PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

मधेसी मोर्चाले औपचारिक रुपमा भन्यो- नेताहरु दिल्ली जाँदैछन्, सरकारले वार्ता भाँड्न खोजेको आरोप



मधेसी मोर्चाले औपचारिक रुपमा भन्यो- नेताहरु दिल्ली जाँदैछन्, सरकारले वार्ता भाँड्न खोजेको आरोप

  • पहिलोपोस्ट-
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना नेताहरु राजनीतिक छलफलका लागि भारतको नयाँ दिल्ली जान लागेको औपचारिक रुपमा जनाएको छ।

शनिबार मोर्चाले जारी गरेको विज्ञप्तिमा मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव आइतबार भारतको नयाँ दिल्ली जान लागेको जनाइएको छ।

मोर्चाका नेताहरु 'छिमेकी मुलुक भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे विचार आदान–प्रदान गर्ने सिलसिलामा' नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।   

उपेन्द्र यादव र महन्थ ठाकुर आइतबार बिहान ८ बजे दिल्ली उड्दैछन् भने राजेन्द्र महतो र महेन्द्र राय यावद शनिबारै सीतामढी हुँदै भारतको पटना तर्फ लागेका छन्। उनीहरु भोलि पटनाबाट दिल्ली उड्नेछन्।

उनीहरुले त्यहाँ कसकसलाई भेट्नेछन् भन्ने भने मोर्चाले खुलाएको छैन।  

सरकारले वार्ता भाँड्न खोजेको आरोप

मोर्चाले जनतामा भ्रम छर्न सरकारले वार्ताको नाटक गरेको आरोप लगाएको छ। 'शान्तिपूर्ण आन्दोलनमा दमन गरी सरकारले नै वार्ता भाड्न खोजिरहेको हाम्रो ठहर छ', मोर्चाले विज्ञप्तिमा उल्लेख गरेको छ।

सरकारसँग वार्ता प्रक्रिया चलिरहेकै बेला सर्लाहीको नवलपुरमा गत मंसिर १७ गते आयोजित सभामा प्रहरीले निर्ममतापूर्वक दमन गरेको उसले आरोप लगाएको छ। प्रहरीको दमनमा एक जना महिलाले ज्यान गुमाएको, २७ जना आन्दोलनकारी घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको मोर्चाले जनाएको छ।

उक्त सभामा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड तथा आगजनी भएको घटनाप्रति पनि मोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मानवअधिकारको रक्षा र सम्मानप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै मोर्चाले एम्बुलेन्स सेवा, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिन मोर्चाले आह्वान गरेको छ। आवश्यक परेको खण्डमा सहयोग समेत गरिदिन मोर्चाले आग्रह गरेको छ।

दिल्ली-काठमाडौं कनेक्सनले सशंकित मोर्चा

परराष्ट्रमन्त्री कमल थापाको पछिल्लो भारत भ्रमण सरकारका लागि सकारात्मक बन्यो। त्यसको झलक थापाले भारतीय मिडियामा दिएको अन्तर्वाताहरुले पनि देखाउँछ। तीन तहमा सहमतिका हुन लागेको उनले अन्तर्वार्ता नै दिए।

त्यसमा नेपाली कांग्रेसले भन्दै आएको संविधान संशोधनको विषय र सीमाङ्कन सुल्झाउने समेटिएको थियो। संविधान संशोधनको विषयमा आंशिक सन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चाका लागि सीमाङ्कन नै प्रधान मुद्दा हो, त्यसमा उनीहरु प्रस्टता खोजिरहेका थिए।

सरकार वार्ता सफल हुनेमा विश्वस्त र दिल्लीसँग ओली सरकारको सम्पर्क बढ्दै जान थालेपछि सशंकित बनेका मधेसी मोर्चा दलका नेताहरु सीमाङ्कनमा दिल्ली-काठमाडौंबीच कस्तो समझदारी बनेको हो बुझ्न चाहन्थ्यो।

त्यसबारे मधेसी मोर्चाका नेतालाई काठमाडौंस्थित भारतीय दूतावासले ब्रिफ गर्न आज बोलायो। तर, काठमाडौं र दिल्लीबीचको पछिल्लो समय विकास भएको सम्बन्धले सशंकित बनेका उनीहरु वार्ताका लागि बालुवाटार जान तयार भएनन्। 

भारत भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा नेपाल सरकारका तर्फबाट गरेको 'डिल'बारे दूतावासको ब्रिफमै मात्र मोर्चा नेताहरु विस्वस्त रहेनन्। आखिर दिल्लीको अघोषित मध्यस्थतामा सरकार र प्रमुख राजनीतिक दलहरुले कस्तो सम्झौता गर्न खोजिरहेका छन्, त्यो मधेसी मोर्चाका लागि कौतुहलको विषय थियो।

मधेसमा अहिलेको आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामात्र छैन, त्यसैले आफूहरुले आन्दोलन रोके त्यसको फाइदा अर्कै समूहले उठाउने हो कि भन्नेमा पनि उनीहरु सशंकित छन्।

अर्कोतिर एक्कासी सरकार वार्तामा बढी नै गम्भीर देखिँदा उनीहरु थप सतर्क बन्न खोजे र वार्तामै बस्न गएनन्। शनिबारदेखि हुन लागेको मोर्चाका शीर्ष नेताको दिल्ली दौडाहाका लागि यही पृष्ठभूमिले काम गर्‍यो।

यसकारण बिथोलियो शुक्रबारको वार्ता

निर्णायक भनिएको  शुक्रबारको वार्ताको पृष्ठभूमिमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको दिल्ली यात्राले सरकारको 'कन्फिडेन्स' बढेको थियो। भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग थापाको भेटपछि दिल्ली सरकार र काठमाडौंबीच टुटेको कनेक्सन टेलिफोनले जोडिसकेको थियो।

दिल्लीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको सोझो कनेक्सन स्थापित हुँदा सरकार वार्ता सफल हुनेमा निर्धक्क देखिएको थियो। आज वार्ताका लागि मिति तय गरेर प्रधानमन्त्रीले आज बिहान १० बजे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर वार्ताका लागि निम्तो दिए। तर, उनीहरुबीचको संवाद वार्ताका लागि सकारात्मक संदेश दिने खालको थिएन।

बिहानै तय थियो  वार्ता हुँदैन

वार्ताका लागि निम्त्याउँदै ओलीले फोन गरेका थिए यादवलाई। अनौपचारिक रुपमा सोधखोजपछि उपेन्द्र यादवले प्रश्न तेर्स्याए, 'वार्ता जहिले भन्ने त्यही बेला गोली चलाउने ?'

उनको प्रश्नपछि प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, कहाँ के भयो र?

यादवले दलका कार्यकर्तालाई गरेको ब्रिफ अनुसार त्यसको प्रत्युत्तरमा उपेन्द्रले सर्लाहीमा अघिल्लो दिन प्रहरीले गोली र टियर ग्यास हानेको कुरा उप्काए। प्रत्युत्तरमा ओलीले भने, 'हो र। यसबारे त थाहै भएन।'

प्रधानमन्त्रीको अनभिज्ञताले आक्रोशित भएका उपेन्द्रले पनि चर्कै कुरा गरे, 'एकातिर वार्ताका लागि हदै लचक छौं भनेर हल्ला गर्ने अर्कातिर दमन। कसरी हुन्छ वार्ता? कमल थापा दिल्लीबाट मख्ख परेर आएरमात्र हुँदैन।'

प्रधानमन्त्री ओली र आन्दोलनको नेतृत्व गर्नेमध्येका शीर्ष नेता यादवबीच बिहान भएको कुराकानी नमिठो मोडमा टुंगिए पनि वार्ताका लागि हदै लचिलो हुने विषयले दिनभरि नै मिडिया तातिरह्यो। तर वार्ता बिथोल्न अघिल्लो दिनको घटना काफी भइसकेको थियो। उपेन्द्र यादवले सर्लाहीको घटनालाई लिएर टेलिभिजनमा प्रतिक्रिया दिएका थिए, 'फौजी समाधान खोज्ने कि राजनीतिक? यसमा उहाँ (सरकार)हरु अलमलमा हुनुहुन्छ।'

नियमित आकस्मिकता

आन्दोलनरत मधेसी मोर्चा र सरकारसहित प्रमुख राजनीतिक दलबीच जब निर्णायक वार्ता हुने तय हुन्छ तब-तब वार्ताको वातावरण नै विथोलिनेगरी हिंसात्मक गतिविधि हुन्छ। पछिल्लो समय मधेसमा जारी आन्दोलन र वार्तालाई बिथोल्न यस्ता घटनाले उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएका छन्। आज हुने भनेको मधेसी मोर्चा र प्रमुख दलबीचको वार्ताको अघिल्लो दिन पनि भयो यस्तै जसले वार्ता सफल त के त्यसको न्यूनतम वातावरणसमेत बनाउन सकेन।

सर्लाहीमा भयो के?

यसपटक वार्ता बिथोल्न मधेस विद्रोहमा मधेस आन्दोलनको पुरानै 'शत्रु' चुरे भावर एकता परिषद्कै अर्को रुपले काम गर्‍यो। मधेसी मोर्चा दलका नेताले सरकारी संरक्षणमा चुरे भावरका कार्यकर्ता आफूविरुद्ध उत्रिएको दावी गर्‍यो भने राजमार्गमा जनता स्वस्फूर्त उत्रिएको दावी चुरेभावरले गर्‍यो।

जसले जे भने पनि वार्ताको अघिल्लो दिन सर्लाहीमा आयोजना गरिएको मधेसीको सभा बिथोल्ने काम भयो। कार्यक्रम बिथोल्ने समूहले मोर्चाका कार्यकर्ताका मोटरसाइल जलाए तर सुरक्षा निकायले मधेस आन्दोलनकारीविरुद्ध निस्किएको समूहको प्रतिकार गरेन।

चुरेभावरका कार्यकर्ताका कारण मधेसी मोर्चाको कार्यक्रम बिथोलिएन मात्र, त्यही घटनालाई नियन्त्रणमा लिन प्रहरीले गोली र टियर ग्यासको प्रयोग गर्‍यो। त्यसक्रममा मोर्चाका कार्यकर्ता घाइते भए।

‘नवलपुरमा आयोजित विरोध सभामा प्रहरीले गोली चलाउँदा दर्जनौं आन्दोलनकारी गम्भीर घाइते भएका छन्। प्रहरीको गोली लागेर ६ जनाको अवस्था चिन्ताजनक रहेको छ। संयमताका साथ आमसभा चलिरहँदा प्रहरीले सयौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै करिब ५० राउण्ड गोली हानी आन्दोलनमा दमन गर्ने दुष्प्रयास गरेको छ,’ संघीय समाजवादी फोरमले वक्तव्यमार्फत् भनेको छ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली हानेर दमन गर्ने र सामाजिक सद्भाव बिगारेर आन्दोलनलाई बद्नाम गरी त्यसलाई कमजोर बनाउन सरकारले खोजेको संघीय फोरमको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell