PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लोकमान 'इन', पत्रकार 'आउट'



लोकमान 'इन', पत्रकार 'आउट'

काठमाडौँ :  पत्रकारलाई प्रवेश निषेध गरी भएको सुशासन तथा अनुगमन समितिको बैठकले अख्तियारलाई नीतिगत भ्रष्टाचारलाई पनि छानबिनको दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन आवश्यक प्रक्रिया तुरुन्त अगाडी बढाउन निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले अख्तियारले विभिन्न अनुसन्धानको नाममा निर्दोषलाई दुःख दिएको उजुरी प्राप्त भएको जनाउँदै त्यस्तो अवस्था उत्पन्न हुनबाट रोक्न समेत निर्देशन दिएको छ। 

लोकमान 'इन' पत्रकर 'आउट'
ठूलालाई उन्मुक्ति दिएर साना कर्मचारीहरुलाई मात्रै समातेको लगायतका आरोप सामाना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की आज बिहान व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा उपस्थित भए। तर कार्यक्रममा सञ्चारकर्मीहरुलाई बस्न दिइएन। 

सामान्यतया संसदीय समितिमा हुने छलफलमा सञ्चारकर्मीलाई निषेध गरिँदैन। दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संसदीय समितिका बैठकहरुमध्ये सञ्चारकर्मीलाई निषेध गरिएको यो पहिलो बैठक हो। 

शेरधन राई सभापति रहेको समितिले कार्की लगायत अख्तियारका आयुक्तहरुसित अख्तियारका पछिल्ला काम कारवाहीका सम्बन्धमा सोधपुछ गर्न आज बिहान समितिमा हाजिर हुन निर्देशन दिएको थियो। 

सोमबार समितिको बैठकमा सभासद्हरूले अख्तियारले ठूलाखाले अनियमितता नहेरेकोमा आलोचना गरेका थिए। ठूलाहरुसित मिलेमतो भएकोबारे उजुरी आएकोले यसबारे अख्तियार प्रमुखलाई नै उपस्थित गराई छलफल गर्नुपर्ने निधो बैठकले गरेको थियो। शंकाकै भरमा अख्तियारले फाइल र कागजात कब्जामा लिएर भ्रष्टाचारी भनी प्रचार गर्दै चरित्रहत्या गरेको उजुरीसमेत समितिमा आएको बारे सोमबारको बैठकमा छलफल भएको थियो। 
 
कार्कीले पहिलो पटक संसदको सामना गरेका हुन्। खिलराज रेग्मीको सरकारले उनलाई प्रमुख आयुक्त नियुक्त गर्दा संसद् नभएको कारण संसदीय समितिमा जानु परेको थिएन। 

कार्की संसदीय समितिमा हाजिर भएपछि केही समय सञ्चारकर्मीलाई फोटो र भिडियो खिच्न दिइएको थियो। जब छलफल सुरु हुन लाग्यो, त्यसपछि भने सबै सञ्चारकर्मीलाई हलबाट बाहिर जान भनिएको थियो। संसदका मर्यादापालकहरुले पत्रकारहरुलाई समिति सचिवको आदेश भन्दै तानेरै बाहिर निकालेका थिए। 

समिति बैठकमा झण्डै एक घण्टा बसेका लोकमान धार्मीक कार्यक्रममा सहभागी हुन भन्दै बिचमै केही सभासद्को सवालको जवाफ दिएर बाहिरिएका थिए। उनी मीडियाको बाक्लो उपस्थिति देखेपछि सामान्यता प्रयोग हुने बाटो भन्दा पनि मर्मत भइरहेको पुरानो संसद भवनको 'भिआईपी' बाटोबाट निस्किएका थिए। 

यसअघि एन्फा अध्यक्ष गणेश थापाले सार्वजनिक लेखा समितिमा बयान दिने क्रममा मिडिया उपस्थितिको विरोध जनाएका थिए। तर बैठकमा सञ्चारकर्मीलाई निषेध गरिएको थिएन। 

समिति सभापतिले भने 'मलाई थाहा छैन'

समितिको बैठकपछि सभापति शेरधन राईले सञ्चारकर्मीलाई बाहिर राखिएको बारे आफूलाई जानकारी नभएको बताएका थिए। 'मिस इन्फरमेशन भयो,' राईले भने, 'जे भयो बिचमा मलाई जानकारी छैन।' 

राईले आगामी दिनमा यस्तो नुहुने भन्दै बैठकपछि सञ्चारकर्मीसँग माफी मागेका थिए। लोकमानसिंह कार्कीले सञ्चारकर्मीलाई बाहिर राख्न भनेका हुन् भन्ने सवालमा समेत राई 'त्यस्तो होइन' भन्दै पन्छिएका थिए। 

पत्रकारहरुलाई समितिको बैठकमा उपस्थित नगराईएकोमा अन्य समितिका सभापतिहरुले समेत आश्चर्य प्रकट गरेका थिए। अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने आफ्नो समितिमा पत्रकारहरु 'किन नआएको' भन्दै सोधपुछ समेत गरेका थिए। ज्वाला सभापति रहेको अर्थ समितिले सार्वजनीक खरीद एेनको संशोधनमा छलफल गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell