PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

तीन वर्ष नपुग्दै माओवादी तीन टुक्रा, चन्दले सोधे पार्टी एक रहने आधार के?



तीन वर्ष नपुग्दै माओवादी तीन टुक्रा, चन्दले सोधे पार्टी एक रहने आधार के?

काठमाडौं : शान्ति प्रक्रियामा आएर पहिलो संविधान सभा निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बनेको एकीकृत नेकपा माओवादी तीन वर्ष नपुग्दै तीन टुक्रा हुने भएको छ।  शान्ति र संविधानको कार्यदिशामा गम्भीर असहमति राखेर एकीकृत नेकपा माओवादीबाट टुक्रिएर बनेको नेकपा- माओवादी जनविद्रोहको कार्यदिशामा कुरा नमिलेपछि फेरि टुक्रिएको हो। 

नेकपा – माओवादीका सचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफ्नो कार्यदिशामा पार्टी केन्द्रीय समितिका नेताहरु नआउने भएपछि अध्यक्ष मोहन वैद्यलाई पत्र बुझाएर पार्टी एकढिक्का रहनसक्ने आधार मागेका छन्।

'पार्टीभित्रको दुई लाइन संघर्षमा कसरी अगाडि बढ्ने कुरामा दुई मत भयो। पहिले छुट्टै भेलाबारे कारबाही नगर्ने भनिए पनि फेरि किरणले दस्तावेजमा कारबाही गर्नुपर्छ भनेर ल्याउनुभयो। त्यही भएर आजदेखि उहाँहरुसँग सम्बन्धविच्छेद भनेर लिखित प्रस्ताव नै बुझाइदियौं,’ चन्द पक्षका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए।

चन्दले सोमबार पार्टी कार्यालय पुगेर अध्यक्ष मोहन वैद्यलाई पत्र बुझाएका थिए।

'पार्टीभित्रको बहस टुंगोमा पुगेको हो,' नेकपा-माओवादीका पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्माले पहिलोपोस्टसँग भने, 'उहाँले तपाईँहरुको प्रस्तावले पार्टी डिसयुनाइट हुने देखियो। कसरी पार्टी युनाइटेड हुन सक्छ भन्ने प्रश्न सोध्नुभएको छ।'

'पत्र बुझाएपछि पार्टीमा छलफल गरी के गर्न सकिन्छ बताउने उहाँहरुले जानकारी दिनुभएको छ,' विश्वकर्माले भने, 'बिहान पत्र बुझाइएको हो, त्यसमाथि छलफल दिउँसो र बेलुकी पनि हुनसक्छ।'

पत्रपछि प्रेसलाई इमेलबाट बाँडिएको चन्दको नाम रहेको वक्तव्यमा  'क. किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग संघर्षको नेतृत्व गर्न नसक्ने निश्कर्षसहित आजका मितिदेखि क. किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउँदछौँ' लेखिएको छ। 

के भएको थियो बैठकमा ?

चन्द नेकपा-माओवादीको जारी विस्तारित बैठक (प्लेनम) मा आइतबार सहभागी भएका थिए। शनिबार बैठक बोलाइएको भए पनि चन्दसँग कुरा गरेर आइतबारका लागि बैठक डाकिएको थियो।

आइतबारको बैठकमा अध्यक्ष मोहन वैद्यले चन्दको कडा आलोचना गरेका थिए।

चन्दले पनि आफ्नो कार्यदिशा र जनकपुरमा भएको आफ्नो अन्तरक्रियाका विषयमा धारणा राखेका थिए। बैठकमा विप्लव र वैद्यले छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। 

के हो विवाद ?

वैद्य जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाको पक्षमा छन् भने चन्दले उक्त कार्यदिशाप्रति असहमति जनाउँदै 'एकीकृत क्रान्तिको सिद्धान्त' अगाडि सारेका छन्। त्यसमा पुरानै युध्दकालमा जस्तै फेरि 'जनवादी राज्यसत्ता स्थापना गर्ने,  सैन्य बलद्वारा प्रतिक्रियावादी राज्यसत्ता ध्वंश गर्ने, बलियो र नियमित जनमुक्ति सेना बनाउने' उल्लेख छ।  

गत असार १८ गतेदेखि साउन ५ सम्म काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष किरणले ‘मालेमाको आलोकमा संघर्षको कार्यदिशालाई समृद्ध बनाऔँ, पार्टीलाई एकताबद्ध तुल्याउँदै क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढौँ’ शीर्षकको र सचिव चन्दले ‘यथास्थितिमा क्रमभंगता, इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव पेस गरेका थिए।
 
यो पनि हेर्नुस्-
चन्दको प्रस्तावबारे विस्तृत जानकारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell