PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्दै नेपाल, २०१९ को विश्वकपमा छनौट हुने मौका



​विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्दै नेपाल, २०१९ को विश्वकपमा छनौट हुने मौका

  • पहिलोपोस्ट -
काठमाडौँ : नेपालले आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनसीपको पहिलो खेल बुधबार स्कटल्याण्डसँग खेल्दैछ। स्कटल्याण्डको ऐरको क्याम्बुस्डुन नयाँ मैदानमा हुने खेल नेपालका लागि महत्वपूर्ण हुनेछ।
 
आयरल्याण्ड र स्कटल्याण्डमा भएको टी-ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा समुह चरणबाटै बाहिरिएको नेपाल प्रतियोगिताको विजेता स्कटल्याण्डसँग भिड्दैछ।
 
टी-ट्वान्टीमा खराब प्रदर्शन गरेको नेपालका सामु आइसीसी एकदिवसीय मान्यता प्राप्त स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा हुने खेल चुनौतिपूर्ण रहेको छ।
 
नेपालले स्कटल्याण्डसँग दुई खेल खेल्नेछ। नेपाल र स्कटल्याण्ड दुवैको यो प्रतियोगिताको पहिलो खेल हो। नेपाल र स्कटल्याण्डबीचको दोस्रो खेल शुक्रबार हुनेछ। नेपाली समय अनुसार अपरान्ह साढे ३ बजे सुरु हुने खेल नेपाललाई लयमा फर्किने मौका हुनेछ।
 
नामिबियामा यसै वर्ष भएको आइसीसी डिभिजन दुईका शीर्ष चार स्थानमा रहेका टीमले आइसीसी विश्व क्रिकेट लीग च्याम्पियन (आइसीसी डब्लुसिएलसी) मा स्थान बनाएका हुन्।
 

प्रतियोगिता किन महत्त्वपूर्ण?

विश्व क्रिकेट लीग च्याम्पियनसीपमा शिर्षस्थानमा पुग्ने दुई टीम आइसीसी अन्तर-महादेशीय कपका लागि छनौट हुनेछन्। आइसीसीको पछिल्लो निर्णयअनुसार अन्तर-महादेशीय कप विजेता टीम टेस्ट क्रिकेट खेल्नका लागि छनौट हुनेछ। यस अर्थमा पनि आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनसीप एशोसियट र एफिलियट राष्ट्रका लागि महत्वपूर्ण प्रतियोगिता हो।
 
आइसीसी डब्लुसिएलसी एशोसियट र एफिलियट सदस्य राष्ट्रमध्ये शिर्ष स्थानमा रहेका राष्ट्रबीच हुने ५० ओभरको प्रतियोगिता हो। यो २०१८ मा हुने आइसीसी क्रिकेट विश्वकप छनौटसम्म पुग्ने बाटो हो। एशोसियट र एफिलियट राष्ट्रहरु यही बाटोबाट २०१९ मा हुने विश्वकपमा सहभागी हुन पाउँछन्।
 
२०१५ देखि २०१७ सम्म हुने आइसीसी डब्लुसिएलसीमा सहभागी चारवटा एकदिवसीय मान्यताप्राप्त टीम र नामिबियामा भएको डिभिजन दुई प्रतियोगितामा शिर्ष स्थानमा रहेका चार टीमबीच यो प्रतियोगिता हुन्छ।
 
यो प्रतियोगितामा आइसीसी एकदिवसीय मान्यता प्राप्त स्कटल्याण्ड, पपुवा न्युगिनी, युएई र हङकङ छन् भने नामिबियामा भएको प्रतियोगिताबाट नेदरल्याण्ड्स, नामिबिया, नेपाल र केन्या समावेश छन्।
 
नेपाल र स्कटल्यान्डबाहेक सबै टिमले दुई दुई खेल खेलिसकेका छन्। अङ्क तालिकामा दुई खेलमा दुई विजयका साथ नेदरल्यान्ड सबैभन्दा माथि छ। युएई, हङकङ, नामिबिया र केन्या एक खेल जित र एक खेल हारका साथ २ अङ्कमा छन्। पपुवा न्युगिनी भने दुवै खेल हारेपछि अङ्क तालिकामा पुछारमा छ।
 

कहिले हुँदैछ खेल?

यो च्याम्पियनसिपको दोस्रो राउन्डको खेल नेपाल र पपुवा न्युगिनीबीच दुई खेल नेपालको मैदानमा अगस्तदेखि नोभेम्बर महिनाको बीचमा हुनेछ। त्यसैगरी तेस्रो राउन्डको दुई खेल २०१६ को फेब्रुअरी र जुन महिनाको बीचमा नामिबिया र नेपालबीच हुनेछ।
 
चौथो राउन्डको दुई खेल नेपालले नेदरल्यान्डमा गएर अगस्तदेखि नोभेम्बर २०१६ को बीचमा खेल्नेछ। पाँचौँ राउन्डका दुई खेल नेपालको मैदानमा केन्यासित हुनेछ फेब्रुअरीदेखि जुन २०१७ को बीचमा।  
 
छैटौँ राउन्डको खेल जुलाईदेखि नोभेम्बर २०१७ मा हङकङसित नेपालले खेल्नेछ भने सातौँ राउन्डको खेल नोभेम्बरदेखि डिसेम्बर २०१७ को बीचमा नेपालले युएईमा गएर खेल्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell