PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राखेपका नवनियुक्त सदस्य सचिव भन्छन् : खेलाडी लुक्ने कुरामा कसैले ग्यारेन्टी लिन सक्दैन



राखेपका नवनियुक्त सदस्य सचिव भन्छन् : खेलाडी लुक्ने कुरामा कसैले ग्यारेन्टी लिन सक्दैन

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव केशव विष्टले आफूमाथि दक्षिण कोरियामा खेलाडी लुकाएको भनी लगाइएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्।
 
उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गएका खेलाडी लुक्ने विषयमा कसैले ग्यारेन्टी लिन नसक्ने र आफूले कुनै पनि खेलका खेलाडीलाई नलुकाएको दाबी गरे।
 
सदस्य सचिव विष्टले भने – “हाम्रो जस्तो गरिब राष्ट्रमा खेलाडीले खेलेरमात्रै भविष्य सुनिश्चित नहुने भएकाले यदाकदा खेलाडी लुक्ने घटना हुन्छ। त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ। त्यसलाई कसैले ग्यारेन्टी लिन सक्दैन।”
 
उनले अगाडि थपे – “खेलाडी कोरियामा नै लुक्छन् भन्ने कल्पनासमेत गरेको थिइनँ। यदि लुकिहाले भने पनि बेलायत, अमेरिकाजस्ता राष्ट्रमा लुक्लान् भन्ने थियो तर कोरियामा लुकिदिए। त्यो मेरा लागि दुर्भाग्य हो, यसको नैतिक जिम्मेवारी पनि लिइसकेको छु।”
 
यो घटनापछि आफूले राजीनामासमेत दिन तयार भएको उनको भनाइ थियो। सङ्घले यस किसिमको घटना भई नै रहन्छ त्यसमा तपाईंको केही गल्ती छैन भनेर सफाइसमेत दिएको उनी बताउँछन्।
 
सदस्य सचिव विष्टले खेलाडी लुकाएको भन्ने आफूमाथिको आरोपमा कुनै पनि कारबाही नभएको स्पष्ट पार्दै यदि कोही कसैले आफू कारबाहीमा परेको प्रमाण पेस गरे पदबाट राजीनामा दिने घोषणासमेत गरे।
 
यही असार १० गते युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए।
 
मन्त्री पौडेलले खेलाडी लुकाएको आरोप लागेका व्यक्तिलाई सदस्य सचिवमा नियुक्त गरेपछि नेकपा (एमाले) पार्टी पङ्क्ति रुष्ट रहेको र राजीनामा गर्न मन्त्रीलाई दबाब दिएको बताइन्छ। गत वर्ष दक्षिण कोरियामा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा खेलाडी लुकाएको भन्ने आरोप सदस्य सचिव विष्टमाथि लागेको थियो। त्यतिबेला उनी राखेपबाट टोली व्यवस्थापकको रुपमा कोरिया गएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell