत्वलाई उपयोग गरेका कारण आज हामीले यो दुर्दशा भोगेका छौँ।‘
***