PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गृहमन्त्री निधि - डिआइजी चन्द भेट, मिलेर काम गर्न प्रस्ताव, चन्द आइजिपी हुने लगभग निश्चित



गृहमन्त्री निधि - डिआइजी चन्द भेट, मिलेर काम गर्न प्रस्ताव, चन्द आइजिपी हुने लगभग निश्चित

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र डिआइजी जयबहादुर चन्दबीच बुधबार राति भेट भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकबारे निर्णय गर्ने पूर्वसन्ध्यामा दुई बीच भेट भएको हो। 

पार्टी सभापति शेरबहादुर देउवाले चन्दलाई नै महानिरीक्षक बनाउनु पर्ने अडानका बीच भएको भेटमा मिलेर काम गर्न प्रस्ताव गरिएको स्रोतले जनाएको छ। 

यसअघि भावी महानिरीक्षक चयनका विषयमा सरकारमा नेपाली कांग्रेसको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ देउवा निवास बूढानिलकण्ठमा छलफल भएको थियो। 

गृहमन्त्री निधिले प्रहरीमा मर्यादाक्रम अनुसार नेतृत्व हस्तान्तरण गर्दा सहज हुने प्रस्ताव गरेका थिए। पार्टी सभापति देउवाले भने वरियताक्रममा तेस्रो नम्बरमा भएका डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने प्रस्ताव गरे। 

निधिले वरियताक्रम मिच्दा प्रहरी संगठनमा असर पर्ने बताए पनि देउवाले यसअघि पनि वरियताक्रम मिचिएको उदाहरण भएको भन्दै आफ्नो अडान नछाडेपछि महानिरीक्षक कसलाई बनाउने भन्नेबारे निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई सुम्पँदै उनी बाहिर निस्किएका थिए। 

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको महानिरीक्षकबारे निर्णय गर्ने तयारी छ। ३० वर्षे सेवाअवधिका कारण नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई दुवैले एकै पटक फागुन २ गते अवकाश पाउँदै छन्।

सत्ताधारी दुई प्रमुख दलहरु मध्ये नेपाली कांग्रेसले नेपाल प्रहरी र माओवादी केन्द्रले सशस्त्र प्रहरी महानिरीक्षक चयन गर्ने सहमति भएको थियो।
सोही सहमति अनुसार सरकारको नेतृत्व गरेका उपप्रम गृहमन्त्री विमलेन्द्र निधि र देउवाबीच सोमबार पनि छलफल भएको थियो। सो छलफल पनि सौहाद्रपूर्ण नभएको स्रोत बताउँछ। 

त्यसपछि आज भएको छलफलमा पनि देउवाले आफ्नो अडान नफेरेको र उपप्रम निधि प्रहरी नेतृत्वकै विषयमा देउवासँग झगडा गर्ने मूडमा नरहेकोले चन्द नेपाल प्रहरीका भावी महानिरीक्षक हुने लगभग निश्चित झैँ देखिएको छ।

वरियता क्रममा डिआइजी नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, जयबहादुर चन्द तेस्रो र बमबहादुर भण्डारी चौथो नम्बरमा थिए। गृहमन्त्री वरियताक्रम अनुसार अर्थात् सिलवालको पक्षमा थिए। 

सशस्त्रमा को?


सशस्त्रमा एआइजीहरूमध्ये सिंहबहादुर श्रेष्ठ पहिलो, प्रेम शाही दोस्रो र प्रकाश ओझा तेस्रो वरियतामा छन्। कसलाई आइजिपी बनाउने भन्ने बारे माओवादी केन्द्रले निर्णय गरिसकेको छैन। पार्टीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नै यसबारे निर्णय गर्ने अधिकार सुम्पेको छ। 

पद्दति अनुसार गृह मन्त्रालयले उठाएको टिप्पणी अनुसार गृहमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा दुवै संगठनका महानिरीक्षकबारे प्रस्ताव राख्ने र प्रधानमन्त्रीले अन्तिम निर्णय गर्ने प्रचलन छ। 


दुवै आइजिपी एकै ठाउँमा


स्रोतका अनुसार नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई दुवै बुधबार राति स्वयम्भूस्थित राई निवासमा कार्यकालको विदाइ भोजमा सँगै रहेका छन्। 

सम्बन्धित समाचार:
चार प्रतिष्पर्धी डिआइजीलाई आइजीले भने : पदिय मर्यादामा बस्नोस्,एकले अर्कालाई बदनाम नगराउ
'चुनाव आफ्नो पक्षमा पार्न आइजीपीमा बार्गेनिङ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell