PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

चुनाव लड्न हिँडेका एमाओवादी प्रवक्ता अस्पताल भर्ना



चुनाव लड्न हिँडेका एमाओवादी प्रवक्ता अस्पताल भर्ना

काठमाडौं : चैत २८ गते हुन लागेको संविधानसभा उप निर्वाचनमा नामावली दर्ताका लागि बाग्लुङ जाँदै गरेका एमाओवादी प्रवक्ता दीनानाथ शर्मा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

एमाओवादी प्रवक्ता शर्मा बाग्लुङ क्षेत्र नम्बर १ बाट उपनिर्वाचनमा चुनाव लड्दैछन्। बाग्लुङ जाँदै गर्दा बाटोमै बिरामी भएपछि शर्मालाई पोखराको फेवासिटी अस्पताल भर्ना गरिएको छ।

शुक्रबार पोखरा पुगेका शर्मालाई रक्तचाप बढेपछि पोखराको फेवासिटी अस्पताल भर्ना गरिएको एमाओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पहिलोपोस्टलाई बताए।

'हामी बाग्लुङ जान हिँडेका हौँ। उहाँ सामान्य बिरामी पर्नुभएकोले पोखरामा अस्पतालमा उपचार गराइरहनुभएको छ', पौडेलले भने, 'चिकित्सकको सल्लाहपछि त्यता हिँड्छौँ।'

निर्वाचन आयोगले चैत १ गते उम्मेदवारी मनोनयनको मिति तोकेको छ। उम्मेदवार स्वयं उपस्थित हुन नसके उनका प्रतिनिधिले पनि मनोनयन दर्ता गराउन सक्छन्। 

नेता शर्मा पहिलो संविधानसभामा समानुपातिकबाट सभासद थिए। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी शिक्षा मन्त्री भएका थिए।
उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चम्पादेवी खड्का र नेकपा एमालेले मनकुमारी केसीलाई उम्मेदवार चयन गरेका छन्।

नेपाली कांग्रेसका सभासद हरिबहादुर खड्काको दुर्घटनमा मृत्यु भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

२०७० साल मंसिर ४ गते भएको संविधानसभा चुनावमा कांग्रेसका हरिबहादुर खड्काले १३ हजार ५ सय मत ल्याएर विजयी भएका थिए। एमालेका हिराबहादुर केसी ११ हजार ९ सय ६३ मतसहित दोश्रो भएका थिए। एमाओवादीका कृष्ण केसीले ६ हजार ३ मत ल्याएर तेश्रो भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell