PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पञ्च नेता राजेश्वर देवकोटाको निधन



पञ्च नेता राजेश्वर देवकोटाको निधन

काठमाडौं: पञ्च नेता राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा निधन भएको छ। फोक्सोको रोगबाट पीडित देवकोटाको आज बिहान साढे सात बजे बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो।

ब्यथाले च्यापेपछि पछिल्लो एक महिनादेखि देवकोटा अस्पतालमा नै भर्ना भएर उपचाररत थिए। राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत भएका देवकोटाको शब अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो ११ देखि १ वजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। गोरखाको आँपपीपल गाविस घर भएका उनका एक छोरा र छोरी छन्।

राजनीतिक यात्रा

जयतु संस्कृतम् आन्दोलनमा समेत सहभागी भएका राजनीतिक सुरुवात नेपाली कांग्रेसबाट भएको हो। पछि राजा महेन्द्रको पञ्चायतमा सक्रिय उनी राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत भए। २०३८ र २०४३ सालमा उनी राष्ट्रिय पञ्चायतमा गृहजिल्ला गोरखाबाट निर्वाचित भएका थिए।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायती शक्तिलाई एकीकृत गरेर उनकै अगुवाइमा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको थियो। उनी २०५१ सालको मध्यावधि निर्वाचनमा पनि निकै सक्रियतापूर्वक सहभागी भएका थिए।

पछि राप्रपा फुटेपछि लोकेन्द्रबहादुर चन्द नेतृत्तवको राप्रपामा रहेका थिए। २०५६ सालमा दुईवटा राप्रपा एकीकरण भएपछि राप्रपा राष्ट्रबादी नामको अर्कै समूह खडा गरेर अलग बसे।

२०६२/६३ को जनआन्दोलनपछि आफ्नो समूहलाई उनले कमल थापा नेतृत्वको राप्रपा नेपालमा बिलय गराएका थिए। उनी २०६५ सालदेखि भने राजनीतिबाट अलग बसेका थिए।

राजनीतिसँगै उनी साहित्य सृजनामा पनि सक्रिय थिए। उनको उपन्यास उत्सर्ग प्रेमले २०४४ सालमा मदन पुरस्कार पाएको थियो। त्यस्तै २०४३ सालमा पूर्व कथा उपन्यालसले साझा पुरस्कार पाएको थियो। 

राजेश्वर देवकोटाले ८ महिनाअघि दिएको भाषणबारे समाचार पढ्नुहोस्:  

'न नेतृत्व, न सिद्धान्त; कसरी बन्छ संविधान?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell