PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

Exclusive विखण्डनका लागि मधेसका युवामा बारुद भर्दै सिके राउत, खुल्लमखुल्ला सैन्य शैलीको अभ्यास



Exclusive विखण्डनका लागि मधेसका युवामा बारुद भर्दै सिके राउत, खुल्लमखुल्ला सैन्य शैलीको अभ्यास

तराई मधेस बन्द भएको चार महिना नाघिसक्दा पनि मधेसका लोकतान्त्रिक शक्तिहरुसँगको वार्ता सफल नहुँदा विखण्डनकारी शक्तिको दबदबा बढ्दै जाने सम्भावना देखिएको छ। तराई मधेसको विभिन्न जिल्लामा झण्डै एक महिनादेखि ‘नेपाल’ देश टुक्र्याएर ‘मधेस देश’ निर्माण गर्न तालिम सुरु भएको छ। पहिलोपोस्टका लागि सुभक महतोले तालिम भइरहेको स्थानमा गएर भिडियो र फोटोसहित तयार पारेको यो एक्सक्लुसिभ रिपोर्ट : 
 
 

  • सुभक महतो -
यो हो पूर्व–पश्चिम राजमार्ग अन्तगर्त सिराहाको लाहानको मुख्य चोक। लाहान चोकको नाम अहिले फेरिएर सहिदचोक पनि भनिन्छ। सहिद चोकदेखि ठीक उत्तरतिर दुई नम्बर सडकमा छ पशुपति आदर्श उच्च माध्यमिक विद्यालय। यहाँबाट करिब ३ सय मिटर दुरीमा इलाका प्रहरी कार्यालय र तीन किलोमिटर दुरीमा सशस्त्रकको व्यारेक पनि छ। राजमार्गसँगै रहेको र सुरक्षा निकाय नजिकै भए पनि यहाँ अनौठो दृष्य देखिन्छ : सैन्यशैलीको अभ्यास।
 
·         लाहनको सहिदचोकबाटै एक किलोमिटर पूर्वतिर लाग्ने हो भने अर्को उच्च माध्यामिक विद्यालय पुगिन्छ – लक्ष्मण ललिता कुशवाह उच्च मावि। राजमार्गको दक्षिणी भेगमा रहेको यो विद्यालय परिसरमा पनि उस्तैखाले दृष्य देखिन्छ – सैन्यशैलीको मार्चपास।
 

यी दुवै तालिम भइरहेका ठाउँमा ५० जनाभन्दा बढी युवा प्रशिक्षकलाई पछ्याउँदै अभ्यास गरिरहेका छन्। दुवै विद्यालयका परिसरमा हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म हुने अभ्यास विद्यालयको स्काउट वा कुनै प्राकृतिक प्रकोपमा जुध्ने शक्ति बनाउनका लागि भइरहेको भने होइन। यो तालिम हो बेग्लै देश निर्माणको। यी ठाउँमा ‘छुट्टै देश’का लागि यहाँ ‘स्वयंसेवक दस्ता’ बनाउन युवालाई तयार गरिँदैछ। उनीहरुको भाषामा तालिम ‘युवा दस्ता’ निर्माण गर्नका लागि भइरहेको हो। 'हामी ‘मधेस देश’ बनाउन युवाहरुलाई ‘मार्सल आर्ट’को तालिम दिन्छौं। अबको युद्ध वारपारको हुनेछ,' स्वतन्त्र मधेस गठबन्धनका नेता विष्णु चौधरीले प्रष्ट शब्दमा भने।
 
सिराहाका यी दुई स्कुल परिसरभित्र देखिएका दृष्यहरु पछिल्लो समय मधेसमा सुरु भएको 'विखण्डनको अभ्यास'का नमुनामात्र हुन् – जुन खुलेआम चलिरहेका छन्। सतहमा देखिएका यी दृश्य बाहेक छिमेकी जिल्ला सप्तरी, धनुषा, पर्सामा पनि यस्ता अभ्यास भूमिगत रुपमा सञ्चालित छन्। यस्ता अभ्यासमा खुला रुपमा नेपालबाट मधेसका विभिन्न जिल्लालाई जसरी भए पनि छुट्याएर छुट्टै  देश ‘मधेस’ बनाउनुपर्छ भन्दै सहभागी युवाभित्र विखण्डनको बारुद भरिँदैछ।
 
….
मधेसमा आन्दोलन सुरु भएको चार महिना नाघिसक्यो। सीमाङ्कनसहितको संघीयतालाई मुल मुद्दा बनाएर मधेसबाट राजनीति गर्ने दलहरु सक्रिय छन् आन्दोलनमा। आन्दोलनलाई अवतरण गराउने चाहना हुँदाहुँदै पनि अधिकांश मधेसवादी दलका नेता मधेसको शक्ति आफ्नो 'ग्रिप'बाट बाहिर जाने त्रासमा छन्। त्यो त्रासलाई मलजल गरेको छ – यस्तै अभ्यासले जसको नेतृत्व गरिरहेका छन् डाक्टर सीके राउत।
 
सिके राउतको नेतृत्वमा सुरु भएको 'युवा दस्ता' निर्माणले यतिखेर मधेसमा अभियानकै रुप लिन थालेको छ। भूमिगत र खुलमखुला नै विखण्डनको बारुद भर्ने अभियान जारी रहँदा प्रशासन भने अनौठो रुपमा मौन देखिएको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले भने, ‘लाहानमा त्यस्तो तालिम सञ्चालन भएको हामीलाई जानकारी छैन।'
 
प्रमुख जिल्ला अधिकारी विश्वकर्माले लाहानमा तालिम नभइरहेको बताउँदा हामीले तालिमका दृष्यहरु कैद गरिसकेका थियौं। तालिममात्र होइन राजमार्गमा खुलमखुला मुलुक विखण्डनका नारा र जुलुस निस्किरहेका छन्। लाहानमै र्‍याली निकाल्दाका दृष्यले त्यसको बयान गरिरहेको थियो।
 
स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता राजमार्ग नजिकै 'फ्रि मधेस' लेखिएका झण्डा बनाइरहेको भेटिएपछि एक युवक प्रमोद यादवलाई सोध्यौं, ‘यो झण्डा किन बनाउन लागेको?'
 
उनले भने, ‘यो मधेस देशको झण्डा हो। अहिलेको संविधानमा सरकारले मधेसीलाई केही अधिकार दिएको छैन, अब हामी यो देशमा बस्दैनौं। छुट्टै देशको लागि लड्नु पर्छ।' युद्ध अभ्यासपछि उनका अभिव्यक्ति आएको प्रस्ट झल्कन्थ्यो। ‘यदि प्रहरीले हामीलाई कार्यक्रम र तालिम गर्न दिएन भने हामी त्यसको पनि प्रतिकार गर्छौ।' उनले मधेसका युवाहरु सरकार र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता कुरेर बसेको सुनाए। 'मधेसको माग सरकारले सम्बोधन गरेन भने वार्तापछि धेरै युवा हाम्रो संगठनमा हुनेछन्।'
 

मधेस देशका लागि तालिम : विष्णु चौधरी

यो कस्तो तालिम हो ?
यो हाम्रो ‘स्वयंसेवक तालिम’ अर्थात् ‘मधेसी युवा दस्ता’ निर्माण गर्ने तालिम हो।
 
यसको काम चाहिँ के हो?
हाहाहा...(हाँस्दै) ‘स्वयंसेवक’ अर्थात् ‘युवा दस्ता’को काम के हुन्छ? डाक्टर साप (सीके राउत)लाई सुरक्षाकर्मीले कार्यक्रम गर्न दिएको छैन, त्यही भएर हामी सुरक्षित तरिकाबाट कार्यक्रम गर्न युवा दस्ता बनाउँदैछौं।
 
किन दस्ता चाहियो?
हामी ‘मधेस देश’ बनाउन युवाहरुलाई ‘मार्सल आर्ट’को तालिम दिन्छौं। हाम्रो सबै कार्यक्रम शान्तिपूर्ण हुन्छ। सशस्त्र आन्दोलनबाट मधेसलाई अर्को देश बनाउन सक्दैनौं हामी। त्यही भएर युवा दस्ता निर्माण गरेर शान्तिपूर्ण तरिकाबाट छुट्टै देशको आन्दोलन अघि बढाएका छौं।
 
हाम्रो एजेण्डा सबैलाई थाहा भएकै कुरा हो। यसमा लुकाउनु पर्ने केही कुरा छैन। हामीले मधेसीको अधिकार खोजेको हो तर सरकारले नयाँ संविधानमा पनि दिएन। अब हामी पर्खेर बस्दैनौं। हामी युवा दस्ता बनाउँदैछौं। अन्य मधेसका जिल्लाहरुमा पनि यस्ता तालिम भइरहेको छ। हाम्रो अबको लडाई वारपारको हुन्छ।
 
मधेसी जनता त नेपालबाट छुट्टिन चाहेका छैनन् नि?
त्यो कुरा पहिले थियो तर अहिले त्यस्तो छैन। हामीलाई मधेसीले साथ दिएको छ। हामी अर्को देश बनाएर छाड्छौँ। त्यो कुरा समयले बताउँछ।

….
मधेस आन्दोलनमाथि पहिलोपोस्टले ग्राउन्ड जिरो रिपोर्ट गर्दा आन्दोलनमा रहेका युवाहरुले प्रश्न गरेका थिए, 'के सरकार मुलुक टुक्र्याउन खोज्ने सीके राउतको पक्षमा हो?'
 
मधेसका बुद्धिजीवी तथा सफ्टटेक कलेजका प्रमुख डा. महादेव साहले पनि यसमा शंका व्यक्त गरे। उनले मधेसमा जारी आन्दोलनको मुद्दा कमजोर पार्न यस्ता तालिम भइरहेको हुनसक्ने बताए। ‘मधेसका जनता छुट्टै देशको पक्षमा छैनन्,’ उनले भने, ‘राउतले अहिले जे गरिरहेका छन्, त्यसले समग्र मधेसको माग नै देश टुक्राउने हो भन्ने आरोप लगाउनेलाई बल दिने काम गर्छ।‘
 
उनको विश्लेषणअनुसार मधेस आन्दोलनले कुनै मोड नलिँदा मधेसमा अहिले सबैभन्दा धेरै क्रान्तिकारिता बिकिरहेको छ। जसले क्रान्तिकारी भाषण गर्‍यो,मानिसहरु त्यतै तानिएको उनको बुझाई छ।
 
‘मधेस नेपालबाट कुनै पनि हालतमा अलग देश हुन सक्दैन र त्यसको पक्षमा मधेसका नागरिक छैनन्। मधेसको माग र राउतको कुरा कुनै पनि हालतमा मेल खाँदैन,‘ उनले भने।
 
मधेसमा प्रतीकात्मक रुपमा सीके राउतका कार्यकर्ताले जनमत संग्रह गराउँदै हिडेका छन्। प्रमुख जिल्ला अधिकारी विश्वकर्मा यसबारे भने जानकार भेटिए।' शनिबारमात्र कल्याणपुर र सन्हैठामा जनमत संग्रह गरेको सूचना आएको छ,' उनले भने, 'त्यसलाई गम्भीरतापूर्वक लिएर माथि रिपोर्ट गरिसकेको छु।'
 
विखण्डनका बारुद भरिने क्रम अहिले पनि जारी छ। विखण्डनका नाराका लागि मधेस सधैं उर्बर भूमि पनि बन्दै आएको छ। हतियारको शक्तिबाट परिवर्तन चाहने तत्कालीन माओवादीबाट अलग्गिएर मधेसमा अलग्गै संगठन बनाएका जयकृष्ण गोइतले पनि विखण्डनकै दुष्प्रयास गरेका थिए। त्यतिबेला मधेसका नागरिकले गोइतलाई साथ दिएनन्। आन्दोलन त्यत्तिकै तुहियो। त्यसपछि यही बाटो अंगाल्दै आधा दर्जन बढीले हतियारसहितको विद्रोहको घोषणा गरे तर उनीहरुको माग अलग देशको थिएन।
….

को हुन् सिके राउत?

​सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) को स्थापना गर्‍यो। त्यतिबेलादेखि नै उनी मधेसलाई नेपालबाट अलग गर्नुपर्ने घोषित अभियानमा लागेका हुन्। यसबारे थप जानकारी यहाँ क्लिक गरी पढ्नुस्। 

गएको वर्ष भदौमा उनलाई प्रहरीले पक्रेर राज्यविप्लवको मुद्दा चलाएको थियो। उनलाई बढी चर्चामा ल्याउने काम यहीँबाट सुरु भएको थियो। खुल्लमखुल्ला देश टुक्राउने अभियानमा लागे पनि विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्धय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासमा उनले आफ्नो पुस्तक र वेबसाइटमा लेखिएका विषयलाई पनि लेखेको होइन भनी झुटो बयान दिएर उम्किएका थिए। उनले अदालतमा दिएको बयान यहाँ क्लिक गरी पढ्नुस्।  

यतिखेर मधेसको मुद्दालाई लिएर राजधानी काठमाडौंमा दलहरु वार्तामा छन्। मध्यमार्गी बाटोबाट समस्या समाधान गर्ने पहल शीर्ष तीन दलले गर्ने सहमति पनि बनेको छ। मधेसका जायज मुद्दालाई स्वीकार्ने हो भने मध्यमार्गबाट नै समस्याको हल निकाल्न सकिने छ। जारी मधेस आन्दोलनको सीके राउतको यो सैन्य अभ्याससँग कुनै नाता छैन तर जायज मागलाई इन्कार गर्ने हो भने विखण्डनको नारा दिनेतिरै युवाहरु तानिन सक्ने सम्भावना उत्तिकै छ। सीके राउतलाई मधेस मुद्दा ओझेल पार्नकै लागि परिचालन गरिएको होइन भने फरक विषय होला अन्यथा, आफ्नै नाकमुनि भइरहेका यस्ता सैन्य गतिविधिमाथि सरकार किन आँखा चिम्लिरहन्छ?  

(साथमा सन्तोष यादव)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell