PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​विश्व टी-ट्वान्टी छनौटका लागि १५ खेलाडी छनौट: पृथु, मेहबुब, भुवन र अविनाश वैकल्पिक खेलाडी



​विश्व टी-ट्वान्टी छनौटका लागि १५ खेलाडी छनौट: पृथु, मेहबुब, भुवन र अविनाश वैकल्पिक खेलाडी

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले असार १८ देखि आयरल्याण्ड र स्कटल्यान्डमा हुने आइसीसी विश्व टी-ट्वान्टी छनौट खेलका लागि अन्तिम १५ जना खेलाडीको छनौट गरेको छ। 

क्यानले प्रारम्भिक टोलीमा रहेका खेलाडी मध्येबाट ४ वैकल्पिक खेलाडी सहित १९ जनाको नाम सार्वजनिक गरेको हो। टीममा परेका १५ खेलाडीमा टोलीको कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सरद् भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, करन केसी, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, बिनोद भण्डारी, राजेश पुलामी मगर,  प्रदिप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनी रहेका छन्।

१५ खेलाडीमा परेका सिद्धान्त लोहनी आक्रामक यु-१९ टोलीका राष्ट्रिय खेलाडी हुन्। क्षेत्र नम्बर १ विराटनगरबाट खेल्ने उनले गत चैतमा भएको राष्ट्रिय क्रिकेट प्रतियोगितामा पोखरा विरुद्ध पाँचौं नम्बरमा ब्याटिङ् गर्दै २५ बलमा ६७ रन प्रहार गरेका थिए। उनले स्विच सट र हेलिकप्टर सट प्रहार गर्दै ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै लामो समयदेखि घाइते रहेका पृथु बाँस्कोटा वैकल्पिक खेलाडीका रुपमा टीममा फर्केका छन्। वैकल्पिक खेलाडीका रुपमा टीममा परेका अन्यमा मेहबुब आलम, भुवन कार्की र  अविनाश कर्ण रहेका छन्। प्रारम्भिक टोलीमा परेका महेश क्षेत्री, हरिशंकर शाह र सौरभ खनाल टीममा पर्न सकेनन्।

साथै टिम लिडरमा संघका कार्यवाहक अध्यक्ष दीपक कोइराला, टिम म्यानेजरमा संघका प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामा, प्रशिक्षकमा पुवुदु दशानायके, टेक्निकल एनेलिष्टमा रमन सिवाकोटी, बलिङ्ग कोचमा विनोद कुमार दास, ब्याटिङ्ग कोचमा भारतका मोन्टी देशाई र फिजियोमा भारतका ऐजाज असई रहेको क्यानले जनाएको छ। 

नेपाली क्रिकेट टीम अहिले बिसिसिआईको सहयोगमा प्रशिक्षणका लागि भारतमा रहेको छ। नेपालले प्रतियोगिताको पहिलो खेल असार २५ गते अमेरिका विरुद्ध खेल्नेछ। त्यसअघि नेपालले विश्व टी-ट्वान्टी छनौट अगाडि असार १५ गतेबाट नेदरल्याण्ड्ससँग चारवटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell