PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विप्लवले खोजे सत्ता साझेदारी, जंगल नगई संघर्ष गर्ने



विप्लवले खोजे सत्ता साझेदारी, जंगल नगई संघर्ष गर्ने

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग सम्बन्धविच्छेद गरेका नेत्रविक्रम चन्द 'विप्लव'सहितका नेताले सोमबार काठमाडौंमा घोषणा गरेको नयाँ पार्टीले 'जंगल पनि नजाने र हतियार पनि नउठाने' बरु विगतमा भएका सहमति र सम्झौता अनुसार सत्ता साझेदारीका लागि संघर्ष गर्ने जनाएको छ।

राज्य र विद्रोहीबीच सत्तासाझेदारी अन्तरराष्ट्रिय सैद्धान्तिक मान्यता भएको जिकिर गर्दै विप्लवले राज्यका हरेक निकायमा राज्य र विद्रोहीको समान हिस्सेदारी चाहिने बताए। राज्य वा विद्रोही पक्ष मध्ये एकले अर्कोलाई पाखा लगाउने वा पेल्ने दुस्साहस गरेमा दिगो शान्ति स्थापना नहुने उनको भनाई छ। 

'यो विश्व भर नै स्थापित मान्यता हो। अहिले माओवादीलाई हरेक क्षेत्रबाट पाखा लगाउने काम भएको छ', विप्लवले भने, 'यदि माओवादीलाई यसरी नै पाखा लगाउन सकिन्छ भन्ने कांग्रेस एमालेले सोचेका छन् भने अब सबैभन्दा अप्ठ्यारोमा उनीहरु पर्छन्।'

नवगठित पार्टीको केन्द्रीय समिति बैठकले पनि सत्तासाझेदारी, भूमिहीन, सुकुम्बासी तथा आमकिसानको जमिनको समस्या समाधान, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यको पुनर्संरचना लगायतका सम्झौता  इमान्दारितापूर्वक कार्यान्वयन गर्न माग गरेको छ।
 
'सबै क्षेत्रमा पुराना संयन्त्रहरु दुवैतिर विघटन गरेर नयाँ संरचनामा पुग्न आवश्यक छ। किनकी शन्ति प्रक्रियाको मूल मर्म नै सहअस्तित्व, सहकार्य र साझेदारिता हो', माओवादीको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, 'कुनै पनि बहानामा कुनै पक्षद्वारा यसको मर्म उल्लंघन गरिनु शान्ति प्रक्रिया असफल हुनु हो। राज्यसत्ताको ध्यान जाओस्।' राज्यसत्ता, न्यायालय, सुरक्षा प्रणाली, आर्थिक जनअधिकार र संविधानलाई उसले सबैक्षेत्रभित्र राखेको छ।

सत्ता साझेदारीका लागि उसले 'राष्ट्रिय राजनीतिक सभा' गठन गर्ने पुरानै माग दोहोर्‍याएको छ। माओवादीले संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठनको माग उठाएको हो। यो वैद्य नेतृत्वको नेकपा-माओवादीले पनि राख्दै आएको माग हो। राजनीतिक सभाबाट नै सबै विषयको निकास निकाल्नुपर्ने माओवादीको ठहर छ।

हतियार तत्काल नउठाउने

नवगठित नेपाल कम्युनिष्ट पार्टी माओवादीले  आफूविरुद्ध 'युद्धतिर जाने र हतियार उठाउने' भन्दै भ्रम फैलाइएको जनाएको छ।

'स्पष्ट इमान्दारितापूर्वक दृष्टिकोण र प्रस्तावलाई हुँदै नभएको युद्ध र हतियारतिर मात्र प्रचार गरिदिनु भ्रामक त छ नै, यो बेइमानी, जालझेल र भयानक षड्यन्त्रको पुलिन्दा मात्र हो', मंसिर ११ देखि १३ गतेसम्म भएको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी गराउन वितरित विज्ञप्तिमा उल्लेख छ, 'यसले अनजानमै देशलाई द्वन्द्वको भूमरीमा फसाउँछ। यस्ता गलत प्रचार, भ्रम र जालझेलको भ्रममा नपर्न आग्रह गर्छौँ।'

आफूहरुले शान्ति, स्वाधीनता, परिवर्तन र समृद्धि चाहेको भन्दै नवगठित माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिए,  'अधिकार माग्दा राज्यले दमन गरेमा जनता चुप लागेर बस्दैन।' 

'हामीले अधिकार मागेका हौँ। यो माओवादी वा हामी कोही व्यक्तिको कुरा हैन', उनले भने, 'अधिकार माग्दा बन्दुकले दमन गर्न खोजेमा त्यसको उत्तर पनि बन्दुकले दिन सकिन्छ। तर हामी बन्दुकको कुरा गरिरहेका छैनौँ।

विप्लवले युद्ध नहुने तर युद्ध भएमा त्यसको सीमा नहुने भन्दै त्यो जनताको परिवर्तनका इच्छाचाहना पुरा गर्ने कांग्रेस एमालेको इच्छाशक्तिमा निर्भर रहने बताए।

कांग्रेस एमालेप्रति आक्रोश

संसदवादी दल र माओवादीबीच भएका पाँच बुँदे सहमति, १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको नेपाली कांग्रेस नेतृत्वको सरकारबाट उल्लंघन भएको आरोप लगाउँदै उसले आक्रोश पोखेको छ। 'सहअस्तित्व, सहमति र सहकार्यको मान्यताअनुसार सत्तासाझेदारी र राज्यको पुनर्संरचनालाई कांग्रेस नेतृत्वको संसदीय प्रणालीले भंग गरेको छ', विज्ञप्तिमा उल्लेख छ, 'त्यसलाई सच्याउँदै सहमति इमान्दारितापूर्वक कार्यान्वयन गरियोस्।'

कांग्रेस एमाले सहितका संसदीय दलले विदेशी शक्तिको आड र उक्साहटमा जनताका प्रस्तावबाट पछि हटेको माओवादीको आरोप छ।

'संसदवादी र माओवादीबीच भएका राज्यमा सहअस्तित्व, सहकार्य र साझेदारी गर्ने सम्झौताविपरीत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका आधिकार निषेध गर्दै पछाडि फर्किरहेका छन्', माओवादीले भनेको छ, 'उजीहरुको जोड एकलौटीरुपले राज्य कब्जा गर्ने छ। यो प्रतिक्रान्तिकारी कदम हो।'

शान्ति प्रक्रियाका समग्र विषयमा पुनः समीक्षा गर्दै नयाँ सहमतिमा पुग्नुपर्नेमा उसले जोड दिएको छ।

तत्कालीन माओवादी, सत्तासीन संसदवादी र संयुक्त राष्ट्रसंघको रोहवरमा भएका सहमति कांग्रेसले एकपक्षीय ढंगबाट उल्लंघन गरेको आरोप लगाउँदै माओवादीले कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ।

उसले सन् १९५० तथा त्यसपछि भारतसँग भएका असमान सन्धि तथा सम्झौता खारेज गर्नुपर्ने युद्धपूर्वदेखिको माग पनि उठाएको छ।

प्रथम राष्ट्रिय सम्मेलन पुसमा

आउँदो पुस २३, २४, २५ र २६ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने नवगठित नेकपा माओवादीले निर्णय गरेको छ। विप्लवको संयोजकत्वमा बनाइएको सम्मेलन आयोजक समितिमा खड्कबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। 

सम्मेलनका लागि माओवादीले 'प्रतिक्रियावाद र राष्ट्रघातका विरुद्ध एकीकृत आन्दोलन! नयाँ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन!!' नारा तय गरेको छ।

नेत्रविक्रम चन्द 'विप्लव'को भिडियो-









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell