PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ नियुक्त



पहिलोपोस्ट

​नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं : नेपाल प्रहरीको २५औं महानिरीक्षकमा डिआईजी जयबहादुर चन्द नियुक्त भएका छन्। यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन्। 

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई नेपाल प्रहरी र सिंहलाई सशस्त्र प्रहरीको नेतृत्वमा चयन गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए। 

दुई आइजिपि नियुक्तिको लागिमात्र मन्त्रिपरिषद् बैठक पाँच मिनेटमात्र बसेको थियो। 

३० वर्षीय सेवा अवधिका कारण वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत सबै एआइजीहरुले भोलिदेखि (फागुन २) अवकाश पाउँदैछन्। यस्तै सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राईले पनि सोमवार नै अवकाश पाउनेछन्।

नवनियुक्त दुवै आइजिपिले सोमबारदेखि कार्यभार समाल्नेछन्। 

सशस्त्र प्रहरीको नेतृत्वमा विवाद नभए पनि नेपाल प्रहरीको नेतृत्वका लागि सत्तारुढ दलबीचमा नै विवाद थियो। सत्तारुढ दलमात्र हैन प्रमुख सत्ता साझेदार कांग्रेसमा नै कसलाई आइजिपि बनाउने भन्नेमा विवाद थियो।

सत्ता साझेदार दल कांग्रेसमा गृहमन्त्री बिमलेन्द्र निधि डिआइजी नवराज सिलवाललाई आइजिपि बनाउने पक्षमा उभिएका थिए। तर, सभापति शेरबहादुर देउवा चन्दको पक्षमा थिए। सभापति र गृहमन्त्रीबीच विवाद भएपछि मन्त्रीले आइजिपि चयनको निर्णय अधिकार सभापतिलाई नै दिएका थिए। 

नेपाल प्रहरीको वरियता क्रम अनुसार नवराज सिलवाल एक नम्बरमा थिए। गृहमन्त्री वरियता क्रम अनुसार नै महानिरीक्षक बनाउनु पर्ने अडानमा रहे पनि पार्टी सभापति शेरबहादुर देउवाले तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई नै महानिरीक्षक बनाउनु पर्ने अडानमा थिए। 

चन्द सिलवालसँगै डिआइजीहरु प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजिपिका प्रतिस्पर्धी थिए। 

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिमा असमझदारी भएपछि गत बिहीबारको नियमित मन्त्रिपरिषद् स्थगित भएको थियो। आकस्मिक रुपमा साँझ बोलाइएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गरेको थियो।

मन्त्रिपरिषद्को बैठकको पूर्वसन्ध्यामा शनिवार राति प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’बीच छलफल भएको थियो। 

छलफलमा सरकारमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि र मुख्य सचिव सोमलाल सुवेदी पनि सहभागी थिए। त्यसैगरी छलफलमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ पनि उपस्थित थिए। 

कांग्रेस सभापति देउवाले चन्दलाई महानिरीक्षक नबनाए सत्ता समीकरणमा नै असर पर्ने चेतावनी समेत बैठकमा दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell