PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमालेमा के भयो ओलीलाई नै थाहा भएन, भने - 'अखबार हेर्छु छक्क पर्छु'



एमालेमा के भयो ओलीलाई नै थाहा भएन, भने - 'अखबार हेर्छु छक्क पर्छु'

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्‍मा सदस्य सचिव नियुक्तिको विषयलाई लिएर संस्थापन पक्ष र विपक्षमा एमाले पार्टी विभाजित भएको देख्दा एमाले अध्यक्ष केपी ओली नै छक्क परेका छन्।

बोलाउँदा पनि झलनाथ खनाल र माधव नेपाल अनुपस्थित भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, 'एमालेमा के भयो, मैले बुझेको छैन। अखबार हेर्छु, छक्क पर्छु। के भएको यस्तो?'
 
'केही मान्छे हस्ताक्षर र भेला गर्दै हिँडेको सुनेको छु', ओलीले सोधे, 'विधिको कुरा कमिटीमा छलफल गरौँ न, केका हस्ताक्षर? किन गुटबन्दी?'

खेलकुद मन्त्रीप्रति इङ्गित गर्दै उनले भने, 'मैले एक जना मन्त्रीलाई यो-यो काम नगर भनेको थिएँ। मनपरी ढंगले कुनै पनि मन्त्री चल्न पाउँदैन।' उनले अगाडि भने, 'कसलाई नियुक्त गर्ने गुटले गरेर हुँदैन। मैले दबाबका कारण गरेँ, गल्ती भयो भनेका थिए। तर केही मान्छेले भूइँचालो जान्छ भनेको सुन्छु। छक्क पर्छु, के चाहिन्छ? बैठक चाहिन्छ छुट्टै भने पोलिटब्युरो, केन्द्रीय समिति बोलाउन तयार छु।'
 
संविधान जारी भएपछि भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका ओलीले आफूलाई सरकारमा जानबाट रोक्न सानो चित्त बनाइएकोमा दुखेसो पोख्दै भने, 'सरकारमा गएर के हुन्छ भन्दै भाषण गर्दै हिँडेका छन्। सानो चित्त नबनाउनुस्, अलमलमा नपर्नुस्। मेरो आग्रह छ।'

'पार्टी अध्यक्षलाई थाहा नहुने के समस्या पर्‍यो?' उनले सोधे। 

भिडियो हेर्नुस्-


युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशवराज विष्टलाई नियुक्त गरेपछि एमाले अध्यक्ष ओली रुष्ट बनेका थिए। उनले त्यस निर्णय सच्याउन वा राजीनामा दिन मन्त्रीलाई आग्रह गरेका थिए। अध्यक्ष ओलीको यस्तो ब्यबहारबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल असन्तुष्ट थिए। 

गत वर्ष दक्षिण कोरियामा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा खेलाडी लुकाएको भन्ने आरोप नवनियुक्त सदस्य सचिव विष्टमाथि लागेको थियो। त्यतिबेला उनी राखेपबाट टोली व्यवस्थापकको रुपमा कोरिया गएका थिए। 

सदस्य सचिव विष्टले आज आयोजित एक कार्यक्रममा यसको स्पष्टिकरण दिँदै भनेका छन् – “हाम्रो जस्तो गरिब राष्ट्रमा खेलाडीले खेलेरमात्रै भविष्य सुनिश्चित नहुने भएकाले यदाकदा खेलाडी लुक्ने घटना हुन्छ। त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ। त्यसलाई कसैले ग्यारेन्टी लिन सक्दैन।” 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell