PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुर्घटनामा बाबुआमा गुमाएका बालबालिका भन्छन्- 'उहाँहरु चाँडै आउनुहुन्छ'



दुर्घटनामा बाबुआमा गुमाएका बालबालिका भन्छन्- 'उहाँहरु चाँडै आउनुहुन्छ'

गोविन्द रोस्यारा-
धनगढी : डोटीको छतिवन गाविसमा सोमबार भएको सडक दुर्घटनामा घाइते भएर स्थानीय सेवा नर्सिङ अस्पतालमा उपचार गराइरहेका अमृत (९ वर्ष) र अंकिता (५ वर्ष) लाई आफ्नी आमाले सदाका लागि छोडेर गइन् भन्ने थाहा छैन। न घटना बुझ्न सक्ने परिपक्वता उनीहरुसँग छ, न त उनीहरुका आफन्तले नै उनीहरुलाई घटनाको वास्तविकता भन्न सकेका छन्।

अस्पतालको शैय्याबाट यी अबोध बालबालिका भनिरहेका छन्- 'हाम्री आमा चाँडै आउनुहुन्छ।'

अमृत र अंकिताले आमालाई कुरिरहेको भएपनि उनीहरुकी आमा शान्ति मल्ल अब कहिल्यै फर्किने छैनन्।

'आमा मामाघर जानुभएको छ। चाँडै आउनुहुन्छ', अंकिताले मंगलबार दिउँसो भनेका कुराले अस्पताल पुगेका धेरैका आँखा रसाए।

उनीहरु दसैं मनाउन मामाघर जाँदै थिए। चढेको बस तीन सय मिटर तल खसेपछि उनीहरु बेहोस भए। जब होस् आयो दुवैजना अस्पतालमा थिए। आमा आउँछिन् भन्नेमा उनीहरु ढुक्क देखिन्छन्।

'आमाले हामीलाई हातले समातिरहनु भएको थियो', अमृतले सम्झिए, 'त्यसपछि थाहा भएन।'

उनीहरुका बाबु ज्ञान मल्ल बस चालक हुन्। दैनिक गाडी चलाएर गुजारा गर्नुपर्ने उनी काम छोडेर छोराछोरीको हेरचाहका लागि अस्पताल आइपुगेका छन्।  

अमृत र अंकितामात्र हैन, काठमाडौंको भिएस निकेतनमा एलकेजी अध्ययनरत अस्मिता गिरी (७) ले यो भयानक दुर्घटनामा बाबुआमा दुवै गुमाएकी छन्। डोटी जोरायल घर भएका इन्द्रा मल्ल गिरी र टेकेन्द्र गिरी छोरी च्यापेर आमाको हातको टिका थाप्न जाँदै थिए।

दुर्घटनामा उनीहरु दुवैको ज्यान गयो तर उनीहरुकी एक्ली छोरी अस्मिता टुहुरी बनिन्

टाउको र मुखमा चोट लागेकी अस्मिताको स्थानीय पद्‍मा अस्पतालमा उपचार भइरहेको छ। आमाबुबा दुवैजना गुमाएपछि उनको उपचार र रेखदेख आफन्तहरुले गरिरहेका छन्।

उनी पनि आफ्ना बाबुआमामाथि घटेको नियतिबारे बेखबर छिन्। मलिन अनुहार लगाउँदै उनले भनिन्, 'आमाबुवा आउँदै हुनुहुन्छ।'
३१ जनाको ज्यान जानेगरी भएको भयानक दुर्घटनामा बाबुआमा र आफन्त गुमाएकाहरुप्रति सहानुभूति दिनेको अस्पातालमा भीड लागेको छ। 
पद्मा अस्पतालमा मंगलबार थप दुई जनाको मृत्यु भएपछि डोटीको छतिवनमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।

दुर्घटनामा २७ जनाको घटनास्थलमा, तीन जनाको उपचारका क्रममा र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। 

मृतक सबैको सनाखत भइसकेको छ। डोटीको सरस्वतीनगर गाविसका मात्रै १९ जनाको दुर्घटनामा ज्यान गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell