PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चीनबाट एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल यान्छी नयाँ राजदूतको रुपमा नेपाल आउँदै



विधुर ढकाल

चीनबाट एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल यान्छी नयाँ राजदूतको रुपमा नेपाल आउँदै

काठमाडौं: उत्तरी छिमेकी चीनले नेपालका लागि नयाँ राजदुतको रुपमा होउ यान्छीलाई नयाँ राजदूतको रुपमा प्रस्ताव गरेको छ। नेपालका लागि चिनियाँ राजदूत यु होङ बिदाई हुने तयारीमा रहेका बेला चीनले आफ्नो विदेश मन्त्रालयकी डेपुटी डाइरेक्टर जेनरल यान्छीलाई नेपालका लागि नयाँ राजदूतको रुपमा प्रस्ताव गरेको हो।

यान्छी चिनियाँ विदेश मन्त्रालयका चार डेपुटी डाइरेक्टर जनरल मध्येकी एक हुन्। चिनियाँ विदेश मन्त्रालयले यान्छीको नाममा प्रस्ताव गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयको एसिया प्रसान्त क्षेत्र हेर्ने विभागकी डेपुटी डाइरेक्टर जेनरलको नाममा एग्रिमोका लागि पत्र आएको स्रोतले पहिलो पोस्टलाई जानकारी दियो।

नेपालमा राजदूतको रुपमा कार्यकाल सफल बनाएर फर्किन लागेकी राजदूत होङले नेपालमा विदाई भेटमा व्यस्त छिन्। उनले सोमबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छिन्। उनले यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु वर्षमान पुन, उपेन्द्र यादवसहितका नेताहरुसँग बिदाई भेट गरेकी छिन्।

उनले नेपालका प्रमुख राजनीतिक दलका नेतृत्वसँगसमेत भेट गर्ने कार्यक्रम रहेको छ। यसैबीच उनले हालै भएका भेटमा चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणको विषयमा संकेतसमेत गरेकी छिन्।

‘चीनले राजदुतको रुपमा होङ भन्दा उच्च तहको अधिकारी पठाउँन थालेको छ,’ राजदुतको बिदाई भेटबारे जानकार स्रोतले भन्यो, ‘राष्ट्रपति सीको भ्रमण निकट भविष्यमै हुने संकेत पाएका छौँ।’

राजदूत होङको नेपाल कार्यकाल सफल मानिएको छ। उनको कार्यकालमा नेपालले चिनियाँ राष्ट्रपति सी जिङपिङले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहभागी जनाएको छ। त्यस्तै दुई देशबीच व्यापार तथा पारवहान सन्धीको प्रोटोकलमा हस्ताक्षर भएको छ। भने चीनले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि आफ्ना बन्दरगाहको प्रयोग गर्न दिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

तर उनको कार्यकालमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन सकेन भने नेपालका राष्ट्रपतिको तर्फबाट चीनको भ्रमण भने हुन सकेनन्। दुबै राष्ट्रपति अहिले आफ्नो दोस्रो कार्यकालमा छन्।

नेपालका तर्फबाट यसबीच उपराष्ट्रपति पुनसहित प्रधानमन्त्री र मन्त्रीहरुले चीनको भ्रमण गरेका छन्। भने चीनबाट राजदुत होङको कार्यकालमा चिनियाँ राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङसहित रक्षामन्त्रीसहितका उच्च अधिकारीहरुले नेपाल भ्रमण गरेका थिए।

चिनियाँ राष्ट्रपति सी नेपाल र भुटानबाहेकका दक्षिण एसियाली देशहरुको भ्रमण गरिसकेका छन्। भुटानसँग चीनको औपचारिक कुटनीतिक सम्बन्ध छैन। नेपालसँग लामो कुटनीतिक सम्बन्ध रहेको र नजिकको छिमेकी भए पनि उनको भ्रमण हुन सकेको छैन।

नेपालमा नयाँ सरकार बनेसँगै २०१८ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा मनाउने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताएका थिए। तर यो समयमा सीको भ्रमण हुन् सकेन।

यतिवेला सीको नेपाल भ्रमणको रुपमा कुटनीतिक सक्रियता बढेको छ। चीनले यान्छीलाई नयाँ राजदुतको रुपमा नेपालमा खटाउने तयारी पनि यसैको हिस्सा भएको स्रोतले बतायो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell