PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुन्दर अनुहारको आडमा मौलाउँदो अपराध: रुपमै लट्ठ परेर लुटिन्छन् पुरुषहरु



सविन ढकाल

सुन्दर अनुहारको आडमा मौलाउँदो अपराध: रुपमै लट्ठ परेर लुटिन्छन् पुरुषहरु

काठमाडौं: हरिबहादुर कार्की फेसबुक चलाइरहेका थिए। एक्कासी नचिनेको फेसबुक आइडिबाट साथी बन्ने रिक्वेस्ट आयो। फेसबुक नोटिफिकेसनमा देखिएको साथी बन्ने रिक्वेस्ट पठाउने एक सुन्दर युवती थिइन्। नाम थियो संगिता बस्नेत।

दोलखा सैलुङ घर भएका हरिबहादुर नेपाली सेनामा जागिरे थिए। अविवाहित पुरुष। उनले तुरुन्तै स्विकार गरे। साथी बन्ने अनुरोध स्विकारेको एकैछिनमा कार्कीलाई संगिताले हेलो भन्दै म्यासेज गरिन्। हेलोबाट शुरु भएको फेसबुक संवाद सञ्चो बिसञ्चोमा मात्रै टुंगिएन।

फेसबुकले जोडिएको सम्बन्ध बाक्लिँदै गयो। दुईजना बीचको सम्बन्ध प्रेम सम्बन्धमै पुग्यो फेसबुकमार्फत् नै। फेसबुकको च्याटमै उनीहरु बिहे गर्नेसम्ममा पुगे। बिहेको टुंगोमा पुगिसकेको सम्बन्ध फेसबुक बाहिर थिएन।

बिहे गर्न तयार हरिबहादुरले संगितालाई भेट्न पाएका थिएनन्। फेरि एकदिन उनलाई अर्को नयाँ फेसबुक आइडीबाट रिक्वेस्ट आयो। यो पनि युवतीको नै थियो। यो अनुरोध पनि उनले सहजै स्विकार गरे। यी नयाँ युवतीसँग हरिको हेलो, हाई, माया प्रेम, केही कुरा चलेन। युवतीले आफू संगितालाई चिन्ने र संगिता राम्रो केटी भएको जानकारी थियो।

तर भर्खरै फेसबुकमा साथी बनेर जोडिएकी ती युवतीको कुराले भने हरिलाई पिडा दिएको थियो। उनको च्याटबक्समा संगिताको ‘ओपन हार्ट सर्जरी’ गर्नु परेकाले अस्पतालमा भर्ना भएको जानकारी थियो। संगिताको सर्जरीकोलागि साढे चार लाख रुपैयाँ भन्दाबढी रकम लाग्ने लेखिएको थियो।

साथीबाट जिवनसाथी बनाउने सपना देखेका हरिले संगिताको उपचार खर्च ब्यहोर्ने सोच बनाए। उनी पैसा लिएर अस्पताल भेट्न गए। तर डाक्टरले संगितालाई अरु मान्छेसँग भेट्न अनुमति नदिनु भनेको भन्दै संगितासँग भेट गर्न दिइनन् उनलाई। जुन युवतीले फेसबुकमा बिरामी भएको जानकारी दिएकी थिइन्, तिनै युवतीलाई पैसा दिएर हरि फर्किए।

उनले एकपटक पनि नभेटेकी युवतीको उपचारको लागि पटकपटक गरेर साढे चार लाख रुपैयाँ बुझाए। एकदिन हरिलाई महानगरीय अपराध महाशाखाले फोन गरेर बोलायो। मनमा अनेक तर्कना गर्दै उनी पुगे प्रहरीकोमा। प्रहरीकोमा पुगेपछि हरि छागाँबाट खसे झै भए। हरिले आफ्नी प्रेमिका भनेर फेसबुकमा कुरा गरेकी युवतीको फोटो संगिताको थिएन।

अनि हरिका सामु पर्दाफास भयो अर्को रहस्यमय घटनाको। संगिता भनेकी २३ वर्षीय कल्पना बस्नेत भुजेल रहिछन्। उनले आफ्नो गाँउकी युवतीको फोटो फेसबुकमा हालेर हरिलाई ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

आफ्नो फोटो दुरुपयोग भयो भनेर अर्की युवतीले प्रहरीमा उजुरी दिएपछि नक्कली संगिताको ठगी धन्दाको पर्दाफास भएको छ। प्रहरीले संगिता भन्ने कल्पनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पुरुष स्वभावैले महिलाप्रति आकर्षित हुने भएकाले चाडै नै महिलाको जालमा पर्ने भएकाले ठगिने गरेको महाशाखाका एसएसपी सहकुल थापा बताउँछन्। ‘ पुरुषको स्वभाविक रुपमा महिलाप्रति झुकाव हुन्छ,’ थापा भन्छन्, ‘त्यसैले युवतीको बारेमा बिना जानकारी नै नजिकिने भएकाले ठगिने गर्छन्।‘

सुन्दरता र सम्पतिमा लोभमा श्रीपालीको लाखौं रकम स्वाह

हरि मात्र होइन उनी जस्तै अरु पुरुषले पनि महिलाको रुपको जालमा लाखौं रुपैयाँ लुटाएको उजुरी प्रहरीमा भेटिन्छ।

गत शुक्रवार मात्र अपराध महाशाखाको टोलीले ठगी गरेको आरोपमा महोत्तरीको औरी नगरपालिका वडा नम्बर ३ घर भएकी २१ वर्षीया डायन सेकेन्डालाई नियन्त्रणमा लिएको थियो। उनले भारत महाराष्ट्र फलबर रेलनगर बस्दै आएका ३५ वर्षीय जैन श्रीपालीबाट २३ लाख रुपैयाँ ठगी गरेकी थिइन्।

फेसबुकबाट चिनजान भएका श्रीपालीले सिंगापुरे बताउने डायनाको रुप र सम्पति पाउने लोभमा ठगिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

डायनले बुबाकी एक्ली छोरी, विदेशमा अरबौँको सम्पत्ति भएको बताएपछि श्रीपाली लोभिए। सुन्दर युवती भएकाले विवाहसम्म गर्ने सपना देखेको श्रीपालीले प्रहरीलाई बताएका छन्।

उनीहरुले दुबई, भारत सँगै घुम्ने र बस्ने समेत गरेका थिए। गत शुक्रवार भने नेपाल आएर फर्किने क्रममा डायना २३ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्। उनी अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छिन्।

युवतीको सहयोगमा ‘ब्ल्याक मेलिङ’

युवती स्वयंले ठग्ने बाहेक पनि केही घटनामा युवतीको रुपको आडमा ब्ल्याक मेलिङ गर्ने गरेको समेत पाएको छ। फेसबुकमा नक्कली आइडी बनाएर व्यापारी तथा पैसा भएका व्यक्तिको पहिचान गरि ठगी गर्ने गरिएको प्रहरीमा परेका उजुरीमा देखिन्छ। गत असोजमा मात्र प्रहरीले यस्तो गतिविधि गर्ने एक युवतीलाई नियन्त्रणमा लिएको थियो।

पाँचथर हिलिहाङ गाउँपालिका वडा ४ की २५ वर्षीय इन्दिरा उप्रेती र गोरखा पालुङटार नगरपालिका वडा ८ का ३१ वर्षीय बद्रिनाथ लामिछानेलाई प्रहरीले ‘ब्ल्याकमेल’मा पक्राउ गरेको थियो।

व्यवसायीलाई फेसबुक म्यासेन्जरमा निशा अधिकारीको नामबाट फ्रेन्ड रिक्वेस्ट पठाई इन्दिराले व्यवसायीको मोबाइल नम्बर मागेर फोन गरी काम छ भन्दै आफिसमा भेट्न गएकी थिइन्। त्यसपछि उनले थाहा नपाउने गरी मोबाइलको भिडियो क्यामेरा अन गरेर सोफामा राखी व्यवसायीको छेउमा गई अंगालो मारी चुम्बनसमेत गरेको रेकर्ड गरिन्।

अफिसबाट फर्किएपछि केही दिनमा नै गणेश लामा बताउने व्यक्तिले इमोबाट फोन गरी आफूसँग युवतीसँगको भिडियो रहेको बताउँदै एक करोड रुपैयाँ माग गरे। एक करोड नदिए भिडियो यूट्युब र फेसबुकमा हालिदिने धम्की दिन थाले।

पीडित पक्ष प्रहरीमा आएर उजुरी दिएपछि उनीहरुको अपराध बाहिरिएको थियो।

विदेशी नागरिक समेत नेपाली युवती प्रयोग गरि अपराध गर्छन्

नेपाली युवतीलाई प्रयोग गरेर विदेशी नागरिकले समेत नेपाल भित्र ठगी गर्ने गरेका छन्। काभ्रेकी कुसुम कायस्थलाई अफ्रिका आइभरीकोस्टका ओतुटाले विवाह नै गरेर ठगी धन्दामा प्रयोग गरेका थिए। ओतुटा फेसबुकमा भेटिएकी कुसमसँग विवाह गर्न नेपाल आएका थिए।

त्यसपछि उनीहरुको ठगी धन्दा शुरु भएको थियो। उनीहरुले पेप्सिकोलामा फ्ल्याट भाडा लिएर बस्दै आएका थिए। महिलाप्रति विश्वास हुने र उनीहरुले गतिलो काम गर्न सक्दैनन् भन्ने पुरुष मानसिकता भएकाले पनि महिलाले सहजै ठगी गर्न सक्ने एसएसपी थापाको बुझाइ छ।

पछिल्लो समय सामाजिक संजालको प्रयोग गरेर हुने अपराध बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell