PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संस्कृति र पुरातत्वका जीवन्त संग्रहालय सत्यमोहन, भन्छन् 'अब विश्रामको मुडमा छु'



सहयोग रञ्जित

संस्कृति र पुरातत्वका जीवन्त संग्रहालय सत्यमोहन, भन्छन् 'अब विश्रामको मुडमा छु'

कुरा १९८५ सालतिरको हो। ललितपुर बुखम्वहालबाट एउटा केटो लखरलखर हिँड्दै काठमाडौँ, रानीपोखरी अघिल्तिरको दरबार हाइस्कुल पुग्थ्यो। ललितपुरबाट त्यहाँ पढ्न आउने सायदै अरू कोही थिए। ७-८ वर्षीय केटो एक्लै हिँड्दै फाट्टफुट्ट रहेका पसल नियाल्दै पढ्नका लागि आउँथ्यो।

पढ्नकै लागि करिब दुई घण्टाको हिँड्नुपर्थ्यो।

स्कुल समयमै पुग्थ्यो। सरासर लास्ट बेन्चमा गएर घुस्रन्थ्यो। किनकी पढाइमा कमजोर। ग्रेस मार्क्सको सहारामा बल्लतल्ल पास हुने। शिक्षकको कुटाइ खानुपर्ने।

तर, कमजोरीलाई कहिल्यै पनि असफलता मानेनन् उनले। किशोरावस्था देखिनै सकारात्मक प्रवृत्ति विकास गर्ने उनी हुन् सत्यमोहन जोशी।

दैनिक दुई घण्टाको हिँडाइनै उनको दर्शन बन्यो। हिँडाइले आसपासका संस्कृतिमात्र नभई देशको राजनीतिक परिवेशसँग साक्षात्कार गरायो।

आज उनै वाङ्मयशताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले एक शताब्दी पार गरेका छन्। वि सं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका उनी आज १०० वर्षका भए।

एक शताब्दी लामो जीवन यात्रा तय गरेका जोशी अहिले पनि ‘मस्त र व्यस्त’ छन्। हिँड्नलाई कहिल्यै लट्ठीको सहारा लिनुपरेन। हिँडेरै आफ्ना गन्तव्य भेटाउँदै आफ्नो यात्रामा अघि बढ्दैछन्। उमेरका कारण केही गाह्रो भए पनि हिँड्ने प्रयास छाडेका छैनन्।

बखुम्बहालमा रहेको घर अगाडिको बगैँचामा बिहान खाली खुट्टा हिँड्न छाडेका छैनन्। घरमा बनाइएको बुबा शंकरराज जोशी र आमा नुगलदेवी जोशीको प्रतिमा ढोग्छन् र सम्मान गर्छन्।

उमेरले सय टेके पनि धेरै समय घर बाहिरै रहन्छन्। विभिन्न ठाउँहरूमा हुने कार्यक्रममा सहभागी हुन्छन्। उनकै शब्दमा 'युगान्तमा पनि यसरी हिँडिरहनेछु भन्ने कल्पना पनि गरेको थिइनँ।'

नेपाली लोक साहित्ययमा मात्रै नभई नेपाल भाषा साहित्य र नाटक रचनामा पनि उत्तिकै दख्खल राख्ने सत्यमोहन अहिले आफ्नो जन्म शताब्दी मनाउन व्यस्त छन्। राष्ट्रपति विद्यादेवी भण्डारी उनलाई भेट्न बखुम्बहालस्थित घर जाँदैछिन्। ललितपुर महानगरपालिकाले 'जीवन्त सम्पदा' का रूपमा जोशीको जन्म शताब्दी मनाउँदैछ।

सत्यमोहन भने जीवन जगतकै अध्ययनमा व्यस्त छन्। हामी उनलाई भेट्न घर पुग्दा संस्कृतमा अनुवाद गरिएको आफ्नै कृतिको अध्ययन गर्दै थिए। भेट्न आउनेको लर्को लागेको थियो। भन्दै थिए,' व्यस्त छु त्यसैले मस्त छु। सकाउनु पर्ने काम अझै केही बाँकी छन्। त्यसपछि घरमै चिन्तन गरेर बस्ने हो।'

उनलाई जीवनमा चिन्तनशील बनाउने प्रेरणाकी पात्र हुन् उनकी श्रीमती राधादेवी जोशी। सत्यमोहन भन्छन्, 'बिहे भएको करिब ८० वर्ष भयो। कामको सिलसिलामा घरमा धेरै समय दिन सकिनँ। उनले पनि काममा जहिल्यै सघाइन्। उनको साथ बिना यो जीवन सम्भव थिएन।'

आधुनिक समयमा दाम्पत्य जीवनमा धेरै उतार चडाव आउँछ। पारिवारिक सुखका लागि समय र पैसाले ठूलो भूमिका खेल्छ। तर सत्यमोहन र राधा अपवाद हुन्।

करिब ८० वर्षको दापत्य जीवनमा दुईबीच समय र पैसाका लागि कहिल्यै कलह भएन। एक-अर्काबीच गुनासो भएन।

जोशी भन्छन्, 'सुख त्यागमा छ। उनले परिवारका लागि त्याग गरिन्। मैले लोकसंस्कृतिका लागि।'

एक शताब्दीका साक्षी जोशी अझै संस्कृतिबारे अनुसन्धानमा तल्लीन छन्। जीवनलाई साधारण रूपमा नै लिइरहेको बताउँछन्।

यति लामो समय बाँच्ने आशा नभए पनि सबैको साथ र मायाले यहाँसम्म दोहोर्‍याएको तर्क गर्दै भन्छन्, 'मलाई यति बाँच्छु जस्तो कहिल्यै लागेन। साहित्य र पुरातत्वमा काम गर्छु जस्तो पनि लागेको थिएन। दरबार हाइस्कुल पढ्दा न साहित्यबारे राम्रो ज्ञान थियो न संस्कृति र पुरातत्वबारे। त्रि-चन्द्र कलेज पुगेपछि साहित्य अध्ययनमा रुचि भयो। मृत्यु सँगसँगै हिँडिरहेको छ। कहाँ ठेस लागेर लड्ने हो, थाहा हुन्न। जति समय बाँचिन्छ खुसी र आनन्दले बाँच्नुपर्छ।'

 

'यात्रा नै जीवन हो'

मृत्यु जहिल्यै मानिससँगै हिँडिरहने बताउँदै गर्दा सत्यमोहनका अनुहारमा मृत्युको भय अलिकति पनि देखिएन। देखिए त उनका चाउरी परेका अनुहार जसमा नेपाली लोक साहित्य र पुरातत्वका एक शताब्दी लामो इतिहास छ।

कुराकुरैमा मस्त भावनामा आफ्ना कुरा राख्दै उनले आफ्नो न्यूजील्याण्ड यात्रा बारे सुनाए।

'तेन्जिङ नोर्गे र एड्मन्ड हिलारीले सगरमाथामा पाइला टेकेको भोलिपल्ट न्यूजील्यान्ड पुगे कामको सिलसिलामा। नेपालबाट न्यूजील्यान्डमा पाइला टेक्ने म नै पहिलो नेपाली बनेँ। त्यहाँका मानिसले मलाई ‘यति देखेका छौ?’भनी सोधे। सगरमाथाबारे सोधे। त्यसपछि थाहा भयो विदेशमा हाम्रो हिमालयबारे कति चासो रहेछ। यस्ता कयौँ यात्राले मलाई जीवनको वास्तविकतासँग साक्षात्कार गरायो।'

सय टेकेका जोशी युवाहरूलाई जीवनसँगै हिँड्न चेतनशील र अध्ययनशील हुनुपर्नेमा जोड दिन्छन्।

सरकारी जागिर सिलसिलामा उनी २००१ तिर लमजुङ पुगेका थिए। त्यहीँ उनले रैथाने लोकभाका सुने। त्यसमा प्रत्यक्ष जीवन दर्शनका भोगाइ र दुखाइहरू महसुस गरे। मानिस बाटैमा गीत गाउँथे। काम गर्दै आफ्नो सुःख दुःख भाकैमा सुनाउँथे। काठमाडौँ उपत्यका पार गर्दै पहिलोपटक लमजुङ पुगेका उनीले लोकभाकामा ‘चोखो गीत र शब्द’ भेटे। आफ्नो चेतना र अध्ययन क्षमताले भ्याएसम्म लमजुङका लोकगीत सङ्कलन गर्न थाले।

सत्यमोहनले त्यहाँका गीत, संस्कार र परिवेशलाई आधार बनाएर किताब लेखे 'हाम्रो लोक संस्कृति'।

२०१३ सालमा उनलाई 'हाम्रो लोक संस्कृति' कृतिका लागि मदन पुरस्कार दिइयो।

फोटो सौजन्यः मदन पुरस्कार गुठी

त्यही किताब लेखेका कारण उनलाई विपी कोइरालाको सरकारले २०१६ सालमा पुरातत्व र संस्कृति विभागको पहिलो निर्देशकका रूपमा नियुक्त गर्‍यो।

मुस्कुराउँदै सुनाए,'पहिलोपटक समाचार सुन्दा नियुक्ति पाएको सत्यमोहन आफू नभई अरू भएको जस्तै लाग्यो। त्यसैले मतलब गरिनँ। तर धेरै समयसम्म कसैले दाबी नगरेपछि म बुझ्न गएँ। हाम्रो लोक संस्कृति लेखेको लेखकलाई सरकारले निर्देशक बनाएको थाहा पाएँ। मैले त्यो किताबको लेखक म हुँ भनेँ। त्यसपछि त्यहाँ काम सुरु गरेँ।'

लोक संस्कृतिमा काम गरेको तर पुरातत्वमा खासै काम नगरेकोमा पनि ठूलो जिम्मेवारी दिएकोमा उनी त्यसलाई आफ्नो अनुसन्धानको कदरका रूपमा व्याख्या गर्छन्।

पुरातत्व विभागका निर्देशकका रूपमा उनले महत्त्वपूर्ण काम गरे। राष्ट्रिय नाचघर, तौलिहवामा पुरातत्व संग्रहालय, पाटनमा पुरातत्व बगैँचा, भक्तपुरमा चित्रकला संग्रहालय स्थापना गरे। गाउँठाउँको लोक संस्कृति बुझेका उनले पुरात्तव र संस्कृति जगेर्णाको हरदम प्रयास गरे।

पुरातत्वमा रहँदा जोशीले प्राचीन मुद्राहरूको अनुसन्धान गर्ने अवसर पाए। मुद्राहरूको ऐतिहासिक र सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने हेतुले उनले आफूले गरेको अनुसन्धानलाई किताबको रूप दिए। प्राचीन मुद्राहरूमा आधारित किताब ' नेपाली राष्ट्रिय मुद्रा' ले उनलाई २०१७ सालमा दोस्रोपटक मदन पुरस्कार दिलायो।

जननिर्वाचित सरकारलाई अपदस्त गर्दै राजा महेन्द्रले पञ्चायत घोषणा गरे। त्यसपछि उनी नेपाली पढाउन चीन पुगे। त्यहाँ उनले चीनमा नेपाली लोक संस्कृतिको बारेमा अध्ययन मात्रै गराएनन्। आफू पनि अध्ययनशील बने र नेपालबाट चीन पुगेका अरनिको र भृकुटीबारे खोजे। 'कलाकार अरनिको' नामक किताब लेखे। उनीहरूलाई नेपाली माझ चिनाए। जानकारहरू अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरिनुमा सत्यमोहनको अथक साधना रहेको बताउँछन्।

नेपाल फर्केपछि जोशी फेरि सुदूरपश्चिम पुगे लोक संस्कृतिको अध्ययन गर्न। कर्णालीको सिंजा खोला उपत्यकाको लोक संस्कृतको खोजीमा तल्लीन भए। उनीसहित पाँच जनाको टोलीले पाँच किताब तयार पारे। २०२८ मा संयुक्त रूपमा सबैलाई मदन पुरस्कार दिइयो।

यसैसँग तीन मदन पुरस्कार पाउने जोशी एकमात्र व्यक्ति बने। भन्छन्, 'मानिसलाई सफल बनाउने नै अध्ययन र अनुसन्धानले गर्दा हो। त्यो क्रम अहिले कम हुँदै गएको छ। मदन पुरस्कार त्यसैको फल हो।'

राणा शासनको परिवेशमा हुर्केर गणतन्त्रसम्म आइपुग्दा सत्यमोहन सामाजिक र सांस्कृतिक परिवर्तनप्रति त्यति गुनासो गर्दैनन्।

सामाजिक र सांस्कृतिक परिवर्तनलाई उनी स्वीकार्दै अघि हिँड्नुपर्नेमा जोड दिन्छन्। संस्कार र संस्कृतिको स्वरूप नै परिवर्तन भए त्यसले विकृति ल्याउने तर्क गर्छन्।

गत तिहारमा भएको भेटमा उनले सांस्कृतिक र धार्मिक महत्त्वमा असर नगरी भइरहेका परिवर्तनलाई विकृति मान्नुले मान्छेमा नकारात्मक सन्देश प्रवाह गर्ने सुनाएका थिए। ‘विकृति तब हुन्छ जब तिहारको स्वरूप नै फेरिन्छ। अहिलेसम्म त्यस्तो भएको छैन। महत्त्व, उद्देश्य गलत हुन थालेपछि रोक्नुपर्छ’ उनले भनेका थिए।

पढ्नुस्ः देउसी भैलीको बद्लिँदो ट्रेन्ड, संस्कृतिविद् भन्छन् : विकृति होइन यो

यसपटक भने उनले आफ्नै घरको उदाहरण दिए। ‘पहिला यहाँ मेरो घरबाट हिमाल प्रस्टै देखिन्थ्यो। कृष्ण मन्दिरको गजुर देखिन्थ्यो। रातो मछिन्द्रनाथको दर्शन यहीँबाट हुन्थ्यो। चिडियाखानाका पशुपन्छी कराएको सुनिन्थ्यो। तर अहिले त्यस्तो छैन।‘

उनको घर वरिपरि अहिले ठूलठूला घर बनिसके। नेवारहरूको बाहुल्यता रहेको पाटनको मध्यभागमा गैर नेवारहरूको बसोबास पनि उत्तिकै बढेको छ। न मन्दिरको गजुर देखिन्छ रातो मछिन्द्रनाथ। उनी भने त्यही पुरानो घरमा छन्। सामाजिक परिवर्तनप्रति केही सन्तुष्ट छन्।

तर राजनीति गर्नेप्रति भने उनको केही गुनासो छ। राणा शासन, बहुदल, राजतन्त्र, पञ्चायत, राजाको ‘कू’ हुँदै लोकतन्त्र गण्तन्त्रसम्मको अनुभूति गरेका उनी वर्तमान राजनीतिबाट जनताले ठूलो आशा गरे पनि त्यो हुन नसकेको बताउँछन्।

एक शताब्दीको यात्रामा उनले राजनीतिमा अब्बल त्रिभुवनलाई देखे। राजा त्रिभुवनले देशको लागि भनेर राजगद्दी त्यागेर प्रजातन्त्र ल्याउन भूमिका खेलेको बताउँछन्।

अहिले राजतन्त्र सकिएर गणतन्त्र आएपछि जनतामा परिवर्तनको आशा पलाएको तर जनताले त्यो भोग्न नपाएको भन्दै भने, ‘म यहाँ घरबाट बाहिर जाँदा नै कति समस्या देख्छु। त्यो बेलाको त्याग अहिलेका नेताहरूमा देख्दिनँ।'

संस्कृति, पुरातत्व र लोक संस्कृतिका जीवन्त संग्रहालय सत्यमोहन जोशी अब भने केही विश्राम गर्ने ‘मुड’ मा छन्। छोराहरू सबै विदेश भएको र आफू र श्रीमती राधामात्र घरमा भएकाले अब भने धेरै समय घरमा बिताउने उनको योजना छ। घरमै बसेर अध्ययन र अनुसन्धानलाई भने निरन्तरता दिने सोच छ।

भन्छन्,’ अब त घर र स्वास्थ्यको पनि ख्याल गर्नुपर्‍यो नि। सय वर्षको जो भएँ।’

शताब्दी पुरुष सत्यमोहन जोशीलाई सयौँ जन्म जयन्तीको शुभकामना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell