PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतले वचन पूरा नगरेर ढाँटेको उपप्रधानमन्त्रीको आरोप, 'नाकाबन्दी' को उच्चारण गरेनन्



भारतले वचन पूरा नगरेर ढाँटेको उपप्रधानमन्त्रीको आरोप, 'नाकाबन्दी' को उच्चारण गरेनन्

काठमाडौँ : परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री कमल थापाले भारतले वचन पूरा नगरेर ढाँटेको आरोप लगाएका छन्। 

नाकाबन्दी शब्द उच्चारण नगरी 'पारवहन र आपूर्ति व्यवस्थामा भएको अवरोध' शब्द छानेका मन्त्री थापाले आफ्नो भारत भ्रमणको बेला उपलब्ध भएका सबै नाकाबाट आपूर्ति सहज गर्ने, रक्सौलमा अडकिएका इन्धनका वाहन अरु नाकाबाट रिरुट गर्न सहजीकरण र सहयोग गर्ने आश्वासन दिएको बताए। 

'यसबीचमा वार्ताका क्रममा भए अनुसारको सहजीकरणको अनुभूति हामीले गर्न पाएका छैनौँ', उनले भने,  'मलाई विश्वास छ भारत सरकारले आफूले दिएको वचन अनुसार नेपाली जनताले भोग्नुपरिरहेको यो कष्टको बेलामा उदारतापूर्वक नेपालको भूपरिवेष्ठित मुलुकको हक र अधिकारको सम्मान गर्दै आफ्नो जिम्मेवारीलाई पूरा गर्नको निमित्त कुनै कसर बाँकी राख्ने छैन।'

उनले सहजीकरण र सहयोगको आश्वासन इमान्दारीपूर्वक कार्यान्वयन हुने आशा गरेको भन्दै अप्रत्यक्ष रुपमा भारत सरकार इमान्दार हुन नसकेको जानकारी सदनलाई गराए। 

'अरु देशबाट इन्धन आपूर्ति गर्ने कार्य सुरु भइसक्यो'

इन्धनमा देखिएको अभावलाई चाँडोभन्दा चाँडो हटाउनका निम्ति वैकल्पिक व्यवस्थातर्फ पनि सरकारले प्रयास सुरु गरिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री थापाले निजी क्षेत्रलाई संलग्न गराएर आपूर्ति व्यवस्था सहज गराउने प्रक्रिया प्रारम्भ भइसकेको बताए।

'त्यसैगरी विभिन्न मुलुकहरुबाट समेत इन्धन आपूर्ति गर्ने क्रममा प्रारम्भिक कार्य प्रारम्भ भइसकेको कुरा पनि म यो सदनलाई जानकारी गराउन चाहन्छु', चीनको नाम नलिई उनले बताए। 

वाणिज्य मन्त्रालय उच्च स्रोतका अनुसार तेल आपूर्तिका लागि नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनबीच सम्झौता हुँदैछ। सम्झौताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भु कोइरालासहितको सरकारी टोली एक/दुई दिनभित्रै बेइजिङ जाँदैछ। टोलीमा अर्थ, परराष्ट्र मन्त्रालयका सहसचिव, आयल निगमका प्रतिनिधि समेत रहने छन्।
 
नेपालले सम्झौतापत्रको ड्राफ्टसमेत तयार गरिसकेको छ। वाणिज्य मन्त्रालय र आयल निगमले तयार पारेको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा बुझाइसकिएको स्रोतले बतायो।

उपप्रम थापाले सबै देशको सहयोगको अपेक्षा राखेको बताए। उनले भने,  'एउटा स्वाभिमानी स्वतन्त्र राष्ट्रले आफ्नो गन्तव्य आफै निर्धारण गर्न लागेको यो ऐतिहासिक घडीमा विश्वका सबै मित्रराष्ट्रहरुबाट सहयोगको हामीले अपेक्षा गरिरहेका छौँ।'

अभावका बावजुद सरकारलाई सहयोग गरेकोमा उनले स्वाभिमानी जनतालाई सरकारको तर्फबाट  आभार व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell