PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गैरसरकारी संस्थाको सम्मेलनका लागि सरकारसँग ३१ करोड माग



गैरसरकारी संस्थाको सम्मेलनका लागि सरकारसँग ३१ करोड माग

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र जनदबावपछि युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनको सहआयोजकबाट हटेपनि कार्यक्रमका लागि सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको छ।

मंसिर १५ र १६ मा काठमाडौंको हायत होटलमा गर्न लागिएको ‘द एसिया प्यासिफिक समिट २०१८’ का लागि आवश्यक भन्दै विभिन्न मन्त्रालयले रकम माग गरेका हुन्। गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि सुरक्षा, भिआइपी र सडक पुर्ननिर्माणका लागि भन्दै यो रकम मागेका हुन्। कतिपय मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागेपछि अर्थमन्त्रालयले रकम घटाएर निकासा गरिदिएको छ।

स्रोतका अनुसार गृह मन्त्रालयले सुरक्षाका लागि भन्दै ११ करोड रुपैयाँ माग गरेको छ। सम्मेलनका लागि १३ हजार सुरक्षाकर्मी खटाउनुपर्ने र ती सुरक्षाकर्मीका लागि दैनिक ७ सय ५० रुपैयाँ खाजा खर्च दिनुपर्ने भन्दै गृहले यो रकम अर्थसँग मागेको थियो। तर अर्थले खाजा खर्च अरु कर्मचारीलार्इ दिइदै आएको अढार्इ सय मात्रै दिन मिल्ने भन्दै दुर्इ करोड मात्रै निकासा गरिदिएको छ।

भौतिक, पूर्वाधार तथा निर्माण मन्त्रालयले राजधानीका सडक टालटुलका लागि २० करोड रुपैयाँ मागेको छ। बिम्स्टेक सम्मेलनमा सडक टालटुलका लागि भन्दै भौतिक मन्त्रालयले १० करोड रुपैयाँ लगेको थियो। स्रोतका अनुसार बिम्स्टेक सम्मेलन भएको धेरै नभएको र यतिधेरै रकम आवश्यकताका बारेमा अर्थले प्रश्न उठाएको थियो।

तर मन्त्रालयका अधिकारीहरुले मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका विभिन्न सडक फेरि भत्काउन सुरु गरेकोले २० करोडभन्दा बढी रकम चाहिने जिकिर गरेका थिए। 'एउटा गैरसरकारी संस्थाको कार्यक्रमका लागि सडक टालटुल गर्न भन्दै यति धेरै रकम माग गर्नुको औचित्य के हो?' मन्त्रालयका एक कर्मचारीले भने, 'कुनै जवाफदेहिता हुनु नपर्ने र खर्चकोसमेत कुनै हिसाबकिताब राम्रोसँग राख्नु नपर्ने भएकाले यसरी रकम मागिन्छ। यस्ता सम्मेलनमा गरिएको सडक टालटुलको गुणस्तरीयता हुने कुरै भएन।'

यो बाहेक कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुनसेन यही कार्यक्रमका लागि नेपाल आउँदैछन्। उनी नेपाल आएका बेलामा औपचारिक कार्यक्रम बनाउन विभिन्न सम्झौंतासमेत हुँदैछ। उनको आतिथ्यताका लागि ५० लाख रुपैयाँ माग भएको छ। हुनसेन नेपालमा रहँदा नेपाल र कम्बोडियाबीच हवार्इ सेवा सम्झौंता गर्ने सरकारको तयारी छ।

फेडरेसनको नेपाल शाखाका प्रमुख पूर्व सांसद एकनाथ ढकाल हुन्। उनी परिवार दल खोलेर सांसद र दुर्इ पटक मन्त्री समेत भए। उनको पार्टी चुनावअघि नेकपा एमालेमा विलय भएको थियो। उनले नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell