PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

माओ दिवस : प्रचण्ड पेरिसडाँडा, चन्द खुलामञ्च, वैद्य पार्टी प्यालेसमा



माओ दिवस : प्रचण्ड पेरिसडाँडा, चन्द खुलामञ्च, वैद्य पार्टी प्यालेसमा
विप्लवका कार्यकर्ताले सभाको प्रचारका लागि काठमाडौँमा झुण्ड्याएको ब्यानर।

काठमाडौँ :  प्रणेता एक तर नेता फरक। मान्ने 'वाद' एक, तर बुझाइ फरक। पार्टीमा विभाजनसँगै माओवाद मान्ने पार्टीहरु माओको १२१ औँ जन्म दिवस आज बेग्लाबेग्लै ठाउँमा मनाउँदैं छन्।

संविधान सभाको निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेसँगै अन्य विभिन्न माओवाद मान्ने पार्टीलाई समेत एकीकरण गरी बनेको ‘एकीकृत नेकपा माओवादी’ नाम राखिएको पार्टी तीन वर्ष नहुँदै तीन टुक्रा भइसकेको छ। योसँगै मूल पार्टी पेरिसडाँडाको कार्यक्रममा सीमित भएको छ।

त्यसबाट टुक्रिएको मोहन वैद्य नेतृत्वको माओवादी अझ एउटा पार्टी प्यालेसको कार्यक्रममा खुम्चिएको छ। वैद्यबाट अघिल्लो महिनामात्रै सम्बन्ध विच्छेद गरी नयाँ पार्टी घोषणा गरेका चन्दले भने आज सबैभन्दा ठूलो कार्यक्रम काठमाडौँको खुलामञ्चमा गर्दैछ।
 
एनेकपा (माओवादी) ले पार्टीको मुख्य कार्यालय पेरिस डाँडामा राखेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा पार्टीका सक्रिय कार्यकर्ताहरु मात्रै सहभागी हुँदैछन्।    

उता, शान्ति र संविधानको कार्यदिशामा गम्भीर असहमति राखेर एकीकृत नेकपा माओवादीबाट तीन वर्षअघि टुक्रिएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले भने पुरानो बानेश्वरको ओम साई पार्टी प्यालेसमा केन्द्रीय भेला गरेर माओ दिवस मनाउँदैछ। फुटपछि अलमलमा परेको पार्टीले यसै भेलाबाट पार्टीलाई सुदृढ गर्दै कस्तो किसिमको नयाँ कार्यदिशा लिनेबारे छलफल गर्दैछ।  

अघिल्लो महिनामात्रै वैद्य नेतृत्वको माओवादी फुटेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले भने सबैभन्दा ठूलो कार्यक्रम खुलामञ्चमा गर्दैछ। माओको फोटोसहित विप्लवद्वारा विशेष सम्बोधन लेखिएका रंगिन पोस्टर काठमाडौँका भर्खरै नगरपालिका घोषित गाउँगाउँमा समेत टाँसिएका छन्।

अरुभन्दा आफूलाई फरक देखाउन देशभरका कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी पनि विप्लवको छ। पार्टी फुटाएपछि पुस २३ गतेदेखि गर्न लागेको राष्ट्रिय भेलाको तयारी पनि यही बीचमा हुँदैछ।

मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत) ले भने संवाद डबलीमा अन्तर्क्रिया गरेर माओ दिवस मनाउँदै छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell