PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिकाको ग्रिन सिग्नलपछि अमेरिका जाँदै प्रचण्ड, बाल्टिमोरमा जोन हप्किन्स अस्पतालमा पत्नी सीताको उपचार हुने



विधुर ढकाल

अमेरिकाको ग्रिन सिग्नलपछि अमेरिका जाँदै प्रचण्ड, बाल्टिमोरमा जोन हप्किन्स अस्पतालमा पत्नी सीताको उपचार हुने

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दै छन्। श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि  उनी अमेरिका जान लागेका हुन्। 

उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने छ। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने छ। 

गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।

पुत्र प्रकाश दाहालको निधनपछि विक्षिप्त बनेकी सीतालाई केही समय अघि सुमेरु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

प्रचण्ड यसअघि नै अमेरिका जाने तयारीमा थिए। तर, भनेजुएला काण्डपछि उनको भ्रमण स्थगित भएको थियो। 

भेनेजुएला प्रकरणमा उनले ने क पाको अध्यक्षका हैसियतले जारी गरेको वक्तव्यका कारण अमेरिका रुष्ट बनेको थियो। अमेरिकाले सरकारसँग स्पष्टीकरणसमेत सोधेको थियो भने परराष्ट्र मन्त्रालयले आयोजना गरेको डिप्लोमेटिक ब्रिफिङमा अमेरिकी राजदूत सहभागी भएका थिएनन्। 

अमेरिकाको ग्रिन सिग्नलपछि तय भयो यात्रा

सीता दाहालको उपचारका लागि अमेरिका जाने तयारी गरी भिसा प्रक्रिया मिलाइसकेको अवस्थामा भेनेजुएला प्रकरणले नेपाल पनि तातियो। अमेरिका रुष्ट बन्यो। 

यस्तो अवस्थामा अमेरिकामा उनीविरुद्ध प्रदर्शन हुने डरले प्रचण्डले भ्रमण स्थगित गरेका थिए। यसअघि पनि २०७३ असारमा उनको अस्ट्रेलिया भ्रमण स्थगित भएको थियो। 

अस्ट्रेलियामा द्वन्द्वकालीन घटनाको विषयलाई लिएर 'गतिविधि' हुन सक्ने देखेपछि प्रचण्डको भ्रमण रद्द भएको थियो।

त्यस्तै गत असारमा अमेरिका भ्रमणमा जाँदा पूर्व प्रधानमन्त्री एवं पूर्व माओवादी नेता डा बाबुराम भट्टराई विरुद्ध कालो झन्डा प्रदर्शन भएको थियो। यही घटनाको पुनरावृत्ति हुन सक्ने भय समेत प्रचण्डमा थियो।

द्वन्द्वकालीन मुद्दाको विषयमा अमेरिकामा पनि उठ्ने भयले उनको भ्रमण स्थगित भए पनि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भ्रमण नरोक्न सुझाव दिएका थिए। 

भेनेजुएला प्रकरण गर्मागर्मीमा रहेकै बेला राजदूत बेरी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। त्यहाँ उलने भेनेजुएला प्रकरणले दुई देशबीचको सम्बन्धमा कुनै असर नपर्ने र भ्रमण रोक्दा बाहिर नकारात्मक सन्देश जाने भन्दै भ्रमण नरोक्न आग्रह गरेका थिए। 

यसअघि प्रचण्डको भ्रमणका लागि अमेरिकी दूतावासले सहजीकरण गरेको थियो। अमेरिकी राजदूत बेरीले उनको भ्रमणका क्रममा द्वन्द्वकालीन मुद्दा नउठ्ने विश्वास दिलाएपछि भ्रमण तय भएको हो। 

उपचारका लागि दूतावासको सहजीकरण

अमेरिकामा सीता दाहालको उपचारका लागि वासिङटनस्थित नेपाली दूतावासले सहजीकरण गरेको छ। अस्पतालको छनोट, चिकित्सकसँगको अपोइन्मेन्टसम्मको तयारी दूतावासले गरेको परराष्ट्र स्रोतले जनाएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले पनि सहजीकरण गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell