PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किलागलको थोत्रो घरबाट हराएका किशोर कसरी एकाएक बने 'नेपाली साइबाबा'?

किलागलको थोत्रो घरबाट हराएका किशोर कसरी एकाएक बने 'नेपाली साइबाबा'?

पहिलोपोस्ट /पहिलोपोस्ट


  • स्वेच्छा राउत -

इन्द्रचोक नजिकै किलागलका १४ वर्षीय सञ्जय कपाली एकाएक टोलबाट हराए। टोलमा बारम्बार दौडिरहने किशोर नदेखेपछि टोलबासीको चासो बढेको थियो। यो विक्रम संवत् २०५९ सालको  कुरा हो। 

सञ्जयका बुबा सन्तोष किलागलमै टेलर सञ्चालन गर्थे। सन्तोष दिनभर कपडा सिलाउँथे। आमा मैँयादेवी उनलाई काममा सघाउँथिन्। निम्न आर्थिक परिवारका सन्तोषका छोरा हराएपछि टोलबासीमा चासो बढ्यो।

सन्तोषकै घरपछाडि भारत बिहारका मिथुन ठाकुरको कपाल काट्ने पसल थियो। एकदिन मिथुनले मैँयालाई सोधे – भाभी, आजकल सञ्जय बाबु देखिनुहुन्न नि?

मैँया छोरा सञ्जयलाई कपाल काट्न मिथुनकै पसलमा लैजान्थिन्। किशोराअवस्थामा प्रवेश गरेसँगै सञ्जय आफै बेला बेला मिथुनको पसलमा जान्थे। जुल्फी मिलाउँथे। 

'इण्डिया गएको छ। साईबाबाको आश्रममा,'  मिथुनले मैँयाबाट पाएको जवाफ उनलाई अझै याद छ। 

केही महिनापछि सम्म पनि सञ्जय टोलमा देखिएनन्। 

२०६० सालमा सञ्जय काठमाडौं फर्किए। तर उनको कुनै चर्चा भएन। 

दुई वर्षपछि एक दिन टोलकै कपाल काट्न आएका मान्छेले मिथुनलाई सुनाए – सञ्जय त भगवान् भयो। 

सुरुमा त मिथुनलाई पत्यार लागेन। तर, जब सञ्जयका बुवा सन्तोषले नै उनलाई सञ्जय साईबाबाको अवतारका रुपमा प्रकट भएको सुनाए, मिथुन तीनछक्क परे।  

बाबाहरु प्रति खासै विश्वास नलाग्ने मिथुनलाई घरसँगै साईबाबाको अवतार भएको विषयले खुल्दुली बढायो। उनले सन्तोषलाई सोधे – भैया, हामीले बाबालाई कहिले भेट्न पाउँछौँ? 

मिथुन प्राय: कैंची र छुरा चलाइरहेका हुन्थे पसलमा। सधैंजस्तै एकदिन ग्राहकको कपाल काटिरहेका थिए। अचानक सडकबाट हल्लाखल्ला मच्चियो। मान्छेको भिड लाग्यो। कौतुहलतासाथ सडकमा पुगे। 

कालो चिल्लो गाडीमा कालै सिसा। किलागलको साँघुरो गल्लीमा भिड छल्दै आएको गाडीबाट दुई व्यक्ति निस्किए। दुबैको लुगा उस्तै। वरपर भिडलाई पर सर्न भने। र, गाडी भित्र कसैलाई बाहिर निस्कन संकेत दिए। 

जब फिल्मी शैलीमा सञ्जय कपाली निस्किए, तब मिथुन छक्क परे। जिङ्रिङ्ग परेर फैलिएको कपाल, सुन्तला रङको लामो वस्त्र, हातमा सेतो रुमाल र सालिन मुद्रा। 

झट्ट हेर्दा भारतका सत्य साईबाबाजस्तो देखिए। तर, उनी त त्यही टोलमा हुर्किएका सञ्जय कपाली पो रहेछन्। पहिलोपटक गाडीमा स्वयंसेवकसहित आएका उनले एकपटक वरपर मान्छेको भिडलाई हेरे। र, सडकमै टाँसिएको दुई तले घर भित्र छिरे।  

आँखा अगाडि खेल्ने, सँगै आगो ताप्ने, आफूसँगै कपाल काट्ने, प्राय 'गुमसुम' बस्ने र समोसा भनेपछि हुरुक्कै हुने केटो भगवान पो भएर आएको थियो ! मिथुनलाई भेट्ने इच्छाले डोर्‍यायो। सरासर मूलढोका भित्र पस्न खोजे तर स्वयंसेवकले रोके। मिथुन फर्कने पक्षमा थिएनन्। आफू ढोकामा भएको खबर तिनै स्वयंसेवकमार्फत् पठाए र पर्खिए। केही बेरमै उनलाई रोक्ने स्वयंसेवकले नै भने, माथि जानुस्। 

गए। मुसुक्क हाँसेर मिथुनलाई स्वागत गर्ने सञ्जय थिए। सामान्य किशोरबाट 'भगवान' भइसकेका। आफ्नो अगाडि हुर्किएका सञ्जय सामु पहिलोपटक पर्दा 'नर्भस' भए। के बोल्ने, कसरी प्रस्तुत हुने सोच्दासोच्दै उनलाई सञ्जयले आफू छेउ आउन संकेत दिए। उनी गए र बाबाले आफ्नै हातमा उत्पति गरेको विभुति (खरानी) लगाइदिए। थोरै हत्केलामा पनि राखिदिए। त्यसपछि पुन: पसलमा फर्किएका उनले सञ्जयको गाडी कतिखेर फर्कियो पत्तो पाएनन्। 

सञ्जय घरमा बस्न छाडेको केही वर्ष भइसकेको थियो। उनका आमाबुवा पनि घरमा भएको टेलर बन्द गरेर बसाई सरिसकेका थिए। सन्तोष (सञ्जयका बुबा) कहिलेकाहीँ घर आउँदा मिथुनसँग भेट हुन्थ्यो। त्यस्तै भेटमा सन्तोष सोध्थे- बाबाको दर्शन गर्न नजाने मिथुन? 

बुद्धनगरमा भव्य आश्रम बनेको सुनेका थिए। हेर्न जान मन पनि थियो। तर, प्राय हेयर ड्रेसिङमै व्यस्त हुन्थे। सार्वजनिक बिदाका दिन झन् ग्राहकको भिड लाग्थ्यो। त्यसैले आश्रम हेर्न जाने समय मिलाउन सकिरहेका थिएनन्। सन्तोषले नै ल्याएर दिएको सञ्जय साईबाबाको फोटो पसलमा टाँसेका थिए। अरु भगवान, फूल र कलाकारको पोस्टरको बीचमा। भन्थे- 'अहिले यतैबाट दर्शन गरिरहेछु दाइ।' 

सञ्जयको आश्रममा भक्तको भिड लागेको कुरा सुन्थे। भक्तको भिडमा नेतादेखि मन्त्रीसम्म अनुहार देखिएको थाहा पाउँदा अचम्म मान्थे। आश्रममा हुने कार्यक्रमदेखि बाबाले सञ्चालन गरेको सामाजिक कार्यहरु चर्चा पनि उनको सानो हेयर ड्रेसरमा पटकपटक चल्थ्यो। 

एकदिन सुने आश्रम बुद्धनगरबाट कोटेश्वर सरेको छ। त्यहाँ पाँच सयभन्दा बढी मान्छे अट्छन्। त्यसपछि मिथुनले मन थाम्न सकेनन्। पसलको सटर ताने र हिँडे सञ्जयका बुवा सन्तोषसँगै आश्रमतिर। 

यस्तो छ पाटीदेखि आश्रमसम्मको यात्रा 

इन्द्रचोक किलागलबाट नरदेवी जाने बाटोको दाँयातर्फ एउटा सानो घर छ। पक्की ईंटाको दुई तले घरमा जस्ताको छानो। प्लास्टर नगरिएको होचो घरको मूल ढोकामाथि एउटा बोर्ड टाँसिएको छ जसको रङ खुलिए पनि अक्षर धमिलो देखिन्छ। लेखिएको छ ‘जवाहर’। जवाहर सन्तोष कपालीका बुवाको नाम हो। सन्तोष अर्थात् अचेलका श्री सञ्जय साईबाबाका बुवा। 

परिवारको आर्थिक स्थिति कमजोर थियो। जवाहरलालको पालादेखि नै त्यहाँ टेलर राखेर जीविकोपार्जन गर्थे। तर, हाल घर भएको त्यो ठाउँमा पहिले पाटी थियो, कुनै देवताको मूर्तिसहित। एक कुनामा कपडा सिलाउने मेसिन र कपडाको थुप्रो लाग्ने टेबल, अर्को कुनामा मूर्ति। त्यहाँ स्थानीय आउँथे, भगवानलाई फूल चढाउँथे, ढोग्थे। 

सञ्जय साईबाबाकी फूपु कल्पना कपाली आफूहरु मखन गल्लीको स्थानीय भएको सुनाउँछिन्। उनका अनुसार हाल बस्दै आएको घर उनको मामाघर थियो। मावलाको हजुरआमा मात्र एक्लो भएपछि उनीहरुको परिवार नै यतै बसाई सर्‍यो। 

तर, काठमाडौं महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन भने कल्पनाको कथनको खण्डन गर्छन्। 

भने,‘कपालीहरु पहिलेदेखि पाटी वा सत्तलमा बस्थे। काम गर्थे। रहँदा बस्दा घर बनाउँथे। उनीहरुको पनि त्यहाँ टेलर थियो। जवाहर लेखिएको पसलकै साइन बोर्ड हो। उनको परिवार बढ्दै गएपछि त्यहीँ घर बनाएका हुन्।’ 

सार्वजनिक पाटीमा बनाएको त्यो घर लामो समयसम्म कानुनी विवादमा रह्यो।

त्यही विवादित घरमा २०४५ साल माघ ६ गते जन्मिएका हुन् सञ्जय कपाली।  

हरेक 'भगवान'को जस्तै सञ्जयको जन्मलाई पनि दन्त्यकथासँगै लाग्ने विभिन्न कथाहरुसँग जोडिएको छ। 

उनको आधिकारिक वेबसाइटमा जनाइए अनुसार सञ्जय कुशल वंशका हुन्। श्री जय बिर्खनाथ कपाली शिवका परम् भक्त थिए। उनको निरन्तर ध्यानपछि शिवजी प्रशन्न भए र आशिर्वाद दिए। शिवले कपालीहरुको कुशल वंशमा आफूले एकपटक जन्म लिने वचन दिएका थिए। 

सञ्जयका हजुरबुवा जवाहरलाल निकै धर्मात्मा भएको र हजुरबुवाको कर्मको फल र शिवजीको आशिर्वादलाई सञ्जय कपालीको जन्म भएको दावी त्यसमा गरिएको छ। 

त्यति मात्र हैन, आमा मैयादेवीलाई पनि दन्त्यकथाका जोडिएको छ। सत्यनारायणको नियमित व्रत राख्ने मैँयादेवीलाई  एकरात विष्णु भगवानले सपनामा 'म चाँडै तपाईंको गर्भमा रहने छु‘ भनेको दावी त्यसमा छ।   

उनको जन्मको बारेमा यस्ता अलौकिक कथाहरु जोडिए पनि बाल्यकाल सामान्य रह्यो। 

सञ्जय कपाली १४ वर्षका मात्र थिए जब उनले अध्यात्मको बाटो रोजे। कक्षा नौसम्म मात्र औपचारिक शिक्षा लिएका उनले पैसा नभएकै कारण त्यहाँदेखि अध्ययन अघि बढाउन पाएनन्।

'भगवान' भएपछि प्रवचन दिने, दर्शन दिने उनको दैनिकी बन्यो। 

काठमाडौंको शङ्खमूलबाट उनको अध्यात्मिक दैनिकी सुरु भयो। एउटा सानो कोठामा केही थान चकटी ओच्छ्याइ भक्तहरुलाई प्रवचन र उपदेश दिन थाले। छोटो समयमै बुद्धनगरस्थित आनन्दम् हल सञ्चालन गरे र त्यहीबाट सुरु गरे 'ज्ञान' बाँड्न। 

२०६३ जेठ ११ गते बल्ल धार्मिक एवं सामाजिक संस्थाका रुपमा श्री सञ्जय साई सेवा अर्गनाइजेसन दर्ता गरे। त्यसपछि उनको सेवा केन्द्रले सामाजिक कार्यमा सक्रियता देखायो। उनले केही पत्रिकामा विज्ञापन समेत छाप्न लगाए। 

बिस्तारै उनी राज्यको आँखामा परे। र, उनलाई आश्रम निर्माणका लागि सरकारले जग्गा उपलब्ध गरायो। पूर्व मन्त्री अच्युतराज रेग्मी लिखित पुस्तक ‘नेपालमा साई अवतार’मा उल्लेख गरिए अनुसार श्री सञ्जय साई सेवा अर्गनाइजेसनका लागि काठमाडौं महानगरपालिकाले २५ रोपनी जग्गा उपलब्ध गरायो। यसले प्रष्ट पार्छ, उनको प्रभाव एउटा हलमा प्रवचन सुन्ने झुण्डमा मात्र सीमित रहेन। 

२०७० सालमा उनी नरेफाँटस्थित हालको आश्रममा सरे। सोही जग्गामा निर्मित निवास र सभा हललाई ‘साई वृन्दावन आश्रम’नाम दिइयो। जहाँको निवास भने ‘निर्मल–रुक्मिणी फाउण्डेशन’ नामक संस्थाले स्थापना गरिदियो, सञ्जय साईबाबाको २६ औं जन्मदिनको अवसरमा। उपहार स्वरुप।

जन्मोत्सव समारोहमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माधव नेपाल, पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, उद्योगपति विनोद चौधरी, प्रदीपजङ्ग पाण्डेलगायतले शुभकामना व्यक्त गरे। 

देशका प्रभावशाली नेता, मन्त्री, सांसद, उद्योगपतिहरु त उनका अनुयायी छन् भने सामान्य मानिस नहुने कुरै भएन। 'आफ्नो काम आफै गर्नुपर्छ', 'अरुलाई माया गर' जस्ता जसलाई पनि थाहा भएका सामान्य खालका हुन्छन् उनका 'महावाणी'। तर जादुमयी क्रियाहरुका कारण उनले भक्तमा छाप पारेको देखिन्छ। उनलाई भगवान् मानिन्छ, उनको पूजा गरिन्छ, आरती उतारिन्छ। भक्तिभावका साथ खुट्टा धुने, खुट्टा धोएको पानी खाने समेत गरिन्छ। आश्रममा उनको दर्शनका लागि मान्छे घण्टौ कुर्छन्। 

यस्तो छ आश्रम

कोटेश्वर, नरेफाँट मनहरा खोलाको किनारमा छ 'साई वृन्दावन आश्रम।' 

ठूलो फलामे गेट। गेटका बुट्टाहरुमा रातो, पहेँलो, हरियो रङहरु लगाइएको छ। भव्य गेटभित्रको वातावरण शान्त लाग्छ। सेतो पहिरनमा पुरुष र सेतोमा सुन्तला रङको फेर भएको सारीमा देखिन्‍छन् महिला। जो आश्रमका स्वयंसेवक हुन्। उनीहरु सतर्क लाग्छन्, वरपर नियाली रहेका वा निर्देशन दिइरहेका हुन्छन्। 

गेटबाटभित्र छिर्नासाथ देखिन्छ मञ्चसहितको ठूलो सभा हल, करिब पाँच सयजना अट्ने। मञ्चको सजावट आकर्षक लाग्छ। फलामे रेलिङ, पिल्लर र भित्ताहरुमा फूल बेरिएको। कुदिएका बुट्टाहरुमा मिलाएर लगाइएको रङ। मञ्चको बीचमा गद्दी छ। ठीक माथि सुनौलो रङको नागद्वार र भित्तामा दुई मयुरको चित्र पनि। 

आश्रमको कम्पाउन्ड वरपर भगवती, शिर्डी साईबाबा, गणेश, बुद्ध आदिको स-साना मन्दिर र मूर्तिहरु छन्। चिटिक्क मिलाएर बनाइएको पानीको फोहोरा आकर्षक लाग्छ। 

यो आकर्षक देखिने आश्रमबाट दैनिक भजन गायन र वाद्य वादनको आवाज आइरहेको हुन्छ। वाद्यवादनको टोलीमा उनको बुवा सन्तोष पनि देखिन्छन्। उनी नहुँदा उनले वाद्यवादन सिकाएका विद्यार्थीहरु। 

बाजागाजासहित भजन गाउँदागाउँदै मञ्चको पछाडि पारेर बनाइएको त्यो भव्य निवासबाट बाहिर निस्केर दर्शन दिन्छन्- किलागलबाट कोटेश्वर पुगेका नेपाली साईबाबा। किलागलमा रहेको सानो दुई तले घरमा भने हाल उनकी फूपु र नब्बे कटेकी हजुरआमा मात्र बस्छन्। 

मिथुन पहिलो पटक आश्रम पुग्दा दङ्ग परे।  ‘त्यहाँ त दरबारजस्तो छ। बाबाको ठूलो ठूलो फोटोहरु, जहाँ बसेपनि दाग लाग्छजस्तो। देखेर म त चकित भएँ‘, उनी सुनाउँछन्, ’अझै चकित त उनको कपाल हेरेर भएँ। मैले काटुन्जेल त त्यस्तो थिएन। भगवान भएपछि कपाल पनि इन्डियाको साईबाबाको जस्तै पो भएछ।‘ 

(के-के हुन्छ सञ्जय साइबाबाको आश्रममा? के हो उनको जादुमयी क्रियाकलापहरुको सत्य? यो विषयमा पहिलोपोस्टमा विशेष रिपोर्ट अर्को भागमा)

सम्पादन : उमेश श्रेष्ठ

नेपाली साइबाबा शृङ्खला

शृङ्खला १ : नेपाली साइबाबाको स्कूल : नाम निःशुल्क, असुलिन्छ विभिन्न शुल्क, खुट्टामा निधार जोडेर ढोग्नुपर्छ चाहे कलिला विद्यार्थी होस् वा बुज्रुक शिक्षक

शृङ्खला २ : किलागलको थोत्रो घरबाट हराएका किशोर कसरी एकाएक बने 'नेपाली साइबाबा'?



ट्रेन्डिङ पोस्ट

Ncell