PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सरकारै डराउँछ पर्यटन बोर्डका कामु सिइओ सुवास निरौलादेखि



सरकारै डराउँछ पर्यटन बोर्डका कामु सिइओ सुवास निरौलादेखि

काठमाडौँ : नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौला देखेर सरकारसमेत डराउने खुलासा भएको छ। सार्वजनिक लेखा समितिले बोर्डमा भएको नीतिगत भ्रष्टाचारबारे सोधपुछ गर्न बोलाएको बैठकमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले कारबाही गर्न खोजिए पनि निरौलाले सर्वोच्चमा मुद्दा हाल्ने डरले आफूले कारबाही गर्न नसकेको स्वीकार गरे।

लेखा समिति सभापति र सभासदहरु सामु अलि नर्भस जस्तो देखिएका सचिव श्रेष्ठले आफ्नो लाचारी यसरी अभिव्यक्त गरे, 'बोर्डमा भ्रष्टाचार गरेको भनेर निरौलालाई कारबाही गरिहालौँ भन्दा उहाँले कारबाही गरेको दुर्ई घण्टामै स्टे अर्डर ल्याउनुभयो भने के गर्ने? त्यसैले उहाँलाई कारबाही गर्न सकिएन।'

सर्वोच्च अदालतमा १४ वटा मुद्दा दायर गरिसकेको बताउँदै उनले भने, 'बोर्ड सञ्चालक समिति अध्यक्षको हिसाबले आजको मितिदेखि यहाँलाई निलम्बन गरिएको छ भन्ने हो भने उहाँले दुई घण्टाभित्र स्टे अर्डर ल्याइदिनु भयो भने त्यसपछि मैले कामै गर्न सक्दिनँ ।'

निरौलालाई तत्काल कारबाही गर्नु अर्थ निरौलालई झन् बलियो बनाएको हुने बताउँदै कारबाही गरे मानहानी वा अवहेलनाको अर्को मुद्दा आउला भन्ने डरले पनि कारबाही गर्न नसकिएको उनले समितिलाई स्पष्टिकरण दिए।

उनले भने, 'त्यसैले हामी सावधानीपूर्ण छलफलमा गरिरहेका छौँ ।'

सचिव श्रेष्ठले अहिले तीन दिन, हप्ता वा १० दिनमा एउटा मात्रै विषयमा बैठकमा छलफल गर्न लागेको बताए। उनले भने, 'पहिले चार महिनामा एकचोटी बैठक बस्ने र निर्णयको चाङ लगाएर बुझ्दै नबुझी सही ठोक्ने चलनले गर्दा भ्रष्टाचार मौलाएको रहेछ। तर अब त्यस्तो हुँदैन।'

नेपालको पर्यटन विकास गर्ने सन्दर्भमा बोर्ड खोलिएको बताउँदै विभिन्न विसंगतिले गर्दा बोर्ड नै अप्ठेरोमा परेको पनि उनले स्वीकारे।

बोर्डविरुद्ध विभिन्न उजुरी परेको र कतिपय उजुरीउपर कारबाही गर्नुपर्ने कुराहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकिएको बताउँदै मन्त्रालयले प्रशासनिक र सुशासनको हिसाबले बोर्डलाई काम गर्न निर्देशन दिइसकेको जानकारी उनले समितिसमक्ष राखे। 

बोर्डमा सबै भ्रष्टाचार आर्थिक अनियमितता सम्बन्धि भएकोले महालेखा परीक्षकले पनि अनुसन्धान गरिरहेको उनले बताए। लेखा समिति सभापति र सभासदहरु सामु अलि डराएका जस्ता देखिने सचिव श्रेष्ठले आफूलाई अग्रक्रियाशील र सकारात्मक सोचको कर्मचारीको पंक्तिमा राख्न चाहेको बताउँदै आफ्नो अवधिमा केही गर्ने बताए ।

बोर्डमा भएको भ्रष्टाचारमा लेखा समितले जे कारबाही गर भने पनि आफू त्यसो गर्न तयार रहेको बताउँदै उनले भने, 'सम्मानित सभाले यसो गरे यसो हुन्छ भनेर भने म शिरोधार्य गरेर काम गर्छु।'

'देन एन्ड देन (उत्तिनखेरै) कसैलाई कारबाही गर्ने अधिकार कसैलाई हुँदैन', कसैलाई निलम्बन गर्नु पर्ने भने पनि आफू कर्मचारी भएकोले प्रक्रिया अनुसार जानुपर्ने स्पष्टीकरण दिँदै उनले हाँस्दै भने, 'त्यो हुने भए त म जंगबहादुर नै हुने भए नि।' 

निरौलाले बोर्डमा नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै बोर्डको अनियमितता छानबिन गर्न गठित छानविन समितिले एक महिना अगाडि नै तत्काल कारबाही गर्न सरकारलाई सुझाव दिएको थियो।  

प्रतिवेदनमा निरौलाले बोर्डको आर्थिक विनियम आफुखुसी संसोधन गराई तजविजमा खर्च गरेको, प्रशिक्षार्थीको नाममा तलबभत्ता खुवाएर रकम हिनामिना गरेको,कर्मचारीको नाममा पैसा निकालेर आफै खर्च गरेको पाइएकोले कारबाहीको सिफारिस गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell