PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिदी - बहिनी दुवैमाथि एसिड आक्रमण : कसले र किन गर्‍यो १५ दिनमा १८० कल?



सविन ढकाल

दिदी - बहिनी दुवैमाथि एसिड आक्रमण : कसले र किन गर्‍यो १५ दिनमा १८० कल?

काठमाडौं : तिजको दर खाने दिन दुई दिदी बहिनीमाथि एसिड प्रहारको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका एक अभियुक्तलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले ४५ वर्षीय रामबाबु पासवानलाई मंगलवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा भएको एसिड प्रकरणमा प्रहरीले पासवानलाई काठमाडौंबाटै पक्राउ गरेको थियो। 

भदौ २६ गते राति रौतहटका १८ वर्षीया सम्झना दास र १५ वर्षीय सुस्मिता दासमाथि एसिड प्रहार भएको थियो। पीडितको बयान र सम्झनाका बुवाले प्रहरीमा पासवान विरुद्ध दिएको किटानी जाहेरी अनुसार पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताए। एसपी ढकालले भने, 'विभिन्न कोणबाट अनुसन्धान गर्दा पासवान दोषी देखिएका छन्। हामीले अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं।'

पासवान घाइते विरामीलाई लिएर काठमाडौं आइपुगेका थिए। उनी कीर्तिपुर अस्पतालमामा यी दुवै दिदी बहिनीका कुरुवासमेत हुन्। प्रहरीको अनुसन्धानमा पासवान र सम्झना बीच मोबाइलमा पटक पटक कुराकानी समेत हुने गरेको खुलेको छ। घटना भएको १५ दिन अगाडि मात्र १ सय ८० पटक सम्पर्क भएको देखिएको छ। एसपी ढकालले भने, 'सम्झनाको मोबाइलमा पासवानले १५ दिनमा १ सय ८० पटक कल गरेका थिए। उनी कुनै नाता सम्बन्धका व्यक्ति होइनन्।'

कीर्तिपुर अस्पतालको आइसीयू कक्षमा राखेर सम्झनाको उपचार भइरहेको छ। उनी अझै जोखिम अवस्थामा छिन्। बहिनी सुस्मिताको वार्डमा उपचार भइरहेको छ, उनी खतरामुक्त छिन्।

घटना के भएको थियो पढ्नुस्

निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell