PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​केन्द्रमा दुई सदनात्मक व्यवस्था हुने पहिलेको सहमति अनुमोदन



​केन्द्रमा दुई सदनात्मक व्यवस्था हुने पहिलेको सहमति अनुमोदन
संविधानसभा भवन। तस्बिरः कञ्चन अधिकारी/ पहिलोपोस्ट

काठमाडौः संवैधानिक–राजनैतिक संवाद तथा सहमति समितिले विगतको संविधानसभा मातहतको संवैधानिक समितिले सहमति जुटाएका मध्ये ११ वटा बुँदा अनुमोदन गरेको छ। एकीकृत माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सभापति रहेको समितिले सोमवार छलफलपछि सहमतिहरु अनुमोदन गरेको हो।

अघिल्लो संविधानसभा अन्तर्गतको संवैधानिक समितिले ४८ ओटा विषयमा सहमति जुटाएको थियो।

अनुमोदन भएका सहमतिमा संघीय व्यवस्थापिका दुई सदनात्मक हुने, प्रदेशमा रहने व्यवस्थापिकाको नाम प्रदेशसभा रहने तथा संविधान जारी भएपछि अर्को निर्वाचन नहुँदासम्मको ‘संक्रमणकालिन व्यवस्था’ का विषय छन्।

अनुमोदित सहमतिअनुसार संघीय व्यवस्थापिका दुई सदनात्मक हुने छ भने प्रदेश व्यवस्थापिकाको नाम प्रदेशसभा रहने छ। यस्तै संविधान जारी हुँदा बहाल रहेका राष्ट्रपति र उपराष्ट्रपति नयाँ संविधान बमोजिम निर्वाचन नभएसम्म बहाल रहनेछन्। तर कुनै कारणवस राष्ट्रपति र उपराष्ट्रपति पद रिक्त भए व्यवस्थापिका संसदबाट पदपूर्ति गरिने सहमतिमा उल्लेख छ। यस्तै संविधान जारी हुँदा कायम रहेको मन्त्रिपरिषद् संविधान जारी भएपछि पनि अर्को व्यवस्था नभएसम्म कायम रहने छ।

संविधान जारी भएपछि पनि विभिन्न संवैधानिक निकायमा भएका नियुक्तिलाई नयाँ संविधान बमोजिम नै भएको मानिने छ। संविधान जारी भैसकेको तर अर्को निर्वाचन नभएसम्मको ‘संक्रमणकालिन व्यवस्था’ भागमा बाधा अड्काउ फुकाउने अधिकार राख्ने अनुमोदित सहमतिमा उल्लेख छ।

यस्तै नयाँ निर्वाचन भएर उक्त विधायिकाको बैठक नबस्दासम्म संविधान कार्यन्वयन गर्न बाधा परेमा राष्ट्रप्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा बाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्ने उल्लेख छ। बाधा अड्काउ फुकाउ संघीय विधायिकाको बैठक बसेको एक महिना भित्र अनुमोदन गनुपर्ने छ।

नयाँ संविधानसँग बाझिएका विषय स्वत खारेज हुने तर ती विषय खारेज हुने समयावधि एक वर्षको रहने अनुमोदित सहमतिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell