PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सर्वोच्चको परमादेशपछि लोकमान कार्यालयमा अनुपस्थित, आज क्यानडा जाने तयारी



रमेश वाग्ले

सर्वोच्चको परमादेशपछि लोकमान कार्यालयमा अनुपस्थित, आज क्यानडा जाने तयारी

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अकस्मात् आज सोमबार क्यानडा भ्रमणमा जाने भएका छन्। 

उनको भ्रमण मन्त्रिपरिषद्को अघिल्लो बैठकले पारित गरिसकेको भए पनि हतारमा उनको आज नै जाने कार्यक्रम तय भएको अख्तियार स्रोतले बतायो। मन्त्रिपरिषद्को अघिल्लो बैठकले अख्तियार प्रमुखको भ्रमण पारित गरेको पर्यटन मन्त्री जीवनबहादुर शाहीले पुष्टि गरे। 

अख्तियार स्रोतका अनुसार अदालतले तामेली बुझाउनु अघि नै बाहिरिने रणनीति कार्कीले बनाएका छन्। 

प्रधान न्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले उनको नियुक्तिमाथि प्रश्न उठाउँदै दायर गरिएको रिट खारेज गर्ने सर्वोच्चकै यसअघिको निर्णय  'प्रिन्सिपल अफ कन्स्टिच्युसनल कन्सट्रक्सनको कानुनी सिद्धान्तको विपरीत' भन्दै पुनरावलोकन गर्ने उत्प्रेषणयुक्त आदेश शुक्रबार दिएपछि उनको पद धरापमा परेको छ। 


शनिबार सार्वजनिक विदा भएका कारण कार्यालय बन्द थियो भने आइतबार उनी क्वार्टरबाट कार्यालय पुगेनन्। उनको क्वार्टर र कार्यालय अख्तियार भवन परिसरमै छ। 

सोमबार संविधान दिवसको विदाको दिन पारेर उनी क्यानडा उड्न लागेका हुन्। 

सर्वोच्चले लोकमान नियुक्ति सम्बन्धी फाइल भूकम्पले हरायो भनी गैरजिम्मेवारपूर्ण जवाफ दिएको टिप्पणीप्रति कडा रुपमा प्रस्तुत हुँदै सात दिनभित्र फाइल पठाउन पनि आदेश दिएको थियो। 

सर्वोच्चले यस्तो आदेश दिएको तीन घण्टामा अख्तियार प्रवक्ताले हतार हतार कार्यालयमा साँझ पत्रकार सम्मेलन आयोजना गरी लडाकु शिविरको भरणपोषण रकममा भ्रष्टाचार भएको भनी परेको उजुरीमाथि छानबिन तदारुकताका साथ अघि बढाइएको जानकारी दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell