PahiloPost

May 15, 2024 | २ जेठ २०८१

राजेश्वर देवकोटा किन कम्युनिष्ट बनेनन्?



राजेश्वर देवकोटा किन कम्युनिष्ट बनेनन्?

पञ्च नेता राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा निधन भएको छ। फोक्सोको रोगबाट पीडित देवकोटाको आज बिहान साढे सात बजे बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो।

पछिल्लोपटक उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए। उनले गत माघमा नेकपा-माओवादी नेवाः राज्य समितिले माघ १४, बुधबार 'संविधान सभा २ विघटन र सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गठन'का लागि गरेको अन्तरक्रियामा मन्तव्य दिँदै आफू कम्युनिष्ट हुन नसक्नुको कारण बताएका थिए। के थियो त देवकोटा कम्युनिष्ट बन्न नसक्नाको कारण? उनकै भाषामा:

यसकारण म कम्युनिष्ट बन्न सकिनँ

२००७ सालबाट हामीले राजनीति सुरु गर्‍यौँ, संघर्षात्मक राजनीति। राजनीति कहिलेदेखि बहकिएको भने- २००७ सालको राजनीति एक प्रकारले टुंगियो। त्यसबेला नेपाली कांग्रेसको झण्डामुनि बसेर मैले क्रान्ति गरेँ। कांग्रेसको एउटा सक्रिय सदस्य नै थिएँ। तर म कम्युनिष्ट बन्न सकिनँ।

म प्रगतिशील मोर्चालाई समर्थन चाहिँ गर्छु तर म खुदै मार्क्सवादी वा कम्युनिष्टचाहिँ होइन। किन होइन भने कम्युनिष्ट हुनलाई ठूलै शक्ति र संघर्ष चाहिन्छ।
 
त्यसका लागि आत्मविश्वास चाहिन्छ, अनुशासन चाहिन्छ, अध्ययन चाहिन्छ र क्रान्तिकारी भावना चाहिन्छ। यी जम्मै कुरा मसँग छैन। त्यो जम्मै कुरा नभइकन म कम्युनिष्ट हुँ भन्यो भने त्यो झुटा कुरा हुन्छ।
 
मसँग यी सबै कुरा नभएकोले म प्रगतिशील मोर्चालाई समर्थन त गर्छु तर खुदै कम्युनिष्ट होइन। 
 

विघटनको कुरा गर्ने कसरी कम्युनिष्ट?

उनले सोही समारोहमा विघटन कुरा गर्ने कम्युनिष्ट हुन नसक्ने पनि बताएका थिए। उनले पछिल्लोपटक खासगरी माओवादीले जातिवाद चलाइरहेको आरोप लगाउँदै उनीहरुले कम्युनिष्टको नाममा झुट बोलेको आरोप लगाएका थिए।
 
‘अहिले चलिरहेको प्रक्रिया जातिवाद हो। जातिवादको कुरा कसले उठाएको छ? संसदभित्र जातिवादको कुरा उठाउने कम्युनिष्ट। कम्युनिष्ट र जातिवाद त हुनै नसक्ने कुरा,’ देवकोटाले भनेका थिए।
 
उनको पुरा भाषण पढ्नुहोस्: 'न नेतृत्व, न सिद्धान्त; कसरी बन्छ संविधान?'

उनले जातिवादले समाजको विखण्डन गर्ने र राष्ट्र बन्न नदिने बताउँदै जातिवाद मास्नका लागि कम्युनिष्टको स्थापना भएको बताएका थिए। ‘जातिवाद मास्न पर्छ भनेर कम्युनिष्टको स्थापना भएको अनि कम्युनिष्टले नै यो नारा बोकेर हिँडेपछि के हुन्छ?’ उनले भनेका थिए, ‘त्यसकारण झुटा कुरा गर्नुहुँदैन। कम्युनिज्मको नाममा आफूलाई कम्युनिष्ट भनेर विघटनको कुरा गर्नु हुँदैन। संगठनको कुरा गर्ने पो कम्युनिष्ट, विघटनको कुरा गर्ने कसरी कम्युनिष्ट?’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell