PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौँ ठप्प पार्ने गरी कुन आइएनजिओले सम्मेलन गर्दैछ? यस्ता छन् यसका विवादास्पद गतिविधि



पहिलोपोस्ट

काठमाडौँ ठप्प पार्ने गरी कुन आइएनजिओले सम्मेलन गर्दैछ? यस्ता छन् यसका विवादास्पद गतिविधि

काठमाडौँ : भोलि बिहीबारदेखि आइतबारसम्म चार दिन काठमाडौँ उपत्यका एक किसिमले ठप्प हुँदैछ। सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएकाले यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित छ। 

गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म सवारीमा जोर बिजोर प्रणाली लागू  गरेको सूचना जारी गरिसकेको छ।  

यसअघि सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनका क्रममा मात्रै यसरी जोरबिजोर प्रणाली लागू गरिएको थियो। र, त्यतिबेलाको अनुभव गर्नेहरुले भोगेका छन्- कस्तो हुन्छ हैरानी !

धेरै अन्यौलमा छन्, अहिले फेरि त्यस्तो महत्त्वपूर्ण कुन शिखर सम्मेलन हुन लागेको हो राजधानीमा?

सार्क र बिम्स्टेक राष्ट्रहरुको औपचारिक संगठन भए पनि मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुन लागेको एशिया प्याशिफिक समिट भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ) को कार्यक्रम हो। 

युनिभर्सल पिस फेडेरेसन (युपिएफ) यसको आयोजक हो। यसको सहआयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर, पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र जनदबावपछि सम्मेलनको सहआयोजकबाट सरकारको नाम हटाए पनि कार्यक्रमका लागि सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको थियो

युनिभर्सल पिस फेडेरेसन विवादास्पद आइएनजिओ हो। यसका संस्थापक सन म्युङ मून र उनकी पत्नी हाक जा हान मुन हुन्। सन् २००५ मा यो संस्था उनीहरुले स्थापना गरेको सोही संस्थाको वेबसाइटमा उल्लेख छ। 
 

कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र अत्यन्तै विवादित व्यक्ति सन म्युङ मूनको सन् २०१२ मा निधन भएको थियो। मूनका गतिविधि विवादास्पद मात्र हैनन्, रोचक पनि छन्।

मूनले नै युनिफिकेसन चर्चको स्थापना गरेका थिए। जुन यो शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान भएको द इन्डेपेन्डेट लेख्छ।

'जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,' उनको दावी यस्तै हुन्थ्यो। उनका अनुयायीहरूलाई उनले दिने निर्देशन पनि रोचक छ। 

अनुयायीहरु आफ्नो जीवन साथी चुन्ने अधिकार मुनलाई छाडिदिन्थे।

किन ?

किनभने उनले भने अनुसारको जोडीले बिहे गरेमात्र पापमुक्त रगतको नाता तयार हुन्छ भन्ने दावी उनको थियो।

विवाह गरे हुन्छ भनेर मूनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मूनको युनिफिकेसन चर्चले निर्देश नै तयार पारेको थियो। जसमध्ये एउटामा नवविवाहित दम्पतीले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मूनको चित्र अगाडि निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने उल्लेख छ। 


उनी भन्ने गर्थे - विवाहितले मात्रै भगवानको राज्यमा प्रवेश पाउँछन्। तर, उनका छोराको १७ वर्षकै उमेरमा मृत्यु भयो, कार दुर्घटनामा परेर। त्यसपछि उनले मरिसकेका छोराको बिहे गराइदिए। 

मूनले आफ्नै भान्छेकी छोरीसित बिहे गर्दा उनको उमेर ४० वर्षको थियो। दुलही भने मात्र १७ वर्षकी। यी दुईले नै स्थापना गरेको युपिएफ संस्था शुक्रबारदेखि काठमाडौँमा हुन लागेको सम्मेलनको आयोजक हो। 

मून र उनकी पत्नी। फाइल फोटो : गेट्टी इमेजेज

मूनले छोडेर गएको विशाल व्यावसायिक, राजनीतिक र धार्मिक साम्राज्य उनका सन्तानहरूले सम्हालिरहेका छन्। र, उनका एकजना छोरा जस्टिन मून अमेरिकाको हतियार उत्पादन कम्पनी ‘क्हर आर्म्स’ का मालिक छन्।

अमेरिकामा धर्म प्रचार गरेर उनले प्रशस्त कमाएपछि कर छलेको अभियोगमा १८ महिना जेलसमेत बस्नुपरेको थियो। मूनका अनौठा चर्तिकलाहरुबारे विस्तृत जानकारीसहितको रिपोर्ट द न्यु रिपब्लिकमा छापिएको छ। 

यही संस्थाको नेपाल शाखा  युनिभर्सल पिस फेडरेसनका नेपालका अध्यक्ष पूर्व मन्त्री  एकनाथ ढकाल हुन्, जो नेपाल परिवार दलका अध्यक्ष पनि थिए। उनको पार्टी चुनावअघि नेकपा एमालेमा विलय भएको थियो। एमाले माओवादीसँग एकीकृत भएपछि उनी पनि अहिले सत्तारुढ दुई तिहाईको नेकपा सरकारका नेता हुन्। 

त्यसैले आयोजक कमिटीको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्हालिरहेका छन्। 

यसबाहेक यही संस्थासँग सम्बन्ध रहेको अर्को संस्था कार्प (Collegiate Association for the Research of Principles -CARP) नेपालमा पनि सञ्चालनमा छ जसले सन म्युङ मूनको ‘डिभाइन प्रिन्सिपल’ लगायतको प्रचार गर्छ। र, फन्ड रेजिङका नाममा किशोरकिशोरीहरूलाई सडकमा कलम बेच्न लगाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell