PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


जो बावुजस्तै हुँ भन्थ्यो र घटनाबारे सुनाउँथ्यो अन्तिममा 'भिलेन' नै उही?


सागर बुढाथोकी

जो बावुजस्तै हुँ भन्थ्यो र घटनाबारे सुनाउँथ्यो अन्तिममा 'भिलेन' नै उही?
सेतो सर्ट लगाउने अभियुक्त रामबाबु पासवान र कालो ज्याकेट लगाउने पिडित युवतीका बुवा हुन्।

'दाइ कीर्तिपुर अस्पतालमा दुई दिदी बहिनीलाई एसिड हानेर ल्याएको छ। दुईमध्ये दिदीको अवस्था गम्भीर छ।'

गएको शुक्रवार राती ११ बजे सुत्ने तरखर गर्दै गर्दा एसिड पीडित सीमा बस्नेतले म्यासेन्जरबाट खबर दिइन्।

'कहिले, कहाँ र कस्ले?' एकैचोटी तीनवटा प्रश्न लेखेर पठाएँ।

'रौतहटमा, तिजको दर खाने अघिल्लो दिन। मध्यरातमा सुतिरहेको बेला। अपराधी पत्ता लागेको छैन,' उताबाट रिप्लाइ आयो।

एसिड भन्नासाथ विभत्स अनुहार आखाँभरि झल्झल्ली नाचिरह्यो। बिहान सबेरै अस्पतालमा भेट्ने भन्दै लेखेँ - 'गुड नाइट'। तर, अबेरसम्म निदाउन सकिएन।

चार वर्षअघि वसन्तपुर चर्चित एसिड आक्रमणकी एक पीडित सीमा। अहिले एसिड पीडितका पक्षमा खटिन्छिन्। त्यसैले उनले खबर गरेकी थिइन् घटनाबारे।

भोलिपल्ट बिहान ७ नबज्दै हामी कीर्तिपुर अस्पताल पुग्यौं। सीमा त्यहीँ थिइन्। उनी सामाजिक सञ्जालमार्फत् पीडितलाई सहयोग जुटाउन जुटिरहेकी थिइन्। 

यो पनि पढ्नुहोस

निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै


हामी सिधै ओपिडी वार्डमा पुग्यौं। त्यहाँ एसिड आक्रमणमा परे पनि तुलनात्मक रुपमा कम क्षति बेहोरेकी सुस्मिता दासलाई राखिएको थियो। उनकी दिदी सम्झनाको अवस्था नाजुक थियो। उनलाई आइसियूमा राखिएको थियो।



सुस्मिताले घटना भएदेखि चन्द्रपुर अस्पतालबाट कीर्तिपुर अस्पताल ल्याएसम्मको घटनाको सुनाइन्। एसिड कसले हान्यो त्यो चाहिँ थाहा नभएको र कसैसँग पनि शंका नरहेको बताइन्।

त्यसपछि लाग्यौं आइसियूतिर। आइसियू अगाडि दुई जना चिन्तित मुद्रामा गफिँदै थिए। दुईमध्ये एकले कालो जिन्सको ज्याकेट लगाएका थिए। अर्काले सेतो सर्टमाथि गम्छा भिरेका। गम्छा भिरेका मानिस अलि चिन्तित र विक्षिप्त देखिन्थे। उनको मुहारमा छटपटी देखिन्थ्यो। 

मोबाइलमा 'जेठीको अवस्था नाजुक छ' भन्दै कालो जिन्स लगाउने व्याक्ति उठेर हिँडे। म गम्छा भिरेका मानिससँग कुरा गर्न थालेँ। उनको शरीरबाट बिँडीको आलो गन्ध आइरहेको थियो। आइसियूको गेटअघिको कुर्सीमा टुक्रुक्क बसिरहेका थिए- एकोहोरो सोचमा डुबेजस्तो देखिन्थे उनी।

'नाम : रामबाबु पासवान। उमेर: ४५ वर्ष।' 

उनले परिचय दिए।

'भनेपछि तपाईँ सम्झनाको बुवा हैन?,' पासवान थर सुन्नासाथ मैले सोधे। 

'छिमेकी हो। बुवा जस्तै। मेरै काखमा खेलेर हुर्किएका नानीहरु हुन्,' मसिनो स्वरमा उनले भने।

'बच्चैदेखि देखिरहेको नानीहरु। आफ्नै काखमा हुर्किएका छोरीहरु। कस्ले यस्तो गर्यो...?' केही क्षण मौन बसेपछि उनले यत्ति बोले।

'घटनाको बारेमा केही बताइदिनुस न?'

उनले घटनाक्रम बताउन थाले -

राति १२ बजे चिच्याएको आवाज सुनेँ। के भएछ कुन्नी भनेर बुढीलाई उठाएर त्यहाँ गएँ। त्यहाँ जादाँ धुँवा नै धुँवा थियो। बत्ती निभेकाले अन्धकार। छोरीहरुको अवस्था हेर्न नसकिने। हामी बुढाबुढी जाँदा अरु कोही पुगेको थिएन। एकछिन पछि टोलको सबै मानिस जम्मा भए।

'अनि त्यसपछि.......'

अनि त्यसपछि मैले नानीहरुलाई धाराको पानी खन्याइदिएँ। उसको बाउ बजारमा सुत्ने भएकाले घरमा थिएन, फोन गरेँ। एम्बुलेन्सलाई फोन गरेँ। बाउ आयो। एम्बुलेन्स आएन। के गर्ने भनेर रुवावासी चल्न थाल्यो। के गर्ने कता लाने समझमा आएन। धेरै मान्छे भएकाले धेरैथरी कुरा भयो। अन्तिममा स्कुटरमा हालेर चन्द्रपुर अस्पताल लगियो।

उनले चन्द्रपुर अस्पताल अनि त्यहाँबाट कीर्तिपुरसम्म ल्याएको घटना सुनाए। 

'किन भयो होला यस्तो घटना?,' सोध्यौं।

'म पनि यहीँ सोचिरा'छु,' उनले जवाफ फर्काए।

'कसैप्रति शंका?' फेरि सोधेँ।

'खोई कस्लाई शंका गर्नु? छैन मलाई त।' 

'कसैसँग दुस्मनी वा झगडा?'

'उसको बाउको चाहिँ झगडा थियो,' उनी केही खुले, '  उनीहरुको बाउको धेरै पहिलादेखि दाइसँग झगडा थियो।  अंशबण्डाको। दाइले मुद्दा हालेको थियो अदालतमा। यही २ गते तारिक पनि थियो। दाइले बारम्बार तेरो जिन्दगी तहसनहस गर्दिन्छु भनेर नि थर्काउँथ्यो।'

यति भनेर उनी चुप बसे। एकछिनसम्म केही बोलेनन्।

मौनता भंग गर्दै फेरि सोध्यौं, 'अनि उनीहरु घरमा को को बस्थे?' 

'कान्छी आमा र दुई दिदी बहिनी,' उनले जवाफ दिए।

'कान्छी आमा!'

'हो, उनीहरु कान्छी आमासँग बस्छन्। २ वर्षअघि उनीहरुको आमा र बाउको डिभोर्स भयो। उनीहरुको आफ्नी आमा त अहिले मलेसिया गा'को छ।'

'ए! कान्छी आमासँग कस्तो छ सम्बन्ध?'

'छिमेकी मात्रै हो म। घरभित्रको कुरा धेरै थाहा हुन्न। बाहिर हेर्दा राम्रै देखिन्छ। भित्रभित्र केही गडबड थियो कि।'

उनी शंकालु सुनिए। त्यति नै बेला एसिड पीडित किशोरीहरुका बुवा जादोलाल दास आइइपुगे।

हामी उनीसँग कुरा गर्न थाल्यौं। त्यहाँबाट उनी जुरुक्क उठेर हिँडे। जादोलालले घटनाको बेलिविस्तार लगाए। शंका कसैप्रति नरहेको बताए।
त्यसपछि आइसियू भित्र छिरेर घाइतेलाई हेर्‍यौं।

सम्झना दास बेडमा पल्टिरहेकी थिइन्। विभत्स अनुहार! अत्यन्तै सुन्निएको। खुट्टादेखि शरीरसम्म पूरै ब्याण्डेज। नाकदेखि हातसम्म पाइपले सहारा दिइएको। एउटा आखाँबाट पिप बगेको। अर्को आँखा पूरै बन्द। एसिडले पूरै कुरुप। 

उनको अवस्था हेर्न नसकेर त्यहाँबाट बाहिर निस्क्यौं। निस्किँदै गर्दा जादोलालले भने, 'प्रहरीलाई चाँडै अपराधी पत्ता लगाउन लाइदिनुस्। कसैले उपचारमा सहयोग गरे आभारी हुन्थेँ।'

'सक्ने गर्न प्रयास गर्छौं,' भनेर त्यहाँबाट हिँड्यौं। अस्पतालको गेटमा उनका छिमेकी रामबाबु बिडीको धुँवा उडाइरहेका थिए। उनले पनि बिदाइको हात हल्लायौं।

***

शनिवार हामीलाई घटनाको बेलिविस्तार लगाउने तिनै रामबाबु पासवानलाई मंगलवार रौतहट प्रहरीले एसिड हान्ने अभियुक्त भनेर सार्वजानिक गरेको छ। पीडितले दिएको बयान र कल रेकर्डका आधारमा प्रहरीले उनलाई अभियुक्त सार्वजानिक गरेको हो। एसिड पीडित बिरामीको कुरुवा, बाउको साथी उनी अहिले अभियुक्त भएका छन्। यी तिनै हुन् जसले हामीलाई घटनाबारे जानकारी दिएका थिए।

यो पनि पढ्नुहोस्

दिदी - बहिनी दुवैमाथि एसिड आक्रमण : कसले र किन गर्‍यो १५ दिनमा १८० कल?



यतिखेर पासवान, उनका गतिविधि र उनका कुरा आखाँ वरिपरि नाचिरहेको छ। पीडितका बाउलाई झन् के भएको होला?

आज बिहान ८ बजे सम्झनाको बुवासँग फोनमा कुरा भयो। 'तपाईँको साथी त पक्राउ परेछन नि। शंका थियो त?'

'अलिकति नि शंका थिएन। साथी हो। मान्छेको नियत कसरी बुझ्नु। बल्ल ढुक्क भा'को छ। अब उपचारतिर ध्यान दिन्छु। उसलाई जे गर्ने हो कानुनले गरिहाल्छ।'

'के आधारमा पक्राउ गरियो उनलाई?'



'छोरीहरुले दिएको बयानको आधारमा।'

जादोलाल आत्मविश्वासी सुनिए। फोन राख्दै गर्दा भने,  'पैला पैला यस्तै घटनाका नानीहरुले सरकारबाट सहयोग पाएका रहेछन्। मेरा नानीहरले नि पाए उनीहरुको लागि राम्रो हुन्थ्यो। म गरीबले के नै गर्न सक्छु र?'



जो बावुजस्तै हुँ भन्थ्यो र घटनाबारे सुनाउँथ्यो अन्तिममा 'भिलेन' नै उही? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट