PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लिपुलेक सम्झौताको विरोध गर्दा लाठिचार्ज, संकटग्रस्त क्षेत्रमा प्रदर्शन गर्न पाइँदैन : प्रहरी



लिपुलेक सम्झौताको विरोध गर्दा लाठिचार्ज, संकटग्रस्त क्षेत्रमा प्रदर्शन गर्न पाइँदैन : प्रहरी

काठमाडौं : नेपाली भूमि लिपुलेकबाट ब्यापारिक नाका खोल्न भारत र चीनले गरेको सम्झौताको बिरोधमा नेकपा माओवादीले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।

पाँचजना महिलासहित ३१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका एसपी ईश्वरराज पोखरेलले पहिलोपोस्टलाई बताए।



बुधबार रत्नपार्कबाट करिब दुई सयको संख्यामा रहेका नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेकपा माओवादीले र्‍याली निकालेको थियो।

र्‍याली भोटाहिटी, असन, न्युरोड, खिचापोखरी हुँदै सुन्धारा पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो। करिब १० मिनेटसम्म प्रहरीले खोजीखोजी लखेटेपछि माओवादी कार्यकर्ता तितरबितर भएका थिए। सुन्धारामा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम थियो। 

संकटग्रस्त क्षेत्रमा प्रदर्शन गर्दा पक्राउ

विप्लव माओवादीले र्‍यालीका लागि तय गरेको रुट निषेधित क्षेत्र होइन। निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइन्छ तर किन पक्राउ परे त विप्लव कार्यकर्ता?

एसपी पोखरेलका अनुसार संकटग्रस्त क्षेत्रमा नाराजुलुस गर्न पाइँदैन। सरकारले काठमाडौँ उपत्यकालाई एक वर्षसम्म संकटग्रस्त जिल्लाकै सूचीमा कायम राख्ने निर्णय गरेको थियो।



‘लाठीसहित जुलुस निकाल्दा शान्ति सुरक्षामा असर पर्‍यो’, पोखरेलले भने, ‘सरकारले संकटग्रस्त घोषणा गरेको ठाउँमा जुलुस निकाल्न पाइँदैन।‘

उनीहरुले कानुन बुझीबुझी त्यसो गरेका हुन् वा के हो अनुसन्धान गरेर कारबाही अघि बढाइने उनले बताए। 

२० जना नेपाल पुलिस क्लबमा, ९ जनाको उपचार हुँदै

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले आफूसहित २० जनालाई नेपाल पुलिस क्लबमा राखिएको जानकारी दिए। ’१२ जना साथीहरु घाइते हुनुहुन्छ। ९ जनाको ट्रमा सेन्टरमा उपचार भैरहेको छ’, जैसीले भने।

१२ बजे शान्तिबाटिकाबाट सुरु भएको र्‍यली सुन्धारा पुग्नै लाग्दा प्रहरीले हस्तक्षेप गरेको उनले बताए। ‘कालो झण्डा प्रदर्शन गर्न नदिने आदेश छ भन्दै रोकियो। हामी शान्तिपूर्ण गर्छौँ भन्दाभन्दै अन्धाधुन्ध हानिहाले‘, उनले भने।  












फोटो सौजन्यः बिकिल स्थापित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell