PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गणेश थापालाई १० वर्ष निलम्बन किन? फिफाले दियो ६ कारण



  • पहिलोपोस्ट -
काठमाडौँ : अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) को आचार स‌ंहितासम्बन्धी कमिटीले १० वर्षका लागि प्रतिबन्ध लगाएको छ। निर्वाचनका बेला नगद घुस लिएको आरोपमा थापालाई झण्डै २१ लाख रुपैयाँ (१९ हजार ८७० अमेरिकी डलर) जरिवाना पनि तिर्न लगाइएको छ। 

दुई दशक नेपाली फुटबल जगतमा राज गरेका एन्फा अध्यक्ष थापा वर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाका भाइ* तथा राप्रपा नेपालका सांसद् हुन्। 

फिफाले किन उठायो त यस्तो कडा कदम? फिफाद्वारा जारी विज्ञप्ति अनुसार थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुने गरी घुस लिएको आचरण कमिटीले ठहर गरेको छ। उनले मूलतः फिफाको आचार संहिताका छ वटा धारा उल्लङ्घन गरेको ठहर अनुसन्धानले गरेको छ-
  • दफा १३ (आचरणसम्बन्धी सामान्य नियमहरु) - यसमा आफ्नो पदको दुरुपयोग गरी निजी वा अन्य फाइदा लिन नहुने उल्लेख छ।
  • दफा १५ (निष्ठापूर्ण आचरण) 
  • दफा १८ (खुलासा, सहयोग र रिपोर्टिङको जिम्मेवारी) - यसमा आचरण समितिलाई यो आचार स‌ंहिताविपरीतका घटनाबारे जानकारी दिनुपर्ने उल्लेख छ। 
  • दफा १९ (स्वार्थ बाझिनु- कन्फ्लिक्ट्स अफ इन्ट्रेस्ट)
  • दफा २० (उपहार र अन्य सुविधा प्रस्ताव गर्नु र स्वीकार गर्नु) - यसमा आफ्नो परिवारका सदस्यको खर्च फिफाबाट लिन नहुने उल्लेख छ। थापाले आफ्नी पत्नी र छोरालाई हवाई टिकट लगायतका सुविधा लिएको समाचार यसअघि आएको थियो।
  • दफा २१ (घुस र भ्रष्टाचार) 

थापा भन्छन्- धेरै निराश छु

एन्फा अध्यक्ष गणेश थापाले आफू धेरै निराश भएको प्रतिक्रिया दिएका छन्।

आज जारी मिडिया रिलिजमा उनले भनेका छन्, ‘मलाई फिफा आचरण समितिले १० वर्ष फुटबलमा प्रतिबन्ध लगाउने निर्णयबारे आज बिहान जानकारी गरायो। म धेरै निराश छु र ममाथि न्याय नभएको विश्वास छ।‘     

उनले आफूले विगत चार वर्षदेखि फिफाको अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको भन्दै यो निर्णय गर्नुको पूर्ण कारण माग गर्ने बताएका छन्।
कारण आइसकेपछि मात्रै आफूले आफ्नो निर्दोषिता प्रमाणित गर्न आवश्यक कदम चाल्ने बताए।

आफ्नो अपील पेन्डिङमा रहेकोले थप कुनै प्रतिक्रिया नदिने पनि उनले बताए। 

अख्तियारले अनुसन्धान अगाडि बढाएको थिएन

यसअघि नेपालको सं‌सदीय सार्वजनिक लेखा समितिले थापाले अनियमितता गरेको ठहर गरेको थियो। तर थप अनुसन्धानका लागि सिफारिश गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने थापा विरुद्धको मुद्दामा थप प्रमाण फेला नपरेसम्म अनुसन्धान अगाडि नबढाउने निर्णय गरेको थियो। 

लेखा समितिले अनियमितताको ठहर गर्दागर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति भन्दै मन्त्रिपरिषद्ले नियुक्त गर्ने २६ सभासद्को कोटामा भाइ गणेश थापालाई नियुक्त गरेका थिए। 

यसअघि संसदीय लेखा समितिले आफूलाई निलम्बन गर्ने निर्णय गरेको प्रतिक्रियामा एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्ष समेत रहेका थापाले अन्तर्राष्ट्रिय सहयोग लिने धम्की दिएका थिए। उनले विश्व फुटबल महासंघ (फिफा) ले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। त्यस्तै फुटबल कप्तानहरुलाई आफ्नो पक्षमा डेलिगेसन पठाएका थिए। 

अनुसन्धानकै क्रममा उनी यसअघि ३ महिना फुटबलसँग सम्बन्धित गतिविधिबाट अलग रही पछि फेरि एन्फा अध्यक्ष पदमा फर्किएका थिए। 
 

लेखा समितिले के के मा ठहर गरेको थियो अनियमितता?

करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो। थप अनुसन्धान र छानबिन गर्न समितिले उठाएका विषय-
  • गणेश थापाका छोरा गौरव थापाले एएफसी अध्यक्षबाट लिएको एक लाख डलर
  • गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
  • नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
  • एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
  • खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
  • साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
  • गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतकाे रकम आयमा समावेश नभएको
  • भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
  • सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
  • एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
  • विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरीद गरेको
  • पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
  • विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
  • अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
  • एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell