PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गृहमन्त्री भन्छन् : एसिड प्रहारका दोषी पत्ता लगाउन पीडितका परिवारले सहयोग गरेनन्



गृहमन्त्री भन्छन् : एसिड प्रहारका दोषी पत्ता लगाउन पीडितका परिवारले सहयोग गरेनन्

काठमाडौं : गृहमन्त्री बामदेव गौतमले राजधानीमा एसिड प्रहार भएकी युवतीको परिवारले दोषी पत्ता लगाउन असहयोग गरेको बताएका छन्।
संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिमा मन्त्री गौतमले पीडितले प्रस्ट बयान नदिँदा अपराधीसम्म पुग्न समस्या भएको बताएका हुन्।

उनले प्रहरी ढिलो चाँडो दोषीसम्म पुग्ने जिकर समेत गरे।

'एसिड एट्याकको घटनामा कानुनमा भएको सबैभन्दा कडा व्यवस्थाले हामी कारवाही गर्छौं,' गौतमले भने, 'नेपालको प्रहरीले ठूला ठूला अनुसन्धानमा सफलता पाएको छ, ढिलो - चाँडो दोषी पत्ता लाग्छ। तर, पीडितले बयान प्रस्ट नदिँदा अपराधीसम्म पुग्न समस्या भएको छ।'

गत फागुन १० गते काठमाडौंको वसन्तपुर झोछेस्थित ‘ए प्लस ट्युसन सेन्टर’ मा दुई किशोरीमाथि एसिड (तेजाब) आक्रमण भएको थियो। अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा कक्षा १० मा अध्ययनरत् सङ्गीता मगर र सीमा बस्नेत घाइते भएका थिए।

एसिड प्रहारबाट घाइते भएकी सीमा बस्नेतले आक्रमणकारीको हुलिया बताएकी थिइन्। 'एसिड लिएर आउने एक जना मात्रै थियो। मास्क लगाएको थिएन। अरेन्ज कलरमा हुड लगाएको थियो। टोपी लगाएको थियो', बस्नेतले पहिलोपोस्टसँगको कुराकानीमा आक्रमणकारीको हुलिया बताएकी थिइन्।

सभासद्हरुले बालिका माथि एसिड प्रहार भएको घटनामा दोषी पत्ता लगाउन ढिला भएकोप्रति चासो ब्यक्त गरेका थिए। उनीहरुले एसिडको सहज उपलब्धताका विषयमा समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। साथै एसिड प्रहार गर्नेलाई कडा भन्दा कडा कानुनी कारवाहीका लागि आग्रह गरेका थिए।

समितिले एसिड प्रहार भएको घटनाको दोषी पत्ता लगाएर कानुन बमोजिम कारवाही गर्न समितिलाई निर्देशन दिएको छ।
 

मानव तस्करीबारे पनि छलफल

समितिको बैठकमा नेपालबाट विभिन्न मुलुकमा हुने गरेको मानव तस्करीका विषयमा समेत छलफल भएको थियो। छलफलमा गृहमन्त्री गौतमले सरकारले नेपालीहरुलाई गैह्र कानुनी बाटोबाट विदेश जान कडाई गरेको बताए।

'विदेशमा जान सरकारले टाइट ब्यवस्था गरेको छ, भारतको एयरपोर्टबाट जान अहिले नेपालको 'नो अब्जेक्सन लेटर' भएपछि मात्र पठाउँछ, पानी जहाजबाट जानेलाई पनि भिसा स्वीकृत भएपछि मात्र पठाउने व्यवस्था गरिएको छ,' गौतमले समितिमा भने।

उनले नेपालको १ सय ३८ देशसँग दौत्य सम्बन्ध कायम रहेको उल्लेख गर्दै त्यस्ता देशहरुमा नेपाली नागरिक अलपत्र परे सरकारले कुटनीतिक पहलबाट समस्या समाधानको हरतरहको पहल गर्ने गरेको बताए।

समितिले खासगरि अमेरिका पठाउन ल्याटिन अमेरिकी देशहरुमा हुने गरेको मानव तस्करी रोक्न र दुई महिना भित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

मन्त्री कुरेको कुर्‍यै

सामाजिक अधिकार तथा मानवअधिकार समितिको बिहानको बैठकमा मन्त्री कुरेको कुर्‍यै भए। समितिको बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगेपछि गृहमन्त्री गौतम कुर्नमा परेका हुन्। बैठकमा सभासद्हरु झरीका कारण अनुपस्थित भएपछि फोन गरेर डाकिएको थियो।

समिति सभापति सुशीलकुमार श्रेष्ठले सचिवालयका कर्मचारीहरुलाई अह्राएर सभासद्हरुलाई फोन गर्न लगाएका थिए। बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल उपस्थित भए पनि धारणा राखेनन्।

सम्बन्धित समाचार
पीडित भन्छिन् – यसरी भयो हामीमाथि तेजाब आक्रमण
राजधानीमा यसरी भयो स्कूले छात्रामाथि तेजाब आक्रमण, दोषी अझै फरार, तीन वर्षमा दोस्रो घटना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell