PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

त्रिचन्द्र क्याम्पसमा मैले जे देखेँ



त्रिचन्द्र क्याम्पसमा मैले जे देखेँ
आगजनी गरिएको त्रिचन्द्र क्याम्पसको वीपी पुस्तकालय।

विक्रम पाण्डे
म एमएस्सीको विद्यार्थी हुँ। मेरो खास घर अर्घाखाँची हो। म भर्खर कलेज आएको थिएँ। करिब साढे ११ बजेको थियो। त्रिचन्द्र क्याम्पस महानगरीय प्रहरी आयुक्तको कार्यालयसँगै जोडिएको छ।

कलेज छिर्न नपाउँदै कलेजमा भागाभागको स्थिति देखेँ। भित्रबाट भाग्दै गरेका साथीहरुले खुकुरी हानाहान भयो भनेकोसम्म सुनेँ। पछि कुरा बुझ्दा थाहा भयो- एकजना साथी पुस्तकालयमा पढ्दै हुनुहुन्थ्यो। ब्याचेलर दोश्रो वर्ष पढ्ने उहाँको नाम प्रेम केसी रहेछ। उहाँ अनेरास्ववियुको क्याम्पस इकाइको सदस्य पनि हो। उहाँको आउँदो ९ गतेदेखि परीक्षा रहेछ। सायद त्यसैको तयारीका लागि पुस्तकालय आउनुभएको थियो।

दुईजना हतियारधारी पुस्तकालय छिरेछन्। उहाँको टाउकोमा खुकुरी प्रहार भएछ। हातमा पनि खुकुरी प्रहार गरेछन्। गेटपालेका अनुसार उनीहरु दुईवटा मोटरसाइकलमा चढेर आएका थिए। दुईजना क्याम्पस बाहिर मोटरसाइकलमा स्ट्यान्डबाइ थिए। सबैले अनुहारमा रुमाल बाँधेका थिए रे। उनीहरु आफ्नो काम सकेर मोटरसाइकल चढेर फरार भएछन्।

घाइते अवस्थाका उहाँलाई हतारहतार एम्बुलेन्स बोलाएर अस्पताल पठायौँ। उहाँको अहिले मोडल अस्पतालमा उपचार भैरहेको छ। घटनालगत्तै अनेरास्ववियुका साथीहरुले आन्दोलन गरे। आधाघण्टा चक्काजाम पनि भयो। त्यहीबीचमा क्याम्पस हाताबाट धुवाँको मुस्लो आयो। फेरि त्यता भागाभाग भयो। वीपी पुस्तकालयमा आगलागी भएछ। करिव आधाघण्टाजतिमा पुस्तकालय खरानी भैसकेको थियो।  तीनवटा दमकलले आगो निभाए। तर एउटा पनि पुस्तक बचेनन्। पुस्तकालयमा पछिल्ला वर्ष धेरै पुस्तक थपिएका थिए।  


यहाँ दुईवटा पुस्तकालय छन्। एउटा क्याम्पसकै पुस्तकालय छ भने अर्को स्ववियुद्वारा सञ्चालित वीपी पुस्तकालय। खुकुरी हानिएको क्याम्पसको पुस्तकालयमा हो भने आगलागी भएको वीपी पुस्तकालय हो।

सम्पूर्ण विद्यार्थीलाई बाहिर निकालेर प्रहरीले कलेज सिल गरेको छ। २०६६ सालपछि क्याम्पस हातामा आगो लगाइएको यो पहिलोपटक हो। त्यतिबेला यही वीपी पुस्तकालयभित्र बालुवामुनी खुकुरी भेटिएको थियो रे। खुकुरी हानाहानपछि पुस्तकालय जलाइएको थियो।

कोही नेविसंघ र अखिलको बिबादका कारण पुस्तकालयमा अखिलले आगो लगाएको भन्छन्। अनेरास्ववियुचाहिँ नेविसंघले आफ्नो संगठनलाई बदनाम गराउन यसैले आगो लगाएको बताउँछ।

घटनाको कारण प्रहरीले पत्ता लगाउला। तर मलाई लाग्छ यो व्यक्तिगत मनमुटावका कारण भएको घटना हो। तर यो क्याम्पसमा हुने जुनसुकै घटनालाई पनि राजनीतिक बनाइन्छ। अनि मुठभेडको रुप लिन्छ। यस्ता घटना पटकपटक दोहोरिरहेक छन्। आजकल क्याम्पसमा जे भैरहेको छ अति दुखद भयो।

यो पनि हेर्नुस्-
वीपी पुस्तकालय विध्वंसको विम्ब
पुस्तकालयमा आगोले सामाजिक सञ्जालमा लाग्यो चोट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell