PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मुख्य आरोपी जोगाएर मनोज पुनको 'फेक इन्काउन्टर' :  प्रहरीमाथि तेर्सिएका प्रश्न



सविन ढकाल

मुख्य आरोपी जोगाएर मनोज पुनको 'फेक इन्काउन्टर' :  प्रहरीमाथि तेर्सिएका प्रश्न

काठमाडौँ :  बुधबार एकाबिहानै प्रहरीको फरार सूचीमा रहेका मनोज पुनको प्रहरीसित मुठभेडमा मृत्यु भएको सार्वजनिक भयो। 

यो एउटा 'फेक इन्काउन्टर' थियो भन्ने बुझ्न गहिरो अनुसन्धानमा जानै पर्दैन, घटनाका केही तथ्य पर्याप्त छन्। 

मनोजको शरीरमा १२ गोली लागेको थियो। कम्मरभन्दा माथि त्यसमा पनि दाहिने छातिनिर सबैभन्दा बढी गोली हानिएको थियो। 

जबकि रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले मिडियामा दिएका अन्तर्वार्ताहरुमा मनोज र उसँगै रहेको सोम आलेबाट एक राउन्डमात्र फायर भएको र त्यो पनि मोटरसाइकलको टायरमा लागेको भनिएको छ।

एक राउन्ड गोलीको बदलामा एकै व्यक्तिलाई १२ राउन्ड ठोकेबाट प्रष्ट हुन्छ, यो नियन्त्रणमा लिने उद्देश्यले हैन, मार्ने नियतले चलाइएको गोली थियो। 

अर्को, यति लामो समयसम्म विदेशमा लुकेर बसेका अभियुक्त बिहान ३ बजे नेपाल किन छिर्छ? ऊ नेपाल छिरेको रातारात काठमाडौँमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई कसरी थाहा हुन्छ र तुरुन्त सिआइबीका अंगुर जिसी नेतृत्वको टिम रातारात रुपन्देहीको देवदहमा पुगेर कसरी 'एक्सन' लिन्छ? 

इन्काउन्टर गर्ने सिआइबी भए पनि हुचिल समात्दासमेत प्रेस विज्ञप्ति जारी गर्ने र मिडियालाई कोट दिने सिआइबी किन यो घटनामा चुप रहन्छ र रुपन्देहीका एसपी ज्ञवालीमात्र मिडियामा बोल्न अघि सर्छन्?

योभन्दा पनि गम्भीर छ अर्को प्रश्न- किन मुख्य आरोपीलाई जोगाएर मनोज पुनको इन्काउन्टर गरियो?

मुख्य योजनाकार जोगाएर दावी आरोपीको इन्काउन्टर?

गत असोज २३ गते निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। राजधानीमै भएको हाइ प्रोफाइल मर्डर केसले धेरैको ध्यान तान्यो। घटनाको केही दिनमा नै प्रहरीले यो हत्या मनोज पुनले गराएको दावी गर्‍यो। 

यो दावीको स्रोत प्रहरीका अनुसार एक प्रहरी अधिकृतलाई ‘अननोन’ नम्बरबाट आएको फोन थियो। प्रहरीलाई अनुसन्धान गर्न सजिलो होस् भनी कुनै प्रहरी अधिकृतलाई नै फोन गरी कसैले मैले हत्या गरेको हुँ किन भन्ला? स्वभाविक रुपमा प्रश्न उठ्छ। त्यसमाथि उज्यालोमा प्रकाशित समाचार अनुसार मनोज आफैले फोन गरेका पनि थिएनन्, उनकै समूहको भन्ने कसैले फोन गरेर आफू मनोज पुन समूहको भएको बताएका थिए। प्रहरीको दावीको कमजोर धरातल यसैबाट प्रष्ट हुन्छ। सिआइबी आफैले गरेको पत्रकार सम्मेलनमा गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भएको अनुसन्धानबाट खुलेको बताइएको थियो।  

‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ,' बस्नेतले त्यही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अडियोमा भनेका थिए। 
समिरलाई प्रहरीले चितवनबाट पक्रेको दावी गरे पनि खासमा सिआइबीका सई रमेश बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो।


समिरमान सिंह बस्नेत र सई बजगाइँ

मनोज पुनलाई पनि सई बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो। उनलाई गोवाबाट पक्राउ गरी ल्याएको भनिए पनि जानकार स्रोत भन्छ, गोवा हैन भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालाबाट त्यहाँको प्रहरीको समन्वयमा उनी पक्राउ परेका हुन्। 

पहिले मनोज भुटान सीमा नजिक बसेको सूचना प्रहरीलाई आएको थियो। पछि लोप्साङ लामासहित मनोज तिब्बती धर्मगुरु दलाई लामाको निवास रहेको क्षेत्र धर्मशालामा लुकेर बसेको खबर आयो। त्यसपछि बजगाइँलाई मनोज पक्रने मिसनसहित खटाइएको थियो। बजगाइँ छोरा बिरामी परेपछि बीचैमा भारतबाट फर्किए पनि उनको नेतृत्वको टिमले इन्काउन्टरको दुई दिनअघि मनोजलाई पक्राउ गरेको थियो। केस अन्तर्राष्ट्रिय भयो भने आफू पनि फँस्ने डरले भारतीय पक्षले इन्काउन्टर नगर्ने शर्तमा मनोजलाई सई बजगाइँको टिमलाई बुझाएको थियो। 

गौचन हत्याका मुख्य योजनाकार समिर र प्रहरीको दावी अनुसार आरोपी मनोज दुवैलाई सई बजगाइँकै टिमले भारतबाटै पक्राउ गरी ल्याएको भए पनि समिरलाई जोगाएर मनोजलाई उडाइयो। समिर रामेछापका डिएसपी कुमोद ढुंगेलका नातेदार पर्छन्। डिएसपी कुमोद मनोजको इन्काउन्टरका बेला रुपन्देहीको देवदहमै थिए। उनी एक हप्ताअघि मात्रै रामेछापबाट रुपन्देही सरुवा भएका थिए। 

प्रहरीको फेल प्रोजेक्सनको नतिजा?

गएको वर्ष पुस ४ गते नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भयो। 

न घटनामा संलग्न कोही पक्राउ परेका थिए, न गोली हान्ने कसैको पहिचान। हत्याको मुचुल्का उठाउने काम मात्रै सकिएको थियो, अनुसन्धानमा संलग्न जिम्मेवार अधिकारीहरुले अनुसन्धानै सकिए जसरी खुलासाको श्रृंखला शुरु गरे।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी वेदबहादुर पाण्डेले हत्याको कारण खुलाउँदै ‘लेनदेन’ भएको सार्वजनिक गरे। जुन बेला पाण्डेले घटनाको कारण खुलाएका थिए, त्यो बेला प्रहरी अनुसन्धानको प्रारम्भिक चरणमै थियो ।

खुलासाको क्रम यत्तिमै रोकिएन।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद सिंह एक कदम अगाडि बढेर हत्याका आरोपीकै नाम सार्वजनिक गरिदिए मनोज पुन।

‘दुर्गा तिवारीलाई गोली हानेको मैले हो, पहिला गोली हानेर तर्साउँदा समेत मानेन, उसले मेरा केटाहरुलाई पक्राउ गराएर नेपालमा बसिखान दिएन, एमालेका मान्छेलाई अब छानीछानी गोली हान्छु’ भन्दै मनोज पुनको फोन आएको दावी सार्वजनिक भयो।

दुर्गा तिवारी। 

इन्टरनेटमार्फत् आएको त्यो फोन कहाँबाट गरिएको थियो र फोनकर्ता मनोज नै हुन् या हैनन् अनुसन्धानबाट पुष्टि भएकै थिएन। तर छानबिन सकिएर अनुसन्धानको निश्कर्ष नै आए जसरी प्रोजेक्सन गरिएको थियो - हत्यारा मनोज पुन नै हुन्।

त्यसको १८ दिनपछि फेरि रुपन्देहीको देवदह नगरपालिका २ मा काठ मिल व्यवसायी तथा एमाले नेता नीलकण्ठ पौडेलका छोरा वसन्त पौडेलको गोली हानी हत्या भयो। यस पटक पनि प्रहरीले हत्याराका रुपमा मनोज पुनलाई अगाडि सार्योत। यसको आधार थियो उस्तै फोन कल। मनोजले रुपन्देहीका केही मानिसलाई फोन गरेर घटना आफूले गराएको सुन्नमा आए पनि औपचारिक जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीराम पाण्डेले त्यतिबेला पहिलोपोस्टलाई बताएका थिए।

तेस्रो घटना असोजमा काठमाडौँमा गौचनको हत्या। त्यसमा पनि सुरुमा त प्रहरी अन्यौल रह्यो, पछि मनोज पुनकै नाम लियो। 

सबै घटनाको सूक्ष्म अध्ययन गर्दा थाहा हुन्छ, प्रहरीले तथ्यमा आधारित भएर भन्दा पनि शंकाको आधारमा सबै अपराधको दोष मनोज पुनको टाउकोमा थोपर्ने काम गरिरहेको देखिन्थ्यो। 

प्रहरीका यी सब दावीहरुलाई प्रमाणित गर्ने आधार उनलाई पक्राउ गरी गरिने अनुसन्धानबाट मात्रै हुनसक्थ्यो। तर यी आरोपहरुलाई पुष्टि नगरी सिधै इन्काउन्टर गरिदिनुको अर्थ आफूले कुख्यात हत्याराको रुपमा गर्दै आएको प्रोजेक्सन फेल हुने अथवा पुष्टि नहुने स्थिति देखिनु हो? प्रश्न उठेको छ। 

नेपालका गुन्डा नाइकेहरुको विदेशमा जस्तो नेतृत्व उत्तराधिकारीमा सिफ्ट हुने ट्रेन्ड छैन। न मनोज कुनै नेताको संरक्षणमा नै थिए जसका कारण पक्राउ पर्दा दबाबले छोड्नुपर्ने खतरा हुनसक्थ्यो। त्यसो भए इन्काउन्टर गर्नुपर्ने स्थिति किन आयो त? के अर्को महिना प्रहरी प्रमुखमा हुन लागेको नेतृत्व परिवर्तन अगाडि प्रहरी अधिकारीले एमालेका नेताहरुका हत्या आरोपीलाई ढलाएर प्रधानमन्त्री ओलीलाई 'गिफ्ट' दिएका हुन्?  

फेक इन्काउन्टर हो, अनुसन्धान गर्छौँ : मानवअधिकार आयोग

मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी गुन्डा नाइके मनोज पुनको इन्काउन्टर फेक भएको दाबी गर्छिन्। अन्सारीले पहिलोपोस्टलाई भनिन्, ' प्रहरीको स्टेटमेन्ट र केही दिनदेखि आएका समाचारको आधार हेर्ने हो भने यो इन्काउन्टर फेक देखिन्छ।'

उनी कोही व्यक्तिको आचरण गलत भएपनि उसको बाँच्न पाउने अधिकार नेपालको कानुन र संविधानले रक्षा गरेकाले फेक इन्काउन्टर मानवअधिकार र कानुन विपरित भएको दावी गर्छिन्। 

उनी भन्छिन्, ' नेपालको कानुन र संविधानले कसैको पनि हत्या गर्ने अधिकार दिएको छैन।'  दिनेश अधिकारी चरीको इन्काउन्टर देखि आयोगले अनुसन्धान गरेर सरकारलाई प्रतिवदेन बुझाए पनि प्रतिवेदन पेन्डिङ बस्ने गरेको उनले बताइन्। '

पुनको घटनालाई लिएर पनि हामी अनुसन्धान गर्छौ', अन्सारीले भनिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell