
- पहिलोपोस्ट-
नाम उल्लेख नगर्ने शर्तमा मोर्चा निकट स्रोतले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव शनिबार दिल्ली जाँदैछन्।
'कति बजे जाने भन्ने टुङ्गो लागिसकेको छैन', स्रोत भन्छ, 'फ्लाइट समयले निर्धारण गर्ने कुरा हो।'
शनिबार दिल्लीका लागि एयर इन्डियाको पहिलो फ्लाइट बिहान ११:३५ र दोस्रो फ्लाइट दिउँसो ४:०५ मा छ।
किन जाँदैछन् दिल्ली ?
सामान्यतया भारतको विदेश नीतिबारे त्यहाँको सत्तारुढ दल र प्रतिपक्ष एक हुने गर्छन्। तर यस पटक प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति फेल भएको भन्दै तीखो आलोचना सुरु गरेका छन्।नेपाल मामिलामा बिहीबार संसदको राज्यसभामा सार्वजनिक महत्वको विषय भन्दै ध्यानाकर्षण प्रस्तावमा छलफल समेत हुने तयारी थियो। तर सत्तापक्षले चलाखिपूर्ण तरिकाले त्यसलाई सोमबारसम्म सार्न सफल भयो।
ध्यानाकर्षण प्रस्तावमा नेपालमा मोदीले ढिला विशेष दूत पठाएको भन्दै आलोचनासमेत गरिएको थियो। प्रस्ताव राख्ने जनता दल युनाइटेडका सांसद पवनकुमार वर्माले प्रश्न राख्दाराख्दै समय नपुग्ने भन्दै त्यसलाई 'सर्ट ड्युरेसन डिस्कसन' मा परिवर्तन हुने गरी अर्को बैठकमा छलफल हुने तोकिएको थियो। त्यस अनुसार नेपाल मामिला सोमबारको बैठकको बिजनेस बन्न पुगेको छ।
ध्यानाकर्षण प्रस्तावकै जवाफ दिने क्रममा भारतीय विदेश मन्त्री सुषमा स्वराजले दर्ता गरेको लिखित वक्तव्यमा भारतको विदेश नीति एक छ भन्ने सन्देश दिनका लागि नेपालमा सर्वदलीय भ्रमणको समेत प्रस्ताव राखिएको थियो।
मोदी आफ्नो विदेश नीति फेल नभएको र भारतीय मूलका नेपालीहरुमाथि साँच्चै नै अन्याय भएकोले आफ्नो तर्फबाट नेपालमा यस्ता घटना गराएको देखाउन चाहन्छन्। त्यसैका लागि मधेसी मोर्चाका शीर्ष नेतालाई दिल्ली डाकिएको हुनसक्छ।
भारतले लगातार नाकाबन्दी नगरेको बताउँदै आएका बेला मधेसी मोर्चाका नेताहरुले पनि नाकाबन्दी हामीले गरेका हौँ भनी त्यहाँ बताइदिए मोदीलाई थप सजिलो बनाउन सक्छ।