PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ट्रम्पसँगको दोस्रो भेट अगाडि बेइजिङ पुगे किम, किमलाई बोकेको ‘हरियो रेल’ चीन प्रवेश



पहिलोपोस्ट

ट्रम्पसँगको दोस्रो भेट अगाडि बेइजिङ पुगे किम, किमलाई बोकेको ‘हरियो रेल’ चीन प्रवेश

काठमाडौँ: उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी जिङपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

उत्तर कोरियाको वर्कस पार्टीका अध्यक्ष किम सोमबार बेइजिङ पुगेका हुन्। सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रवक्ताका अनुसार उनी १० जनवरी (बिहीबार)सम्म बेइजिङमा रहनेछन्।

नेता किमले आफ्नो ३५ औँ जन्मोत्सवसमेत बेइजिङमै मनाउने छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको दोस्रो वार्ताको तयारी भइरहेका बेला चिनियाँ राष्ट्रपति सीले उनलाई बेइजिङको निम्तो दिएका हुन्। उनले बेइजिङमा रहँदा चिनियाँ राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम रहको छ।

उत्तर कोरियाको शक्तिमा आएपछि किमको यो चौथो र यस वर्षको पहिलो चीन भ्रमण हो। गत वर्ष उनी तीनपटक चीन भ्रमण गरेका थिए। सन् २०११ मा त्यहाँका सत्तामा आएका किमले पहिलोपटक गत वर्ष नै विदेशी भूमि टेकेका थिए।

यसपटक किमको भ्रमण चार दिवसीय हुनेछ। चीनले उनको भ्रमणको विषयमा भ्रमणको दोस्रो दिन मात्र सूचना सार्वजनिक गरेको हो।

सोमबार चीन प्रवेश गरेका किम मंगलबार (आज) बिहानमात्र बेइजिङ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

‘उनले बेइजिङमै आफ्नो जन्मदिन मनाउने छन्। उत्तर कोरियामा उनको जन्मजयन्ती मनाईँदैन्,’ समाचारमा अगाडि भनिएको छ, ‘उनका बुवा र हजुरबुवाको जन्मदिनमा भने उत्तर कोरियामा सार्वजनिक बिदा दिइन्छ।’

२०११ मा सत्तामा आएका किमले सन् २०१४ मा मात्र कूटनीतिमा प्रवेश गरेका थिए। उनले त्यति बेला बास्केटबल स्टार डेनिस रोडमानको जन्म जयन्तीमा बास्केटबलको आयोजना गरी मनाएका थिए।

उनको साथमा उनकी पत्नी रि सोल जुसँगै किम योङ कोल, रि सु योङ पाक थि सङ, रि योङ हो, नो क्वाङ कोल र अन्य उत्तर कोरियाली नेताहरू रहेको त्यहाँको सरकारी समाचार संस्था केसीएनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ट्रम्पसँगको वार्ता अगाडि भएको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी पूर्व कूटनीतिज्ञ सिन किङले उत्तर कोरियाले ट्रम्पसँगको वार्ता अगाडि चिनियाँ पक्षबाट सुरक्षाको प्रत्याभूति खोजेको बताएका छन्।

‘उत्तर कोरियाले वैदेशिक व्यापारका लागि लामो समयदेखि चिनियाँ मुख्य भूमि तथा यहाँका बैंकहरुको प्रयोग गर्दै आएको छ। बेइजिङ भ्रमणपछि उनी ट्रम्पसामु थप आत्मविश्वासका साथ उभिन सक्छन्,’ उनले भनेका छन्, ‘यदि किमले पुनः ट्रम्प् गर्न खोज्दै छन् भने उनले सीको धारणा बुझ्ने छन्। किमले उत्तर कोरियामाथि लागेको नाकाबन्दी हटाउनका लागि बेइजिङको साथ चाहेका छन्।’

 

किमको बेइजिङ रेलयात्रा

किम यसपटक पनि रेलमा बेइजिङ पुगेका हुन्। उनी यसअघिको पहिलो भ्रमण पनि रेलबाट नै यात्रा गरेका थिए। दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सोमबार नै उत्तर कोरियाली रेल चीन प्रवेश गरेको समाचार प्रकाशित गरेको थियो।

उत्तर कोरियाली उच्च अधिकारी बोकेको रेल चीन प्रवेश गरेको र रेलमा किम हुन सक्ने समाचारमा बताइएको थियो।

रेल चीनको सीमावर्ती सहर दोनदाङमा स्थानीय समय अनुसार सवा १० बजे प्रवेश गरेको थियो। हरियो रङको रेल दोनदोङ प्रवेश गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको र रेल स्टेसन पार नगर्दासम्म सडकहरु बन्द गरिएको समाचारमा उल्लेख छ।

 

विदेशी नेताको भेट अगाडि सिसँग छलफल

यसैबीच उत्तर कोरियाली नेता किमले विदेशी नेताहरुसँगको भेट अगाडि चिनिया राष्ट्रपति सीसँग भेट गर्ने गरेका छन्।

यसअघि गत वर्ष अप्रिलमा भएको अन्तर कोरियाली शिखर सम्मेलन अगाडि उनले बेइजिङ पुगेर सीसँग भेट गरेका थिए। किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीचको वार्ता अगाडि बेइजिङ पुगेका जुनमा सिंगापुरमा भएको ट्रम्प–किम सम्मेलन अघि र पछि गरी दुई पटक सीसँग भेट गरेका थिए।

 

'निकट भविष्यमै ट्रम्प किम दोस्रो भेट'

अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ वर्षसँगै किमसँगको दोस्रो शिखर सम्मेलन धेरै पर नरहेको बताएका उनले आइतबार मात्र वार्ताको स्थानको विषयमा छलफल भइरहेको बताएका थिए।

अमेरिकाले वार्ता स्थानको छनोटका लागि आफ्नो टोलीलाई एसियाली देशहरूमा खटाएको छ।

यसैबीच दक्षिण कोरियाली पत्रिका मानह्वा इल्वोले दोस्रो शिखर सम्मेलन भियतनामको राजधानी हानोइमा हुन सक्ने जनाएको छ। उत्तर कोरियाली र अमेरिकी अधिकारीबीच हानोइमा भेट भएको समाचारमा उल्लेख छ।

अमेरिकी तथा उत्तर कोरियाली अधिकारीहरुको बेनामी हवाला दिँदै समाचारमा हानोइमा हुने बताएको छ।

यसअघि दोस्रो सम्मेलन सिंगापुर, मंगोलिया, स्वीट्जरल्याण्डसहित भियतनाममा हुन सक्ने अमेरिकी अधिकारीहरुले जनाएका थिए। यद्यपि स्वीट्जरल्याण्ड यो सूचीबाट हटाइएको थियो।

गत वर्ष जुनमा दुई नेताबीच सिंगापुरमा पहिलो भेटवार्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell