PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अख्तियारले भन्यो - लडाकु शिविरको अनियमिततामा छानविन सुरु



पहिलोपोस्ट

अख्तियारले भन्यो - लडाकु शिविरको अनियमिततामा छानविन सुरु

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुका शिविरहरुमा भएको भनिएको भ्रष्टाचारबारे आजदेखि सुरु अनुसन्धान थालेको बताएको छ। 

सर्वोच्च अदालतले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिबारे प्रश्न उठाइएको खारेज भएको रिट पुनरावलोकन गर्न उत्प्रेषणयुक्त आदेश दिएको केही घण्टामा आयोगले केन्द्रीय कार्यालय टंगालमा पत्रकार सम्मेलन गरेर लडाकु शिविरमा भएको अनियमिततामा छानविन अगाडि बढाएको जनाएको हो।

प्रवक्ता गणेश कार्कीले अनियमितताको विषयमा छानविन सुरु गरिएको बताए पनि कति अनियमितता माथि छानविन भन्ने खुलाएनन्। न उनले कति जनाविरुद्ध उजुरी थियो भन्ने नै खुलाए। 


'अख्तियारले तत्कालीन नेकपा माओवादीको शिवरमा रहेका लडाकुहरुको भरण पोषण र रकमको बारेमा, जुन रकम उपलब्ध(सरकारले) गराएको थियो। त्यसबारे उजुरी परेको थियो। उजुरी उपर चाहीँ हामीले एकदमै तदारुकताका साथ छानबिन गरेका छौँ', उनले भने, 'भरण पोषण र रसद पानीका बापत प्राप्त गराएको रकम हिनामिना गराएको विषयमा छानबिनलाई तीव्रता दिएको छ।'

'उजुरी कति जना कतिको विरुद्ध थियो भन्ने बारे प्रश्न सोध्दा उनले भने 'यति जना भनेर अहिले भन्दिनँ। अनुसन्धानमा असर गर्न सक्छ।'

उनले जवाफ दिन तीस दिनको समय दिइएको र अनुसन्धानको क्रममा दोषी पाइए जो पनि पर्न सक्ने बताए।

अख्तियारका प्रवक्ताले छोटो नोटिसमा पत्रकार सम्मेलन गरेका थिए। आफूले छोटो नोटिसमा पत्रकारहरुलाई बोलाएको स्वीकार गर्दै कार्कीले सर्वोच्चको फैसला र छानबिन यी दुई विषयको मेल नभएको देखाउने प्रयास पत्रकार सम्मेलनमा गरेका थिए। 

उनले भने - यो अगाडि नै गर्नुपर्ने थियो। म प्रवक्ता भएको एक महिना भयो। यही समयमा फादर एक्सपायर भएर भेट्न सकिन। आइतबारदेखि उपस्थित भएँ। आइतबारदेखि नै गर्ने भनेको एक दिन खोल्ने, एक दिन बिदा परेछ। त्यसकारण भेट्न सकिनँ। भोलि शनिबार भयो। आइतबार खुलेपछि फेरि बिदा छ। त्यस कारण भेटघाट पनि होस्। अख्तियकारको महत्वपूर्ण निर्णयबारे जानकारी पनि होस् भनेर।'

प्रवक्ता कार्कीले लडाकुको शिविरको छानविनका लागि महत्वपूर्ण पदाधिकारीहरुलाई अख्तियारले बयानका लागि बोलाउने तयारी गरेको उनले खुलाए।

'यसलाई तीव्रताको साथ थालनी गरेका छौँ। अध्ययन र अनुसन्धानपश्चात् त्यतिबेला निर्णय प्रक्रियामा सहभागी हुनुहुने महत्वपूर्ण पदाधिकारीहरु (तपाइँहरु आफैँले खोजी गर्नुस्) छलफलका लागि अनुसन्धानका लागि हामीले आमन्त्रण गरेका छौँ। निश्चित समय दिएर' उनले भने, 'तदारुकताका साथ छानविन हुन्छ र त्यसक्रममा दोषी देखिएका उपर कारवाहीको प्रक्रिया थालनी नै हुन्छ।'

आयोगले नेपालको सार्वजनिक पद धारण गरेर अकुत सम्पति कमाउने व्यक्ति उपर छानविनको क्रमलाई समेत तीव्रताका साथ अगाडि बढाएको जानकारी दिएको छ। 'त्यस्तो कुरा छिट्टै जानकारी गराउँदैछौँ', प्रवक्ता कार्कीले भने, 'छिट्टै नै त्यस्ता महत्वपूर्ण जानकारी थाहा पाउनु हुनेछ भनेर इन्फरमेसन निमन्त्रणा गरेका हौँ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell