PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सर्वोच्चको फैसला लगत्तै देउवा र प्रधानमन्त्रीको भेट



सर्वोच्चको फैसला लगत्तै देउवा र प्रधानमन्त्रीको भेट

काठमाडौँ : प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला सार्वजनिक भए लगत्तै मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेट भएको छ। 

सर्वोच्चले नेपाल प्रहरीका बहालवाला प्रहरी नायब महानिरीक्षकहरु मध्येका योग्यतम् तथा विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीहरुमध्ये औसत उच्चतम अंक प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नु गराउनु भनी परमादेश जारी गरे पनि दुईको भेटमा तत्काल महानिरीक्षकको नियुक्तिको प्रक्रिया अघि नबढाउने कुरा भएको छ।

अहिलेलाई सर्वोच्चको आदेश कुर्ने विषयमा दुई बीच सहमति भएको स्रोत बताउँछ।

अदालतको निर्णयले आक्रोशित देउवाले जयबहादुर चन्दलाई नै महानिरीक्षक नियुक्त गर्नुपर्ने प्रस्ताव राखे पनि प्रधानमन्त्रीले केही दिन पर्खिएर कानुन व्यवसायीहरुसँगको छलफलपछि निर्णय गर्ने बताएका थिए। 

प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधि दुवै यसअघि नवराज सिलवाललाई महानिरीक्षक बनाउनु पर्ने पक्षमा भए पनि देउवाले जयबहादुर चन्दलाई बनाउन दबाब दिएका थिए। कांग्रेस सभापति देउवाले चन्दलाई महानिरीक्षक नबनाए सत्ता समीकरणमा नै असर पर्ने चेतावनी समेत दिएका थिए।

माघ २६ गते देउवा निवासमा निधिले वरियताक्रम मिच्दा प्रहरी संगठनमा असर पर्ने बताए पनि देउवाले यसअघि पनि वरियताक्रम मिचिएको उदाहरण भएको भन्दै आफ्नो अडान नछाडेपछि महानिरीक्षक कसलाई बनाउने भन्नेबारे निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई सुम्पँदै उनी बाहिर निस्किएका थिए। 

सोही अनुसार फागुन १ गते बसेको मन्त्रिपरिषद्को बैठकले चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो। तर निर्णयको केही घण्टामा नै सर्वोच्च अदालतले अन्तरकालीन आदेशमार्फत् सो निर्णय कार्यान्वयन गर्न रोकेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell