PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दीनानाथ शर्माको पोखरामा सेफ ल्यान्डिङ? भने- 'निर्वाचनमा जान असमर्थ छु'



दीनानाथ शर्माको पोखरामा सेफ ल्यान्डिङ? भने- 'निर्वाचनमा जान असमर्थ छु'

  • पहिलोपोस्ट -
काठमाडौँ : एकीकृत नेकपा (माओवादी)को तर्फबाट बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि उम्मेदवार घोषित प्रवक्ता दीनानाथ शर्माले अस्वस्थताका कारण आफू उम्मेदवार नहुने बताएका छन्।

चैत २८ गते हुन लागेको संविधानसभा उप निर्वाचनमा नामावली दर्ताका लागि गृहजिल्ला बाग्लुङ जाँदै गरेका एमाओवादी प्रवक्ता दीनानाथ शर्मा बाटैमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। शनिबार साँझ उनी डिस्चार्ज भइसकेका छन्।

पार्टी निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न बाग्लुङ जाने क्रममा शुक्रबार पोखरा पुगेका शर्मालाई 'रक्तचाप बढेपछि' पोखराको फेवासिटी अस्पताल भर्ना गरिएको थियो।

शर्माले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, “अचानक स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ।"

उनले अगाडि भनेका छन्, "निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु ।” 

आफू उम्मेदवार बन्न नसके पनि एमाओवादीका तर्फबाट उम्मेदवारलाई मतदान गरी विजयी बनाउनु हुन बागलुङ क्षेत्र नं १ का सबै मतदाता सामु शर्माले अनुरोध गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ– “निर्वाचनका लागि सम्पूर्ण तयारी सहित निर्वाचन क्षेत्रमा प्रस्थान गर्दै गर्दा बाटोमा उच्च रक्तचाप र मुटुको समस्या बढेकोले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।” 

​नेता शर्मा पहिलो संविधानसभामा समानुपातिकबाट सभासद थिए। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी शिक्षा मन्त्री भएका थिए।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चम्पादेवी खड्का र नेकपा एमालेले मनकुमारी केसीलाई उम्मेदवार चयन गरेका छन्।

नेपाली कांग्रेसका सभासद हरिबहादुर खड्काको दुर्घटनमा मृत्यु भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। २०७० साल मंसिर ४ गते भएको संविधानसभा चुनावमा कांग्रेसका हरिबहादुर खड्काले १५ सय ३७ मतको अन्तरले एमालेका हिराबहादुर केसीलाई पराजित गरेका थिए। एमाओवादीका कृष्ण केसी ६ हजार ३ मत ल्याएर तेश्रो भएका थिए।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell