PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


देउसी भैलीको बद्लिँदो ट्रेन्ड, संस्कृतिविद् भन्छन् : विकृति होइन यो


स्वेच्छा राउत

देउसी भैलीको बद्लिँदो ट्रेन्ड, संस्कृतिविद् भन्छन् : विकृति होइन यो

संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुम्बहालमा रहेको घरमा देउसी भैलो खेल्न मान्छेहरु आउँदैन थिए। नेवार समुदायले स्वन्तिको रुपमा मनाउने तिहारमा देउसी भैलो खेल्ने चलन नै थिएन। आजभोलि भने बस्तीमा रैथाने नेवारहरु मात्र छैनन्। नयाँ बासिन्दा उत्तिकै थपिएकाले उनको टोलमा पनि तिहारको समय देउसी र भैलोका गीतहरु गुञ्जिन्छ।

जीवनको लामो कालखण्डमा सबैखाले सांस्कृतिक समिश्रण र परिवर्तन भोगिरहेका छन् उनले। अब उनको टोलमा नेवार भाषामात्र बोल्नेहरु रहेनन्। सँगै नेवार समुदायका मानिसहरु पनि देउसी भैलोमा रमाउन थाले।


‘वरपर बस्न आएकाहरुले खेल्छन्। केटाकेटीहरु आउँछन्, रमाइलो गर्छन्,’जोशीले सुनाए। फरक ऋतुको संकेत गर्ने चाडहरुमध्ये तिहारलाई फूल, बत्ती र रमझमको पर्व मान्छन् उनी। जसको पौराणिक, धार्मिक, सामाजिक महत्वहरु छन्।

 

***

किम्बदन्तीका अनुसार राजा बली निकै दानी थिए। सँगै उनमा दानको घमण्ड पनि। उनी यति शक्तिशाली कि देवताहरु उनीसँग डराउने अवस्था आयो। इन्द्राशनमा उनको नजरले देवगण तर्सिए। दानव खलकका बलीको दानी चरित्रलाई नविगारेसम्म उनको हार नहुने भयो। बलीलाई बद्‍नाम गर्न भगवान् विष्णु तयार भए। वामनको रुप धारण गरेर बलीकहाँ माग्न पुगे विष्णु। कहिल्यै नदेखेको सुन्दर ब्राम्हण (विष्णु) लाई जे चाहिन्छ माग्न आग्रह गरे बलीले किनकि उनलाई पत्तै थिएन ती त छल गर्न पुगेका विष्णु थिए।

ती ब्राम्हणले टेक्नका लागि तीन पाउ जमिन मागे।

वामनको याचना राजालाई धेरै सानो लाग्यो। त्यसैले उनले मागेको जमिन दिने संकल्प गरे। तर, छल गर्न आएका वामनको एक पैतालाले नै पूरा पृथ्वी ढाकिदियो। दोस्रो पाउले आकाश ढाक्यो। अनि तेस्रो पाउ राख्ने ठाउँ नै भएन। दानवीर बलीका सामु विकल्प थिएन। उनले आफ्नै शिर थापे। र, उनी सुतल लोकमा पुगे। पातालमा भाँसिएका उनले विष्णुसँग भने- ‘देउ शिर रे’। उनले आफ्नो शिर मागे। प्रार्थना गरे। तर, भगवानले वर्षमा एकपटक तिहारको समयमा मात्र पृथ्वी घुम्ने अनुमति दिए।

त्यसपछि बली राजा आउने विश्वास सहित उनीसँग प्रशन्न पृथ्वीवासीले तिहारको समयमा दीप बाल्ने, फूलले घर दैलो श्रृङ्गार्ने, नाचगान गर्ने गर्न थाले। बली राजाको लागि पृथ्वीवासीले पनि ‘देउ शिर रे’ भट्ट्याउन थाले, जुन अपभ्रंश हुँदै ‘देउसिरे’ बन्यो। 

कथाको आधारमा तिहारको समयमा बली राजा आउने उत्सव मनाउँदै जाँदा समय अनुसार लोक गीतले पनि महत्व बोक्यो। जुन गीतहरु देउसी भैलो खेल्नेहरुले दान दक्षिणा माग्दा गाएको बताउँछन् पञ्चाङ्ग निर्णायक समीतिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल। भन्छन्, ’धार्मिक कथासँग जोडिएको पर्वले बिस्तारै सांस्कृतिक एवं सामाजिक महत्व पनि बोक्यो।‘

उनले अँध्यारोलाई चिर्न र रातभर जागै रहेर देवी देवता स्वागत गर्न पनि देउसी भैलोको महत्व रहेको बताए।

फरक फरक पौराणिक मान्यता जोडिएको तिहार पर्वमा लक्ष्मी पूजामा महिलाले र गोवर्धन पूजाको रात पुरुषहरुले साथी साथी मिल्ने, चिनेजानेका आफन्त, छरछिमेकी, गाउँलेकोमा जाने, नाच्ने गाउने, भट्याउने, दान दक्षिणा लिने र आशिर्वाद दिने चलन चल्यो।

तर, केही वर्षयता भने देउसी भैलोको ‘ट्रेन्ड’ बद्लिदो छ।

***

दुई रातमात्र नभएर यमपञ्चकको पूर्वसन्ध्यादेखि नै नाचगान गर्ने दान दक्षिणा माग्ने चलन सुरु भइसकेको छ। ‘दान दक्षिणाको पनि रेट तोकिन्छ। प्रसङ्ग नमिल्दो गीतहरु बजाइन्छ। यी कुरा ठीक होइनन्,’ढुंगेल भन्छन्, ’दान दिने कुरा स्वेच्छिक हो। यसमा जबरजस्ती गर्ने प्रवृत्ती मौलाएको छ। जुन गलत हो।‘

यमपञ्चकको केही दिन अघिदेखि तिहार सकिएपछिसम्म देउसी भैलो खेल्नु धार्मिक मात्र नभएर सांस्कृतिक र सामाजिक मान्यताको पनि विपरीत भएको उनको निचोड छ। भन्छन्, ‘सभ्यतासँग जोडिएका यस्ता पर्वहरुलाई विकृत रुपमा मनाउनु ठीक होइन।’

तर सत्यमोहन जोशीको मत भने भिन्न छ, ’भाइटीकाको दिन पनि घरघर हिँड्न थालेका छन्। यो देउसी भैलो मनाउने नयाँ शैली हो।‘

दशैंपछि आउने यो पर्वले मुख्य रुपमा काटमार बिर्साउने र शरद ऋतुको झल्को दिने सांस्कृतिक एवं सामाजिक महत्व बोकेको उनको तर्क छ।

‘त्यसैले पहिलेदेखि नै तिहारसँगै रमाइलो जोडिएर आउँछ। रमाइलो त अगाडि पछाडि जहिले गरे पनि त भयो नि,’ देउसी भैलोको नाममा गरिने नाचगानलाई उनले सामान्य रुपमा लिन सुझाए।

तिहार मनाउने शैलीमा आएको परिवर्तनको पनि बेग्लै महत्व हुने उनी बताउँछन्। सांस्कृतिक र धार्मिक महत्वमा असर नगरी भइरहेका परिवर्तनलाई विकृति मान्नुले मान्छेमा नकारात्मक संदेश प्रवाह गर्ने सुनाए।

‘विकृति तब हुन्छ जब तिहारको स्वरुप नै फेरिन्छ। अहिलेसम्म त्यस्तो भएको छैन। महत्व, उद्देश्य गलत हुन थालेपछि रोक्नुपर्छ,’ उनले भने।

देउसी भैलोको नाममा क्षमता अनुसार धेरै रकम दिन सक्नेकोमा मात्र भैली खेल्न जाने, चन्दा उठाउने र अनावश्यक खर्च गर्नुलाई चाँहि गलत भन्छन् उनी। केहीले चन्दा उठाएर स्कूल भवन, अनाथ आश्रम निर्माण गर्ने लगायत सामाजिक काम गरे पनि सबैको उद्देश्य एउटै नरहेको बताउँछन्। ‘यसरी त पैसा दिनेहरु मारमा पर्छन् नि। पहिले पहिले जुवा खेलेर हार्नेहरु मारमा परेजस्तै,’ उनले भने।

 

तिहारमा जुवा

२००७ सात सालसम्म  तिहारको समयमा खेलिने जुवा फुक्नु अनिवार्यजस्तै थियो। कोजाग्रत पूर्णिमामा रातभर जागै रहेर लक्ष्मीको पूजा गर्थे। जसका लागि निद्रा भगाउन बत्ती बाली राख्ने, जुवा खेल्ने, नाचगान हुन्थ्यो।

‘चोक चोकमा त्रिपाल लगाउथे, कौडा हान्थे। यमपञ्चकमा जुवा खेल्नमा छुट थियो। जित्नेहरुको उत्सव बेग्लै। हार्नेहरु एकातिर रुवावासी,’ उनले भने, ’ननिदाउने बहानामा खेले पनि त्यसको असर राम्रो भएन।‘

२००७ पछि भने तिहारमा कौडा हान्नु गैरकानुनी बन्यो।

उनले शैली परिवर्तनको सकारात्मक पाटो संकेत गर्दै थिए। ‘पैसा हुनेका लागि क्यासिनो बन्यो। खेल्न रमाउन तिहार कुर्नु परेन। शैली फेरिनुले केही असर गर्‍यो त?,’ जोशीको प्रश्न।

देउसी भैलोमा प्रयोग हुने गीतहरुमा भने उनको गुनासो छ। ’यो पर्वले हाम्रो लोकगीतको झल्को दिन र यसको प्रवर्द्धनको लागि पनि योगदान दिँदै आएको छ। तर हिजो आज नेपाली लोक गीत कम हिन्दी, इङलिस, पप गीतहरुको प्रयोग ज्यादा छ,’ उनले भने।

पहिले पहिले लोकगीतहरु मात्र प्रचलित थिए। रचनाकार, संगीतकारहरु नहुँदा लोकभाकाको प्रयोग भयो। सांगीतिक क्षेत्रको विकाससँगै नयाँ नयाँ गीतहरु आए। तिहारमा ती रचनाहरु गुञ्जन थाले। उनी भन्छन्, ’आफ्नै ठाउँको गीत, भाका प्रयोग गर्नु अनुचित होइन। विभिन्न क्षेत्र र समुदायक विशेष गीतहरुमा प्रस्तुतिले एउटा मात्र विविध संस्कृतिको महत्व झल्काउँछ।‘

उनको आशय पप र आधुनिक वा विदेशी गीतहरुको मात्र प्रयोग हुनुले चाहिँ सकारात्मक प्रभाव नपार्न सक्छ। 


देउसी भैलोमा आधुनिकता मात्र नभएर राजनीतिक तथा हास्यव्यङ्ग्य पनि मिसिन थालेको छ। जसको उदाहरण हुनसक्छ सिस्नुपानी देउसी भैलो। केही वर्षयता तिहारमा पनि जनतालाई लागेको कुरा, राजनीतिज्ञप्रतिको गुनासो सुनाउने मौका भनेको छ तिहार। जोशी भन्छन्, ’पहिला यस्तो गाई जात्रामा मात्र हुन्थ्यो।'



देउसी भैलीको बद्लिँदो ट्रेन्ड, संस्कृतिविद् भन्छन् : विकृति होइन यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट