PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

लालबाबु राउत सोध्छन्- प्रचण्ड जान हुने, कमल थापा जान हुने, मधेसका कोही नेता दिल्ली जानै नहुने?



  • रमेश वाग्ले/पहिलोपोस्ट-
​काठमाडौँ : शुक्रबारको प्रधानमन्त्रीद्वारा घोषित वार्तामा आन्दोलनरत मधेसी मोर्चाका कोही पनि उपस्थित नभएलगत्तै मधेसी मोर्चाका नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्ली जाने समाचार सार्वजनिक भएपछि आएका तीखा प्रतिक्रियाहरुलाई संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतले जवाफ फर्काएका छन्। 

'तपाईँहरु मधेसको आन्दोलनलाई सेबोटाज गर्न खोज्दै हुनुहुन्छ', उनले पहिलोपोस्टसित भने, 'प्रचण्ड जान हुने, कमल थापा गएर बिन्ति बिसाएर आउन हुने, मधेसका कुनै नेता दिल्ली जानै नहुने?'

मधेसको आन्दोलन अधिकारका लागि भएकोमा जोड दिँदै उनले थपे, 'तपाईँ लेखेर राख्नुस्, मधेसको माग पूरा नगरी मोदीसँग वार्ता गरे पनि, बाराक ओबामासित वार्ता गरे पनि आन्दोलन रोकिनेवाला छैन।'

मोर्चाले आन्दोलन रोके मोर्चा असफल भई अरुले आन्दोलनको नेतृत्व लिन सक्ने र अधिकारका लागि भइरहेको यो आन्दोलन देश टुक्राउने आन्दोलनका रुपमा अघि बढ्न सक्ने खतरा रहेकोतर्फ उनले सचेत गराए। 

संसदमा धेरै सिट (३५) को प्रतिनिधित्व गर्ने चार दल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित ५ सांसदमात्र रहेको अर्को मोर्चा पनि छ। त्यसमा जयप्रकाश गुप्ताको तराई मधेस राष्ट्रिय अभियान, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक रहेका छन्। त्यस्तै मधेसमा व्याप्त असन्तुष्टिलाई सिके राउत समूहले पृथकतावादी धारतर्फ मोड्ने प्रयास पनि गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell