PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको डेब्यू खेल, आज स्कटल्यान्डसँग भिड्दै



​विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको डेब्यू खेल, आज स्कटल्यान्डसँग भिड्दै
फोटो: आइसीसी

  • पाहिलोपोस्ट-
काठमाडौं: नेपालले बुधबार आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा 'डेब्यु' गर्दैछ। नामिबियामा यसै वर्ष भएको आइसीसी डिभिजन दुईमा नेपालले गरेको प्रदर्शनका आधारमा नेपालले लिग च्याम्पीयनसीप खेल्ने मौका पाएको हो। 

भर्खरै सकिएको आइसीसी विश्व टी-ट्वान्टीको छनौटको विजेता टीमसँग पुछारबाट दोस्रोमा रहेको नेपालकालागि यो खेल टी-ट्वान्टीको निराशाजनक नतिजा उल्ट्याउने मौका पनि हो। 'विगत केही हप्तादेखि युरोपको कन्डिन्समा खेलिरहेका हामी यहाँको अवस्थासँग बिस्तारै बानी पर्दैछौं,' नेपालका कप्तान पारस खड्का भन्छन्, 'एउटा समूहको रुपमा हामीले आफुलाई दह्रो बनाउनु पर्छ र हामीले विगतमा आयरल्याण्डमा गरेको प्रदर्शनलाई सुधार गर्नुपर्छ।'

स्कटल्याण्ड कमजोर टीम हैन। उसले भर्खरैको टी-ट्वान्टी छनौट प्रतियोगिताको विजेता भएर त्यसको प्रमाण दिइसकेको छ। घरेलु मैदानमा स्कटल्याण्डलाई झनै सजिलो छ। नेपालको युरोप भ्रमण भने सुखद छैन। नेदरल्याण्ड्ससँगको चार टी-ट्वान्टीमा ३-१ को नजिता बोकेर टी-ट्वान्टी छनौटमा गएको नेपालले त्यहाँ पनि १ खेल बाहेकमा जीत हात पार्न सकेन। 'स्कटल्याण्ड राम्रो टीम हो। उसलाई पराजित गर्नको लागि हामीले हाम्रो क्षमताअनुसार प्रदर्शन गर्नैपर्छ, हाम्रा योजनालाई मैदानमा सफल रुपमा कार्यान्वयन गर्नुपर्छ,' कप्तान खड्का भन्छन्, 'सबै खेलाडीलाई थाहा छ, हामीले राम्रो प्रदर्शन गर्नुपर्छ र हरेक खेलाडीले आफूलाई गन्नुपर्छ।'

सम्बन्धित समाचार : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्दै नेपाल, २०१९ को विश्वकपमा छनौट हुने मौका 

२०१९ मा हुने विश्वकप क्रिकेटसम्म पुग्ने बाटोको रुपमा रहेको यो प्रतियोगितामा स्कटल्याण्डको टी-ट्वान्टी क्रिकेटमा रहेका सबै खेलाडी छैनन्। नेपालको अवस्था पनि त्यस्तै छ। नेपालका सुवास खकुरेल, विनोद भण्डारी, सागर पुन र जितेन्द्र मुखिया टीम छोडेर नेपाल फर्किसकेका छन्। नयाँ थपिएका खेलाडीमा महेश क्षेत्री, पृथु बास्कोटा र अविनाश कर्ण छन्। टी-ट्वान्टी छनौटको अन्तिम खेलमा राम्रो प्रभाव जमाएका सिद्धान्त लोहनी पनि नेपाली टीममा छन्। 

आफ्नो लगातारको खराब लयबाट अगाडि बढ्न कप्तान पारस खड्का र प्रशिक्षक दासानायकेले कस्तो रणनीति अबलम्बन गर्छन् हेर्न बाँकी छ। उनीहरुका सामु नेपाली टीमले पछिल्लो समय खेपेको आलोचनाको जवाफ दिनुपर्ने दबाब पनि छ। २० ओभरको क्रिकेटमा धरमराएको नेपाली ब्याटिङ ५० ओभरको खेलमा आफूलाई कसरी प्रस्तुत गर्छ त्यसले पनि खेलको नतिजामा फरक पार्नेछ।

नेपाल र स्कटल्याण्डबीच क्यामबसडनको आयरमा नेपाली समय अनुसार साढे ३ बजेदेखि खेल सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell